शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

घर/कार्यालयभित्र कोभिड–१९ सर्न नदिन गर्नुपर्ने पाँच महत्त्वपूर्ण काम

सुनकोशी न्युज
२०७७ भाद्र १३ गते शनिबार

शरद ऋतु सुरु हुनै लागेकाले अब मानिसहरूले लामो समय घर वा कार्यालयभित्रै व्यतीत गर्नेछन् । यस्तो बेलामा बन्द कोठामा भाइरस नफैलियोस् भन्नका लागि भेन्टिलेशन अर्थात् वायु वारपार हुने व्यवस्था गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

कोरोनाभाइरसबाट जोगिन हामीलाई हात धुन र सामाजिक दूरी कायम गर्न भनिँदै आएको छ। तर जब बालबालिकाहरू विद्यालय जान थाल्छन् र कार्यालयहरूमा धेरै मानिसहरू कामका लागि जान सुरु गर्छन्, हामीले सास फेर्ने हावाबारे पनि सोच्नुपर्ने वैज्ञानिक र इन्जिनियरहरू बताउँछन्।

यी पाँच तरिकाबाट उपयुक्त भेन्टिलेशन बनाउन सकिन्छ।

१. यदि हावा भरिएको छ भने बाहिर निस्किनुहोस्

तपाईँ कुनै कोठामा पस्नुभयो र त्यहाँ बासी हावा फैलिरहेको छ वा भेन्टिलेशनमा समस्या छ भने त्यहाँ कोरोनाभाइरस सङ्क्रमणको जोखिम धेरै हुन्छ।स्वच्छ हावा नभएको क्षेत्रमा सङ्क्रमण हुने सम्भावना बढी हुन्छ। नयाँ अध्ययनहरूले गुम्सिएको क्षेत्रमा हावामा उडिरहेका भाइरसबाट पनि सङ्क्रमण हुनसक्ने देखाएका छन्।

महामारीअघि बनाइएका कार्यस्थलसम्बन्धी निर्देशिकाहरूका अनुसार प्रत्येक व्यक्तिले प्रतिसेकेन्ड १० लिटर ताजा हावा पाउनुपर्छ। त्यो अहिले अझ बढी महत्त्वपूर्ण हुन पुगेको छ। त्यसैले यदि कुनै स्थल गुम्सिएको जस्तो लाग्छ भने तुरुन्तै उक्त ठाउँ छाड्नुपर्ने चार्टर्ड इन्स्टिट्यूशन अफ बिल्डिङ सर्भिसेज इन्जिनियर्सका प्राविधिक निर्देशक डा. ह्वावेल डेभिसले बताए।

उनी हावालाई शुद्ध बनाउन ताजा हावा वारपार हुनु आवश्यक हुने बताउँछन्। उनी भन्छन्, ूयदि तपाईँले एउटा भवनमा कसैलाई सङ्क्रमित पाउनुभयो र तपाईँले बाहिरको प्रशस्त हावा भित्र ल्याउनुभयो भने त्यसले सङ्क्रामक स्थितिलाई कम गरिरहनुभएको हुन्छ। त्यसका माध्यमबाट तपाईँले अन्य व्यक्तिहरूमा सङ्क्रमण सर्ने जोखिम कम गरिरहनुभएको हुन्छ।ू

२. एअर कन्डिशनिङ हेर्नुहोस्

गर्मीका बेला कार्यालयदेखि पसलसम्म एअर कन्डिशनिङलाई प्रयोग हुने भएकाले त्यसको प्रकार कस्तो छ भन्ने हेर्नुहोस्। सबैभन्दा सामान्य प्रकारको एअर कन्डिशनिङ प्रणालीका लागि सेतो भित्ता वा छतमा राखिन्छ। त्यसले कोठामा भएको हावालाई आफूतिर तान्छ र चिसो बनाएर पुनः कोठामा छाड्छ। अर्को शब्दमा भन्दा त्यसले हावा पुनः वितरण गर्छ।

छोटो समयका लागि उक्त कोठामा जाँदा खासै जोखिमपूर्ण हुँदैन तर जति धेरै त्यहाँ बसिन्छ त्यतिकै मात्रामा जोखिम बढ्छ। चीनमा भएको एउटा अध्ययनले त्यस किसिमको एअर कन्डिशनरले भाइरस फैलाउने आरोप लगाइएको छ। उक्त अध्ययनअनुसार एक ग्राहक ‘लक्षण नभएका’ सङ्क्रमित थिए। वैज्ञानिकहरूका अनुसार उनले सास फेर्दा कोरोनाभाइरस बाहिर निस्कियो र हावामा मिसियो अनि एअर कन्डिशनरबाट कोठाभरि फैलियो। त्यसपछि त्यहाँ भएका अन्य नौ जना पनि सङ्क्रमित भए।

डा. डेभिस स्वच्छ हावाको महत्त्वमा जोड दिँदै भन्छन्, ‘यदि त्यहाँ बाहिरबाट ताजा हावा आएको भए पनि धेरै कम मानिसहरू मात्र सङ्क्रमित हुन्थे।’

३. स्वच्छ हावाको अनुपातबारे सोध्नुहोस्

आधुनिक भवनहरूमा झ्यालहरू बन्द गरिएका हुन्छन्। त्यस्ता भवनमा कसरी पाउने त स्वच्छ हावा ?

