समाचार हेडलाईन न्युज

मुख्यसचिवमा बैरागी नियुक्त, खतिवडा र लोकदर्शन राजदूत

सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
काठमाण्डौं । मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि नयाँ मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको छ । परराष्ट्र सेवाबाट मुख्य सचिव हुने उनी पहिलो कर्मचारी हुन् । आज बसेको मन्त्रीपरिषद्को उक्त निर्णय गरेको हो ।

कात्तिक १० गतेसम्म पदावधि भएका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएर बेलायतको राजदूत हात पारेपछि वैरागीलाई मुख्यसचिव बन्ने बाटो खुलेको हो ।

लोकदर्शनले राजदूतको प्रलोभनमा नपरी पूरै कार्यकाल मुख्यसचिव चलाएको भए वैरागी मुख्यसचिव बन्ने ठाउँ रहँदैनथ्यो । किनभने, रेग्मीको कार्यकाल नसकिँदै यही असोज २२ गते नै वैरागीले परराष्ट्र सचिवबाट अवकाश पाउन लागेका थिए ।

वैरागी सन् १९८७ मा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल दल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यसैगरी उनले ब्रेसल्सको फ्री विश्वविद्यालयबाट विकासमा स्नातकोत्तर गरेका छन् । वैरागीको जन्म सन् १९६६ मा पर्वतमा भएको हो ।

त्यसैगरी, मन्त्रीपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज १५, २०७७