समाचार हेडलाईन न्युज

बाह्रबिसे पहिरोमा ज्यान गुमाएका २ जनाको सनाखत, बागलुङमा एकको ज्यान गयो

सुनकोशी न्युज
२०७७ भाद्र २८ गते आइतबार
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित नागफुजे र भीरखर्कमा पहिरोका कारण ज्यान गुमाएका २ जनाको सनाखत भएको छ ।

नागफुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क बिकटोलकी २३ वर्षिया जुनु बिकको शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता (डिएसपी) प्रकाश सापकोटाले रातोपाटीलाई बताए ।

पहिरोका कारण भीरखर्कमा जुनु बिकसहित ३ जनाको मृत्यु भएको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् ।

नगफुजेका ७ घर बगेर भोटेकोशीमा मिसिएका छन् । त्यहाँ १६ जना बेपत्ता छन् । उपमेयर पाख्रिनका अनुसार भीरखर्कको बिक टोलमा १०–१२ वटा घर पुरिएको छ । त्यहाँ ६ जना बेपत्ता छन्, तीनजना घाईते भएका छन् ।

सो वडाको केम्बेमा पनि पहिरोले घर पुरिएको सूचना आएपछि प्रहरी नायव निरिक्षक (सई) कमाण्डको टोली त्यसतर्फ जाँदै गरेको डिएसपी सापकोटाले बताए ।

नागपुजेमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पुगेका छन् ।

त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति: आइतवार, भदौ २८, २०७७