मानिसहरू भेन्टिलेशन प्रणालीमा निर्भर हुन्छन्। त्यसले कोठाको बासी हावालाई बाहिर निकाल्छ। त्यसका लागि छतमा प्रायः राखिएको ‘एअर ह्यान्ड्लिङ’ यूनिटसम्म पाइपका माध्यमबाट लाने व्यवस्था गरिएको हुन्छ। कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई हेरेर यस्तो प्रणालीमा स्वच्छ हावा आपूर्तिको मात्रा बढाउने सुझाव दिने गरिन्छ।

लीड्स विश्वविद्यालयका प्राध्यापक तथा सरकारको वातावरणसम्बन्धी समूह एसएजीईका सल्लाहकार क्याथ नोक्स व्यक्तिगत विचार भन्दै भन्छन्, ‘शतप्रतिशत वा त्यत्तिकै मात्राको बाहिरको हावा हुनु राम्रो कुरा हो।’

जति धेरै स्वच्छ हावा हुन्छ भाइरसको पुनः वितरण हुने सम्भावना त्यत्ति नै धेरै घटेको हुन्छ।

४. फिल्टरमा पो भाइरस छ कि परीक्षण गर्नुहोस्

आधुनिक भेन्टिलेटर प्रणालीमा फिल्टर लगाइएको हुन्छ। तर त्यो भरपर्दो हुन्छ भन्ने सुनिश्चित छैन।

अमेरिकाको ओरगन हेल्थ एन्ड साइन्स विश्वविद्यालय अस्पतालमा गरिएको एउटा अनुसन्धानमा कोरोनाभाइरसका अंशहरू यस्ता फिल्टरमा फेला परे। तर केही त्यहाँबाट पनि उम्केको पाइएको छ।

उक्त अध्ययनको नेतृत्व गरेका प्राध्यापक केभिन भान डेन विमेलेनबर्गका अनुसार यदि कुनै भवनमा सङ्क्रमितले काम गर्छन् भने यस्ता फिल्टरहरूबाट नमुना लिएमा त्यसबाट पनि भाइरस पत्ता लाग्न सक्छ।

दक्षिण कोरियामा एउटा भवनको ११औँ तलामा रहेको कल सेन्टरमा कार्यरत एक सङ्क्रमितले ९० जनाभन्दा बढीमा सङ्क्रमण सारेको पाइएको छ।

यदि फिल्टरहरू बारम्बार परीक्षण गर्ने हो भने भवनमा भाइरस छ कि छैन भन्ने चाँडै पत्ता लगाउन सकिन्छ। त्यसले हामीलाई सुरक्षात्मक उपायहरू अपनाउन सहयोग पुर्‍याउने विमेलेनबर्ग बताउँछन्।

५. कस्तो हावामा सास फेरिँदैछ विचार गर्नुहोस्

यस क्षेत्रका विज्ञहरूलाई सोध्दा ताजा हावा प्रमुख कुरा हो भन्छन्। तर एक विज्ञ भन्छन्– यो त्यति सहज छैन।

निक वर्थ फर्मूला वन रेसिङ कारको डिजाइन गर्थे। उनी अहिले सुपरमार्केटहरू र खाद्यान्न प्रशोधन उद्योगहरूमा कसरी हावाको मात्रालाई मिलाउने र मानिसहरूलाई सुरक्षित गर्ने भन्ने कुराको सुझाव दिने गर्छन्। उनी खुला झ्यालको छेउमा बस्ने मानिस पनि सङ्क्रमित हुनसक्ने कुराबाट चिन्तित छन्। उनीहरूले अरूलाई भाइरस सार्न सक्छन्।

उनी भन्छन्, ‘यदि तपाईँले झ्याल खोल्नुभयो भने त्यो हावा कहाँ जान्छ ? हामी हावाको गतिको सीधा रेखामा मानिसहरू रहन चाहँदैनौँ।’

धेरै ताजा हावा सामान्य रूपले राम्रो हो तर यो सीधा उड्यो र त्यो भाइरसयुक्त रहेछ भने नसोचेको परिणाम आउन पनि सक्छ। त्यो कुरालाई प्राध्यापक क्याथ नोक्ससमक्ष राख्दा उनी भाइरसलाई कम गर्नेखाले ताजा हावा धेरै उपलब्ध हुँदा जोखिम कम हुने बताउँछिन्।

वास्तवमा कतिपय असहमतिहरू छन् । हामीले भाइरसबारे अझै धेरै कुरा थाहा पाएका छैनौँ। तर हामीले सास फेर्दा लिइने सासलाई ताजा बनाउनु कुनै पनि भवन सुरक्षित बनाउनुसँग जोडिएको छ।

(बिबिसी न्युज, नेपालीबाट साभार)

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७