समाचार स्थानीय हेडलाईन न्युज

२ बजेदेखि ९ बजेसम्म निर्माण सामाग्री पसल र सवारी संचालन गलत – नगरपालिका फोरम

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते विहिबार
काठमाण्डौं ।
बुधबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले खुकुलो प्रावधान सहित भाद्र २४ गतेसम्मका लागि गरेको निषेधाज्ञाप्रति उपत्यका नगरपालिका फोरमले विज्ञप्ति जारी गरेर बिरोध जनाएको छ।

काठमाण्डौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल–व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग गर्ने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भनेर गरेको निर्णयमा बिरोध गरेका हुन् ।

‘यही भदौ १८ गतेदेखि लागू हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

‘अतिआवश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिने सम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ।’

मध्यपुर ठिमीका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको र उनीसँग भर्चुअल संवाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिए।

मेयर श्रेष्ठले काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तीव्ररूपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रूपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौंको ठहर रहेको पनि बताए।

‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिँदै आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७