अन्तर्वार्ता/विचार

वर्तमानका वैकल्पिक राजनीतिक शक्ति हामी नै हौं

बिदुर खड्का
समयान्तरमा राजनीतिक बजारमा नयाँ पसलहरु खुल्नुलाई अन्याथा लिन मिल्दैन । राजनीतिक बजारको मागअनुसार राजनीतिक विचार र दलहरुको उत्पादन भइनै रहन्छन् । यो समाज विकासको नियमभित्रकै कुरो हो । केही दल र विचारहरु समयसँगै पुराना र अव्यवहारिक सावित हुँदै जान्छन् । नयाँ विचार र कार्यदिशाको जन्म तथा विकास हुने गर्दछ । कतिपय विचार सिद्धान्तहरुमा असाध्यै मिहिनेतका साथ समाजका हरेक घटनाक्रमलाई ऐतिहासिक रुपबाट मिहिन ढंगले अध्ययन चिन्तन गरेर प्रयोगका आधारमा सयौं वर्षको परिकल्पना गरिएको हुन्छ । ती लामो समयसम्म पनि जिवित रहेका देखिन्छन् । कुनै छोटो समयमै अव्यवहारिक सावित भएर सम्झनामा मात्रै सीमित रहन्छन् ।
अहिलेसम्म अध्ययन गरिएका सबै सिद्धान्त र विचारहरुमध्य सबैभन्दा पुरानो मानिएको हिन्दु धार्मिक विचार अहिले पनि दक्षिण एसिया र संसारमा जिउँदो विचारका रुपमा रहेको मानिन्छ । त्यसपछि विकास भएका विभिन्न धार्मिक तथा समाज विकासका सिद्धान्त भूगोल र समयअनुसार परिस्कृत भइरहेका छन् । प्राकृतिक विज्ञानमा प्रतिपादन गरिएका सिद्धान्त अनुसन्धानका नयाँ आयामहरु थपिए सँगै परिस्कृत हुदै गए झैं राजनीतिक सामाजिक विचारको विकासमा पनि नयाँ नयाँ आयामहरु थपिइरहेका हुन्छन् । यो निरन्तर चलिरहने परिघटना हो ।
पाश्चात्य समाज र सभ्यताका विचारकहरु प्लेटो, अरस्तुदेखि यशु ख्रिष्टसम्मले विचार तथा सैद्धान्तिक विकासमा योगदान गरेका छन् । पछि कार्ल माक्र्स, लेनिन तथा अन्य समाजवादी विचारकले मानव समाजको अध्ययनलाई नयाँ शीराबाट अध्ययन गर्ने शैली तथा मानवीय समृद्धिका लागि सबैभन्दा विकसित सैद्धान्तिक ज्ञान सिपको विकास गरे । परापूर्व कालमा राजनीतिक विचारलाई राज्यसत्ताको बलमा धर्मको रुपमा ग्रहण गरियो, गर्न लगाइयो । पाप र धर्मका आधारमा शासन गरियो, दुनिया कजाइयो । पछि धर्मगुरु र सम्राटहरुबीच शक्तिको टकरावका कारण धर्मशास्त्रभन्दा पर समाजशास्त्रको पनि विकास हुन थाल्यो । अध्यात्मिक आदर्शवादसँगै द्वन्द्वात्मक तथा ऐतहासिक भौतिकवादसम्म, नवउदारवादी लोककल्याणकारी पूँजीवाददेखि फासिवादसम्मका सामाजिक विचारहरुको विकास भए । अरु पनि थुप्रै खाले विचारका प्रशाखाहरु विकास भए, भइरहेका छन् । सोही मुताविक सामाजिक गतिविधिहरु संचालन भएका छन् । ती उदेश्य पूरा गर्ने सोही मुताविकका दलहरु बन्ने र भत्किने गरेका छन् । इतिहासको तुलनामा अहिले विचारका आधारमा समाजमा बढी विभाजन रहेको देखिन्छ ।
निरंकुश भनिएको राणा शासनको अन्त्यका लागि स्वतन्त्रताको बिजारोपण हुन भारतीय स्वतन्त्रता सेनानीबाट प्ररित हुनुपरेको देखिन्छ । लखन थापा, भिमदत्त पन्तहरु सोहीबाट प्ररित भएका देखिन्छन् । प्रजापरिषद्देखि नेपाली कांग्रेस र नेकपाको स्थापना पनि भारतीय कांग्रेस र सोभियत–चिनीया क्रान्तिको प्रभावबाट जन्मिएको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई तत्कालिन धार्मिक सामन्तवादी