जीवनशैली स्थानीय हेडलाईन न्युज

मच्छेन्द्रनाथको रथ तान्ने सथानीयमाथि प्रहरीले हान्यो अश्रुग्यास

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते विहिबार
ललितपुर । निशेधाज्ञा तोडर स्थानीय युवाहरुले रातो मच्छेन्द्रनाथको रथ तान्न थालेपछि ललितपुर पुलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपले उग्ररुप लिएपछि प्रहरीले अश्रु ग्यास हानेको छ।

रथ तान्न तम्सेका युवाहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो। युवाहरुले रथ तानेर सडकको बीच भागमा पुर्‍‌याएका छन् । रथ तान्ने युवाहरुलाई रोक्न सडकमा ठूलो संख्यामा प्रहरी घेरा हालेर बसेका छन्।

यसअघि रथयात्राका लागि पुल्चोकमा जम्मा भएका स्थानीय युवाहरुले रथ तान्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। बिहानैदेखि सयौं संख्यामा स्थानीय जम्मा भएका थिए।

कुनै अप्रिय घटना हुन नदिन बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो। कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले स्थानीयलाई माइकिङ गरेर घर जान आग्रह गरेको थियो।

असोज २ देखि मलमास सुरु हुने मलमासअगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलनअनुसार स्थानीयले निषेधाज्ञा तोडेर रथ तानेको बताइएको छ। कोरोना महामारीका कारण निर्धारित तिथिमा हुन नसकेको रथ जबरजस्ती तानिएको हो ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७