समाचार हेडलाईन न्युज

प्रम ओलीबाट एकतर्फि रुपमा मन्त्रीपरिषद विस्तार, केहीको जिम्मेवारी हेरफेर

सुनकोशी न्युज
२०७७ असोज २८ गते बुधबार
काठमाण्डौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गरेका छन् । पार्टीमा लामो समयदेखि चलिरहेको अन्तरविरोध समाधान हुने अपेक्षा गरिएका बेला ओलीले आफूनिकटकालाई मात्रै मन्त्री बनाउदा नेकपाको आन्तरिक राजनीति थप तनावपूर्ण हुने नेकपाका एक नेताले बताए ।

विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।

त्यस्तै, यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ ।

संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, अशोज २८, २०७७