सुनकोशी न्युज
२०७७ असोज १५ गते विहिबार
बीरगञ्ज– लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भनी परीक्षा चलाइएको रहेछ । मध्यान्ह १२ बजेतिर प्रहरी पुग्दा बारा, पर्सा र सर्लाही समेतका २१ जना परीक्षार्थी परीक्षा दिइरहेका थिए ।
लोक सेवा आयोगले कुनै परीक्षा गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्सासँग थिएन । जिल्ला प्रहरी कार्यालय तथा प्रहरी कार्यालय विर्ताबाट प्रहरीको टोली पुगेर सोधपुछ भए पछि भयो षडयन्त्रको पर्दाफास ।
परीक्षार्थीहरुसँग नेपाल प्रहरीको सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदारमा समेत जागिर लगाइदिन्छु भनिएको रहेछ । परीक्षा सञ्चालनमा सहयोग गर्ने प्रयोजनका लागि विभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको रहेछ । नक्कली परीक्षाका लागि ९ महिनादेखि तयारी भइरहेको रहेछ ।
जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार सम्पूर्ण हिसाबले सक्कली परीक्षा जस्तै तयरी गरिएको थियो । ‘परीक्षार्थीहरु मास्क लगाएर बसेका थिए, प्रश्न पत्र र उत्तर पुस्तिका बाँडिएको थियो, उनीहरुलाई कतिपयलाई प्रहरी सहायक त कतिपयलाई के को जागिर दिलाइदिने आश्वासन दिइएको रहेछ ।
प्रहरीले नक्कली लोकसेवा परीक्षा सञ्चालनको योजनाकार बारा जितपुर सिमरा उपमहानगरपालिका– ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार रायलाई प्रहरी निरीक्षकको पोशाकमै नियन्त्रणमा लिएको छ ।
उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र १ थान बरामद गरेको छ ।
परीक्षा हलबाटै प्रहरीले जितपुर सिमरा–५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, वीरगञ्ज–१६ बस्ने २१ वर्षीय रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका– ५ सबैठवा बस्ने ४७ वर्षीय शिव नारायण चौरसिया, वीरगञ्ज–रानीघाट बस्ने २५ वर्षीय रामजी चौरसियालाई समेत पक्राउ गरेको छ । उनीहरुको के–कुन भूमिका रहेको छ भन्ने कुरा बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
परीक्षार्थीहरुलाई जागिर दिने प्रलोभनमा पारेर ठगेको बुझिएको छ । त्यसका लागि उनले परीक्षार्थीहरुसँग रकम समेत लिएका छन् । १३ जनासँग ३ लाख ६१ हजार रुपैयाँ लिएको प्रहरीको प्रारम्भिक अुनसन्धानबाट खुलेको छ । १२ जनासँग १ हजारदेखि ३५ हजारसम्म रकम लिएको र १ जनासँग परीक्षामा उतिर्ण भएपछि १ लाख ५० हजार रुपैयाँ लिने तय भएको प्रहरीले जनाएको छ ।
Add Comment