विचारबाट निर्मित सामाजिक नियम र सांस्कृतिक संरचना भत्काउन कम्ति कठिन संघर्ष गर्नुपरेको थिएन भन्ने देखिन्छ । उद्यपि त्यो अद्यापि कायम छ । नेपाली कांग्रेसको पनि त्यही हालत हो । उनीहरुको समाजवाद धर्मशास्त्रलाई धेरै पर राखेर सम्भव थिएन । नेपाली समाजको तत्कालिन विशिष्टतालाई सुहाउदो ढंगले समाजवाद र साम्यवादका विचारलाई नेपालीकरण गरिएको देखिन्छ । तर कम्युनिष्ट पार्टीको दस्तावेजमा स्पष्ट वैज्ञानिक समाजवादमा पुग्ने कार्यदिशा थियो । १०३ वर्षसम्म शिक्षाबाट वञ्चित हुनुपरेको अशिक्षित समाजले त्यो साम्यवादको यात्रा बुझ्नै सकेन, नेताहरुले बुझाउनै सकेनन् । नेतृत्व आफैं अलमलियो । १०३ वर्षदेखि गुम्सिएको शाहवंशले त्यसको फाइदा लियो । प्रजातन्त्रका हिमायतिहरु पछि परे । परिवर्तित परिस्थितिमा विचारलाई व्यवहारमा सही ढंगले कार्यन्वयन गर्न नसक्नाले पुनरुत्थानवादी तत्व त्यसबेला हावी भयो । जसलाई पुनः प्राप्त गर्न दलहरुले ३० वर्ष निरन्तर संघर्ष गर्नुपरो ।
२०४७ सालको संविधानले बहुदलीय व्यवस्था र राजालाई संवैधानिक बनाउने भनेर परिस्थितिको नयाँ ढंगले व्यवस्थापन गर्ने जमर्को गरेको देखिन्छ । जसलाई संसारमै नयाँ र उत्कृष्टको पगरी पनि गुथाइयो । यसले सामन्तवादको निगाहमा पुँजीवादका कार्यक्रमहरु नेपाली समाजमा लागु गर्ने कोसिस गरेको देखिन्छ । आर्थिक, सामाजिक कार्यक्रमहरु विश्व पूँजीवादको रफ्तारसँग मेल खाने गरी लागु गर्न खोजिएको जस्तो देखिन्थ्यो । तर नेपाली समाजको वर्तमान र विश्वा आर्थिक बजारको प्रगति बच्चा र चन्द्रमा जस्तो अनुभुति हुन्थ्यो । बच्चाले राती चन्द्रमा छुन खोजेजस्तो । खुल्ला बजार तथा उदारिकरणको दिशामा बलजफ्ती लगियो । विश्व बैंकबाट रिण तथा सहयोग पाउने आशामा यसो गरिएको हुनसक्छ । नेपाली उत्पादनले ठूला देशका उत्पादनसँग कसरी निरिह बन्नु परेको छ, ब्यापार घाटाको अवस्था तथा अनुपात कस्तो छ, त्यसबाट नै त्यो ब्यवस्थाको नेपाली समाजमा अवतरण कत्तिको जायज थियो भनेर अनुमान लगाउन सकिन्छ । यस्तो कक्टेल व्यवस्थाले नेपाली समाजलाई सही दिशा र विकास दिन नसक्ने ठहरबाट माक्र्सवादी विचारको आधारमा नेपाली सापेक्षतामा नयाँ ढंगको सामाजिक व्यवस्थाबाट समाज विकास गर्ने र समाजवादमा पुग्ने लक्ष्यसाथ राजनीतिक संघर्ष भयो । यसले मौजुदा बहुदलवादी दलसँग संघर्ष र एकताको माध्यमबाट सामन्तवादको अवशेष राजतन्त्र अत्न्य ग¥यो र लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । पहिलोपटक जननिर्वाचित प्रतिनिधिहरुले संविधान बनाए । समाज अभूतपूर्व परिवर्तनको दिशामा गयो । दलका दस्तावेजमा ठूलठूला कुरा लेख्ने प्रतिस्पर्धा भयो । जसलाई सरकारमा गएपछि कार्यन्वयन गर्न नसकेर हावा खुस्किने अवस्था बन्यो
