समाचार हेडलाईन न्युज

पार्टी प्रचण्डले र सरकार ओलीले चलाउने, एमसिसि परिमार्जनसहित पास गर्न निर्देशन

सुनकोशी न्युज
२०७७ भाद्र २६ गते शुक्रबार

काठमाण्डौं । लामो समयदेखि जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष केपी ओलीले सरकार चलाउने र पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका सहित पार्टी नेतृत्वमा रहने निर्णय गरेको छ ।

बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षको कार्यविभाजन टुंगो लगाइएको भन्दै प्रधानमन्त्री समेत रहेका ओली सरकारका काम कारबाहीमा केन्द्रित रहने निर्णय भएको बताए ।

त्यसैगरी, अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन । तर महत्त्वपूर्ण सवालमा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने हुन्छ ।

आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, भीम रावल, अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए ।

ती सदस्यले धारणा राखेपछि प्रचण्डले प्राप्त सुझावका सन्दर्भमा आफ्नो धारणा राखेका थिए भने त्यसपछि विभिन्न निर्णय गर्दै बैठक सकिएको थियो । श्रेष्ठका अनुसार छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय भएको छ ।

पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् ।

स्थायी कमिटीको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई परिमार्जन सहित अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले एमसीसीलाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने बताए।

त्यस्तै श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो । महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

आजको बैठकसँगै असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक सम्पन्न भएको छ ।

निर्णयका मुख्य बुँदा :

१) पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसाथ गर्दै पार्टीलाई अझ बढी सुदृढ गरेर अगाडि बढाउने संकल्प ।
२) पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढ्ने र विगतमा भएका निर्णय कार्यान्यन गर्ने निर्णय।
‘अध्यक्षको कार्यविभाजन केपी शर्मा ओलीले सरकारको प्रभावकारी सञ्चालन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका कामको नेतृत्व गर्नेगरी कार्यविभाजन ।
३) सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यानमा राखेर काम गर्ने ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७