समाचार हेडलाईन न्युज

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले थप गरेको निषेधाज्ञा प्रति नगरपालिका फोरमको असन्तुष्टि

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते बिहीबार

काठमाडौं – बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेश केही खुकुलो भएको भन्दै उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ।

नगरपालिका फोरमले विज्ञप्ति जारी गर्दै यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल / व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ।’

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७