समाचार हेडलाईन न्युज

वामदेव राष्ट्रियसभामा : ६ महिनापछि प्रम ओली सहमत

sunkoshinews.com

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते विहिबार

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउन ६ महिना पहिला गरेको निर्णयमा प्रधानमन्त्री केपी ओली सहमत भएका छन् ।

नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न गत फागुनमै निर्णय गरेको थियो । तर प्रम ओलीले कार्यान्वयन नगर्ने अडान लिएका कारण निर्णय त्यसै थन्किएको थियो ।

विहिबार बसेको सचिवालयको बैठकले उक्त निर्णयलाई पुनः कार्यन्वयन गर्न प्रम ओलीलाई दबाब दिएपछि ओलीले बामदेवलाई रिक्त रहेको राष्ट्रिय सभाको उक्त पदमा राष्ट्रपति समक्ष सिफारिस गर्न राजी भएका हुन् ।

सरकारले गौतमलाई राष्ट्रियसभाको सदस्यमा मनोनयन गर्ने ओलीले सचिवालयको बैठकमा जानकारी गराएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उनले बताए । बर्दियाबाट चुनाव पराजित भएका गौतमलाई सांसद बनाउन लामो समयदेखि कसरत भएको थियो ।

उनलाई ऐन संसोधन गरेर प्रधानमन्त्री समेत बनाउने प्रस्ताव आएपछि उनलाई सांसद बनाउने कुरासँग प्रधानमन्त्री ओली झस्किएका थिए ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७