शिक्षा/स्वास्थ्य समाचार

आज कोरोनाबाट काठमाडौंका तीनसहित ७ को मृत्यु, ८५५ संक्रमित थपिए

सुनकोशी न्युज
२०७७ भाद्र ९ गते मंगलबार
काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा। जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् ।

त्यसैगरी, आज देशभर कोरोना भाइरसका ८५५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८५५ संक्रमित थपिएका हुन् । काठमाण्डौंका १९९ सहित उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ३१३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५७ प्रतिशत रहेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५८१ जना र होम आइसोलेसनमा ५ हजार ६६९ रहेका छन् । आजसम्म देशभर १० हजार ४५३ जना क्‍वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १३८ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ५७ रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ९, २०७७