अन्तर्वार्ता/विचार

नेकपा सचिवालय मोडेलबाट पदाधिकारी मोडेलको यात्रामा कोही कामविहिन, कसैलाई दोहोरो तेहेरो जिम्मेवारीको भारी

सुनकोशी न्युज, २०७६ श्रावण ३२ गते शनिबार साँझ ७ः १५ मा अपडेट
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएसँगै विभागले गर्ने कामको प्रभावकारिता र त्यसलाई नेतृत्व गर्ने नेताहरुको अवस्थाबारे चर्चा हुन थालेको छ ।
संगठन बिभागको नेतृत्व पाएका बामदेव गौतमलाई उपाध्यक्ष बनाइएको छ । स्थायी समितिले अनुमोदन गर्ने गरी उनलाई सचिवालयको वैठकले उपाध्यक्ष तोकेको हो । दुई पार्टी अध्यक्ष, चारजना पूर्व प्रधानमन्त्री समेत रहेको नौं सदस्यीय सचिवालयमा अध्यक्षद्वोय, माधव नेपाल र झलनाथ खनालपछिको रोहमा उनी उपाध्यक्ष नियुक्त भएका छन् ।
यसले सचिवालयमा रहेका अन्य सदस्यहरुको मन अमिलो बनाइदिएको छ । उसो त प्रवक्ता नारायणकाजी श्रेष्ठ, सदस्य रामबहादुर थापा बादल र इश्वर पोखरेललाई पनि क्रमशः उपाध्यक्ष घोषणा गर्ने सचिवालयको तयारी रहेको नेकपाका एक सचिवालय सदस्यले बताए । यसरी नेकपा सचिवालय प्रणालीबाट क्रमशः पदाधिकारी मोडेलमा जान लागेको देखिन्छ ।
एमाले र माओवादी पार्टी एकतापछि प्रचण्डनिकट मानिएका बामदेव पछिल्लो समय विचारको अघोषित लडाई चलिरहँदा जबजको पक्षमा लेख लेखेर ओलीक्याम्पमा छिरेको चर्चा नसेलाउदै उनले संगठन विभाग र उपाध्यक्षको बाजी मार्न सफल भएको बताइन्छ । गौतम किसान महासंघका पनि अध्यक्ष हुन् । दिवंगत रविन्द्र अधिकारीले चुनाव जितेको कास्कीबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने चाहनाले उनलाई पुनः ओलीनिकट पु¥याएको नेकपाबृत्तमा चर्चा छ ।
नेकपा स्थायी समिति सदस्य तथा ६ नम्बर प्रदेशका इन्चार्ज जनार्दन शर्मा संगठन विभागमा उनको सहसंयोजक बनेका छन् । त्यसैगरी एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई पनि प्रदेशका सहसंयोजक बनाइएका छन् ।
काठमाण्डौं जिल्लामा सहइन्चार्ज नियुक्त भएका मुक्ति नारायण श्रेष्ठ र अञ्जना विशंखे लगायतले पनि विभागमा सहसंयोजक पाएका छन् । त्यसैगरी केही प्रदेशहरुमा सहइन्चार्जहरु थप भएका छन् । एक नम्बर प्रदेशमा नरेश खरेल र शेरधन राई, दुई नम्बर प्रदेशमा महेन्द्र पासवान र नागेन्द्र चौधरी, तीन नम्बर प्रदेशमा हितमान शाक्य र काशीनाथ अधिकारी, चार नम्बर प्रदेशमा किरण गुरुङ र यसोदा सुवेदी गुरुङ, पाँच नम्बरमा कुल प्रसाद केसी र वैजनाथ चौधरी, ६ नम्बर प्रदेशमा कालिबहादुर मल्ल र प्रकाश ज्वाला र सुदुर पश्चिमाञ्चलमा खगराज भट्ट र भानुभक्त जैशी सहइन्चार्ज थप भएका छन् ।
धुम्बराही पार्टी केन्द्रीय कार्यालय सचिवका रुपमा रहेका कृष्णगोपाल श्रेष्ठ कोष तथा आर्थिक व्यवस्थापन विभागका सहसंयोजक भए भने पेरिसडाँडाका सचिव डोरप्रसाद उपाध्यायलाई अर्थ तथा योजना विभागको सहसंयोजक बनाइएको छ । श्रीराम ढकाल र ईश्वरी रिजाललाई कार्यालय सचिव तोकिएको छ ।
विवादित स्कुलिङ विभाग प्रमुखमा ओलीको विशेष अनुरोधमा ईश्वर पोखरेललाई बनाउन प्रचण्ड सहमत भएको बताइन्छ । पार्टी एकतालाई बचाउन आफूले स्कुलिङ विभाग प्रमुख त्यागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनलाई प्रचार विभाग दिइएको छ । यसअघि नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, देवेन्द्र पौडेल, वेदुराम भूषाल, राम कार्की, घनश्याम भूषाल लगायतले पार्टी स्कुलिङ विभागमा दाबी पेस गरेका थिए ।
समग्रमा पार्टीले विभागहरुका संयोजक र सहसंयोजक बनाउने काम सम्पन्न गरेको छ । पार्टी एकीकरणका अन्य कामहरु अझै बाँकि नै छन् । स्थानिय पार्टी संरचनाको काम बाकी नै छ । विशेष र सम्पर्क प्रदेशको संरचना निर्माण नहुदा ज.ब.स. र मोर्चाका नेताहरु पार्टीविहिनको अवस्थामा छन् ।
सांगाठानिक एकतासँगै विचार र भावनामा पनि एकत्व निर्माण गर्नुपर्ने चुनौति अझै कायमै छ । दोहोरो जिम्मेवारी पाउने र जिम्मेवारी नै नपाउनेहरुको बीचमा तालमेल मिलाउने काम बाँकी नै छ । पार्टी एकताताका गरिएका सहमति कार्यन्वयनको पाटो बाँकि नै छ ।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६