निम्न र मध्यम आय भएका मानिसको बहुमत भएको नेपाली समाजले परिवर्तनपछि तुरुन्तै त्यसको स्वाद आफ्नो भान्सामा खोज्यो । जुन भरखरै नयाँ ढंगको संरचनामा बनेको नयाँ सरकारबाट यति छिटै कहाँ सम्भव हुन्थ्यो र । तर सरकारभन्दा बाहिर रहेको दलले त्यसैलाई अस्त्र बनाएर आफू सरकारमा पुग्ने भ¥याङ बनाए । आखिर जोसुकै सरकारमा पुगे पनि मौजुदा अवस्थामा जति हुन सक्ने हो, त्यो भन्दा बढी काम हुनै नसक्ने कुरा अहिलेसम्मका सबै सरकारहरुको हविगतबाट स्पष्ट भइसकेको छ । राज्यको राजनीतिक संरचनाको पुनर्संरचना भएर सबै तह र अंगले सहजताका साथ काम गर्न सुरु गरेपछि आखिर विकासको गति कसैले चाहेर पनि रोक्न सक्ने होइन । अहिले दलहरुको बेढंगे तरिका र आत्मविश्वासको कमिले केही अलमल भएजस्तो मात्रै भएको हो ।
समाज रुपान्तरणको यो तरलतामा अरु पनि नयाँ विचार र कार्यदिशाको जन्म हुनु स्वभाविक कुरा हो । त्यसैमुताविक दलहरुको जन्म हुनु पनि स्वभाविक हो । परिवर्तनको नेतृत्व गरेको दल, विचार र नेतृत्वले सही गति लिन सकेन र पुनरुत्थनवादी तत्व फेरि पुनरागमन हुने खतरा भयो भने नयाँ ढंगले समाज विकास र समृद्धिको नेतृत्व लिने भरपर्दो शक्ति र विचारको जन्म र विकास हुनुलाई स्वागतयोग्य मान्नुपर्छ । तर यही विचार, दल र नेतृत्वले परिवर्तनको भावनालाई समाज विकासको भावनासँग मिलाउने समृद्धिका सबै ढोकाहरु खोल्न क्रियाशिल भएको अवस्थामा आमजनताले त्यसमा होस्टेमा हैंसे गर्नु अपरिहार्य दायित्व बन्दछ ।
परिवर्तनको नेतृत्व गरेको शक्तिलाई निश्चित समयसम्म काम गर्ने मौकै नदियी त्यसको विकल्प खोजिहाल्नु पनि अस्थिरतालाई निम्त्याउनु हो । बिनाअवरोध, विनाप्रतिपक्ष र विना बिरोधका स्वर त कुनै पनि लोकतान्त्रिक सरकारले सही गति लिनै सक्दैन । सही तरिकाले कामै गर्न सक्दैन । निरन्तर खबरदारी गर्ने सचेत प्रतिपक्ष त राजनीतिक सिक्काको आर्को पाटो नै हो ।
बाबुराम भट्टराईले वर्तमान राजनीतक दलहरुले अबको राष्ट्रिय समृद्धिको नेतृत्व गर्न नसक्ने भन्दै नयाँ बैकल्पिक शक्ति निर्माण गर्न तम्सिनु, रविन्द्र मिश्रहरु पत्रकारिताको पेसा त्यागेर अरुले सकेनन्, अब मैले गर्ने हो भन्दै राजनीतिमा हामफाल्नु र केही विदेशमा युवा बेच्ने कन्सल्टेन्सी खोलेर ट्युशन पढाउनेले दशकौंदेखि परिवर्तनको लागि नेतृत्व गरेका दलहरुको बिरुद्ध बिचार र दिशाहिन क्लब खडा गर्नु भनेको राजनीतिक परिघटनामा समय–समयमा देखापर्ने विभिन्न खाले स्वभाविक राजनीतिक ज्वारभाटाहरु हुन् । राज्यसत्ता असाध्यै पश्चगामी छ, किकर्तव्यविमुढमा फसेको छ, समृद्धिका कुनै योजनै छैेनन्, भए पनि कार्यन्वयन गर्ने ल्यकत छैन, भ्रष्टाचारमा चुर्लुम्म डुबेर राष्ट्रिय अर्थतन्त्र धरासायी बनाएको छ र राष्ट्रिय सुरक्षा तथा सार्वभौमिकतामा गम्भीर असर पर्नेवाला छ भने, राजनीतिक बन्दीको अवस्थामा मुलुक बाँधिएको छ भने त्यो बेला स्वभाविक रुपमा वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यता हुन्छ । विचार, दल र नेतृत्वको विकल्प दिनै पर्ने हुन्छ । जुन अवस्था अहिले भरखरै नेपाली राजनीतिमा नरहेको स्पष्टै छ । किनकि राजनीतिक आन्दोलनबाट भएको परिवर्तन संविधानको रुपमा दस्तावेजीकरण भएर सोही मुताविक चुनाव, शासकीय संरचना तथा विधि बन्ने र लागु हुने क्रम तीब्र गतिमा जारी नै छ । संविधानअनुसार