समाचार हेडलाईन न्युज

शैलेश थापा : नेपाल प्रहरीका नयाँ आइजिपि

सुनकोशी न्युज
२०७७ असार २३ गते मंगलबार,
काठमाण्डौं । सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरीको २८ औं महानिरीक्षक बनाउने निर्णय गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले असार २४ मा अनिवार्य अवकास पाउंदैछन् ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। महानिरीक्षकको लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो।

प्रहरी महानिरीक्षकको नियुक्तीका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भए पनि थापा र पालले भने जस्लाई सरकारले विश्वास गरेपनि मिलेर काम गर्ने सहमती गरेका थिए।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यवसायीक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा चिनिन्छन्।

धेरै आइजीपीहरुसँग सचिवालयमा बसेर काम गरेको अनुभव थापासँग रहेको छ । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता र महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए ।

सेवाको २८ वर्षसम्म उनले फिल्डमा भन्दा प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा बिताएका छन् । थापाका पिता शम्भु थापा २०५१ र ०५२ ताका डीआईजीबाट अवकाश पाएका अधिकृत हुन् ।

प्रकाशित मिति: मङ्लबार, असार २३, २०७७