मुख्य समाचार समाचार स्थानीय

फिक्कलमा सर्टडाउन, अत्यावश्यक बाहेक सबै सेवा बन्द

सुनकोशी न्युज
२०७७ साउन ३१ गते शनिबार
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले अत्याबश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । कोरोनाको संक्रमण बढ्न थालेपछि गाउँपालिका खतरामा रहेको भन्दै विभिन्न सेवा तथा कार्यमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

सस्थ्य, सुरक्षा र गाउँपालिका प्रशासनबाहेक सबै सामाजिक संस्था बन्द गर्न निर्देशन जारी गरिएको छ । बैंक, विद्यालय लगायत सबै बन्द गरिएको छ । खाद्यन्न पसल र तरकारी पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न सकिने बताएको छ । होटल रेष्टुराँहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन गरिएको छ ।

मध्यपहाडी राजमार्गमा पर्ने भएकाले उदयपुर, खोटाङ, ओखलढुंगा, सोलु, रामेछाप लगायत जिल्लासँग जोडिएको र जिल्लाकै गोलाञ्जोर, तिनपाटन, दुधौली लगायत पालिकाहरुसँग सिधा सम्पर्कमा रहने भएकाले कोरोना संक्रमणको बढी सम्भावना भएकाले निशेधाज्ञा जारी गरिएको गाउपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अत्यावश्यक काममा घरबाहिर निश्कनु परे अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने बताएको छ । एकहप्ताको लागि जारी गरिएको उक्त आदेशमा यातायातका साधनहरु पूर्ण रुपमा बन्द गरिने बतायएको छ । साथै, भिडभाड हुने सभा÷सम्मेलन, विवाह, भोज, धार्मिक कार्यक्रम, पूजा लगायत कार्यक्रम समेत नगर्न आदेश जारी गरिएको छ ।

गाउँपालिकाले एकहप्ताको लागि जारि गरेको कोरोना रोकथामको उक्त उपायलाई कसैले उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७