चुनाव भएर सरकारले काम गर्न सुरु गरेको भरखर नौ महिना मात्रै भएको छ । समाज परिवर्तनका राजनीतिक एजेण्डा कार्यन्वयनका लागि नौं महिना असाध्यै थोरै समय हो । संसारमा नौं महिनामा पुरै मुलुकको आर्थिक, सामाजिक कायापलट भएको कुनै पनि मुलुक छैन । सबैभन्दा पछि छोटो समयमा विकास भएका भनिएका सिंगापुर र मलेसिया पनि विकास हुन तीसौं वर्ष लागेको थियो । रातारात बनेको होइन । हामीले धेरै आत्तिनु पर्ने अवस्था छैन । तीब्र विकासका राष्ट्रिय पूर्वाधारहरु तीब्र गतिमा निर्माण भइरहेका छन् । यातायात, उर्जा र सिपमुलक शिक्षाको विकास भइरहेको छ । केही वर्षमै नेपाल दक्षिण एसियाका विकसित मुलुकको हाराहारिमा पुग्ने निश्चित छ । तर त्यसका लागि समाजका सबै राजनीतिक दलहरु र तिनका मान्छेहरु जागरुक हुन आवस्यक छ । एक–अर्कालाई खबरदारी गर्न जरुरी छ । भ्रष्टाचारको क्रोनिक रोगलाई निर्मूल पार्न आवस्यक छ । जवाफदेहिता बढाउन र दण्डहिनता अन्त्य गर्न आवस्यक छ । दल, नेतृत्व र सरकारका काम कारवाहीप्रति जनतालाई विश्वास दिलाउन आवस्यक छ । यसका लागि दल र दलका मान्छेले सबैभन्दा बढी जवाफदेही हुन र पारदर्शी जीवन बिताउन आवस्यक छ । राजनीतिलाई पेशा होइन आचरण बनाउने र पेशाको लागि अन्य उद्यम गर्ने संस्कारको तीब्र विकास गर्न आवस्यक छ ।
२००७ सालपछि यो युगको सबैभन्दा ठूलो परिवर्तनका साक्षी र संवाहक हो, हाम्रो पुस्ता । लामो समयसम्म थुप्रै पिंडीले यो परिवर्तनको फल उपभोग गर्न पाउने आधारभूमि बनाउने सौभाग्य पनि हामलिाई प्राप्त छ । हामी आफैें पनि परिवर्तनपछि समृद्धिको नेतृत्व गर्ने र त्यसलाई उपभोग गर्न सक्ने स्थानमा उभिएका छौं । यसर्थ, यहाँ परिवर्तनका संवाहक कसैले पनि तरंगित हुन वा हतास हुनुपर्ने अवस्था छैन । परिवर्तनको ढोका यहींनेर बन्द भयो भन्ने होइन । सामाजिक रुपान्तरण र विकासको गति निरन्तर चलिनै रहन्छ । त्यसको गति र स्वरुप विविध होला । कुनै विन्दुमा विचार, दल, कार्यदिशा र नेतृत्वको विकल्प पनि जरुरी होला । त्यो नेतृत्व, विचार कार्यदिशाको स्वरुप पनि विविध होलान् । कसैले त्यसका लागि आधारभूमि बनाइरहने र प्रयास गरिरहने कुरा पनि जायज नै होला । त्यसले अहिले समृद्धिको नेतृत्व गरिरहेकालाई पनि जिउदै रहन प्रेरित नै गर्ला । भरखरै के के न कुम्ल्याउँला भनेर सबैथोक छाडेर राजनीतिक खल्लीहरु पचासौं वर्षदेखि बिचरण गरिरहेकोे राजनीतिक बजारमा सबैलाई सत्तरोसराप गर्दै जति बेगले रविन्द्र मिश्रहरु हामफाले, अहिले उनीहरु उति नै रफ्तारमा चाउरिनु स्वभाविकै छ । यस्ता हण्डर त उनीहरुले अनगिन्ती खान बाँकि नै छन् । प्रचण्ड, ओली र देउवाहरु यत्तिकै यो राजनीतिक उचाइमा पुगेका ठान्नु उनको मुर्खता हो । वैकल्पिक बन्ने बहानामा नेतृत्वभोक र व्यक्तित्व टकरावका कारण अलग राजनीतिक पसल खडा गर्नेहरुको हविगत पनि सबैले देखिरहेकै छन् । यसर्थ, यो समयका वैकल्पिक राजनीतिक शक्ति हामी नै हौं ।
खबमखष्धबम२नmबष्।िअयm

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६