समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा प्रहरीले काठ तस्कर भगाउने गरेको वन अधिकृतको आरोप असत्य – प्रहरी

सुनकोशी न्युज
२०७७ असोज १६ गते शुक्रबार
सिन्धुली । सिन्धुलीका प्रहरीले काठ तस्करलाई भगाउने गरेको आरोप सत्य नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ती प्रेसित गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकृत श्याम बहादुर खत्रीले जानकारी दिए । डिभिजन वन कार्यालय सिन्धुलीका वन अधिकृत नारायण श्रेष्ठले यस्तो आरोप लगाएका हुन् ।

असोज १५ गते जिल्लाको एक स्थानीय दैनिक पत्रिकामा ‘काठ तस्करलाई भगाउन प्रहरी नै संलग्न हुने गरेको र प्रहरीले नै काठ तस्करसँग मिलेर सेटिङ गर्ने गरेको, काठ तस्करी गर्ने मानिस भगाउने र सकभर काठ तस्कर गर्ने सवारी साधनसँगै भगाएर काठ मात्रै पक्रने गरेको आरोप डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठले बताएका छन्’ भनी छापिएको थियो ।

उक्त समाचारमा कुनै सत्य नभएको प्रहरीले स्पष्ट पारेको छ । पत्रिकाले डिभिजन बनका प्रमुखले नै प्रहरीलमाथि यस्तो आरोप लगाएर समाचार छाप्न लगाएको बताएको छ ।

विज्ञप्तीमा सिन्धुली जिल्लामा विभिन्न समयमा काठ तस्करी सम्वन्धी यस्ता घटना भैरहने गरेको तर प्रहरीलाई खबर हुनासाथै तुरुन्तै कारबाही गर्ने गरिएको उल्लेख छ । यसरी पक्राउ गरिएका काठ र तस्करलाई डिभिजन वन कार्यालयमा बुझाउने गरिएको डिएसपी खत्रीले उल्लेख गरेका छन् ।

कतिपय घटनामा प्रहरीलाई खबर भएको थाहा पाएर प्रहरी पुग्नुअगावै तस्कर साधनसहित भाग्ने गरेकाले घटनास्थलमा वेवारिसे अवस्थामा उपलब्ध काठ मात्रै बरामद गरी वनलाई बझाउने गरिएको उनले बताए ।

अपराध नियन्त्रण सम्वन्धी मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरी आफ्नो काम कर्तव्यमा अविचलित रहेको र अन्य निकायहरुसँगको सहकार्यमा आफ्नो भूमिकालाई निरन्तरता दिने उल्लेख गरेको छ ।

चुरे र महाभारतलाई समेटेर रहेको भित्री मधेशमा अवस्थित सिन्धुली राम्रा सालका काठ उपलब्ध हुने वन रहेको क्षेत्रको रुपमा स्थापित छ । विगतदेखि नै सिन्धुलीको वनबाट तस्करहरुले विभिन्न बहानामा अनियन्त्रित काठ तस्करी गर्ने गरेका थिए ।

२०७१ सालमा लागु भएको वैज्ञानिक वनको अवधारणाले बचेखेचेका पुराना ठूला सालका रुखहरु सबै सखाप बनाइएको छ । यस्तो अवस्थामा भएको काठको तस्करीमा जिल्ला वा जिल्लाबाहिरका तस्करहरुले विभिन्न सरकारी निकायलाई समेत प्रभावमा पारेर काठको तस्करी गर्ने काम निरन्तर गदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज १६, २०७७

 

 

ताजा अपडेट