अन्तर्वार्ता/विचार हेडलाईन न्युज

नेकपामा खास विवादको विषय के हो ?

बिदुर खड्का
सुनकोशी न्युज, २०७७ असार २४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकतावद्ध भएको दुई वर्ष पूरा भइसकेको छ । अघिल्लो एकवर्ष एकतामा खासै समस्या भएन । खासगरी सांगठानिक संरचना मिलाउने काममा पार्टी केन्द्रित भयो । अध्यक्ष केपी ओली सरकार प्रमुख र शारीरिक रुपमा जीर्ण भएकाले पार्टीका काममा खासै ध्यान पु¥याउन नसक्दा २०७६ मंसीरमा अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी पद दिने सहमति गरे । जसका लागि प्रचण्डले आलोपालो सरकार चलाउने भनेर २०७५ साल जेठ २ मा ओलीसँग गरिएको सहमति त्यागे । त्यसबेला प्रचण्डले पार्टी चलाउने र ओलीले सरकार चलाउने अर्को सहमति भएको थियो ।
बामगठबन्धनबाट बहुमत प्राप्त भएपछि केपी ओलीको नेतृत्वमा सरकार बनाउने कुरामा कसैको बिमति रहेन । तर पार्टी एकताको काम छिटो हुनुपरो र महाधिवेशनको तयारी गर्नुपरो भन्ने सबैको आवाज थियो । माधव नेपाल र केपी गुटको एकतामा भागबण्डा नमिल्दा एकता अहिलेका मितिसम्म गिजोल्लिएको छ । केन्द्रदेखि आधारसम्म धेरै संगठनहरु बनेकै छैनन् । पार्टीका संरचनाहरु नबन्दा स्थानीय स्तरमा काम गर्न समस्या भएको स्थानीय कमिटिका नेताहरुको गुनासो छ । तर अहिले नेकपामा देखिएको समस्या कमिटि मिलाउन नसक्नुका कारण देखापरेको होइन ।

संगठन र सरकार निर्माणमा अध्यक्ष ओलीले माधव नेपाल पक्षधरलाई धेरै पेलेको सबैले देखेकै कुरा हो । तर माधव नेपालले पनि यसपटक ओलीलाई आच्छुआच्छु पारे । कुनै पनि संगठनमा आफ्ना गुटका मान्छेलाई सुविधासम्पन्न पोजिशन दिलाउन सफल भए । सरकारमा भने नेपालपक्ष निरिह नै छ । माधव नेपालको कोटामा मन्त्री बनेका नेताहरु आफ्नो हितसमूको पक्षमा र ओलीको खराबीका बारेमा खुलेर बोल्न सक्ने अवस्थामा छैनन् । त्यसका लागि उनीहरुले मन्त्रीपद छाड्नुपर्ने हुन्छ जो उनीहरु गर्न सक्दैनन् ।

मदन भण्डारीको अवसानपछि माधव नेपालले १५ वर्षसम्म एमाले पार्टीको एकछत्र नेतृत्व गरे । त्यसबेला उनले पार्टीभित्रका आफ्ना विरोधिलाई डोजरै लगाएर पेलेको केहीको भनाई छ । त्यो बीचमा उनले झलनाथ खनाल र केपी ओलीलाई नेतृत्वमा आउनै दिएनन् । २०६४ सालको संविधानसभाको चुनावमा पार्टीले नराम्रो हार व्यहोरेपछि भावनामा बहकिएर राजीनामा दिएपछि बल्ल झलनाथ र ओलीको भाग्य चम्केको थियो । त्यसपछि भएको महाधिवेशनले झलनाथ खनाललाई पार्टीको अध्यक्ष बनायो जसमा माधव नेपालले खनाललाई सहयोग गरेका थिए । त्यसैको बलमा खनालले प्रधानमन्त्री बन्ने मौका पाए । खनालपछि समिकरण मिलाएर बल्लबल्ल ओली जिवनको उत्तरार्धमा पार्टीको अध्यक्ष बन्न सफल भए । उनी अध्यक्ष बन्दा शारीरिक रुपले अशक्त भैसकेका थिए । उनले आफ्नै पार्टीभित्र समकक्षीहरुसँग असाध्यै ठूलो संघर्ष गरेर उक्त पोजिशन हासिल गरेका हुन् ।

आफू शक्तिमा उक्लिएपछि पार्टी र सरकारको नेतत्व गर्ने सौभाग्य उनलाई मिल्यो । संजोगले राष्ट्रिय राजनीतिको माहौल पनि उनी अनुकुल बन्यो । नाकाबन्दीका कारण वाध्यात्मक अवस्थाले उनलाई नक्कली नै भएपनि राष्ट्रवादी बन्ने मौका जु¥यो । महाकाली सन्धी याद हुने मानिसले उनी प्रचार गरिएको हैसियतका राष्ट्रवादी होइनन् भनेर बुझ्ने गरेका छन् । तर सर्वसाधरणमा उनी राष्ट्रवादी भएको त्यो भ्रम रहेको छ । उनी त्यसैमा टेकेर पार्टीभित्र र बाहिर व्रम्हास्त्र प्रहार गरिरहेका छन् । आफूलाई जीवनभरि नेतृत्वमा आउन नदिने, आफ्नो गुटलाई कत्लेआम गर्ने माधव नेपालको गुटलाई ओली आफू नेतृत्वमा आएपछि गनीगनी बदला लिदैछन् । ओली बदलाको नसामा यति मस्त छन् कि जे पनि गर्न पछि नपर्ने अवस्थामा छन् ।

माओवादीसँग पार्टी एकता भएपछि प्रचण्डसँग उनको दोस्तीका कारण नेपाल पक्षले झन धेरै दबाब झेल्नुप¥यो । एकताको केही समयसम्म प्रचण्ड र ओली मिलेरै काम गरे । तर ओलीमा सत्ता र शक्तिको घमण्ड यति चुलियो कि उनले पार्टी र सरकारमा आफूबाहेक कसैलाई नेता देख्नै छाडे । आफूले जे बोलेपनि, जे गरेपनि त्यो पार्टीमा सर्वसम्मत हुनुपर्छ भन्ने दम्भ बड्यो । त्यसको परिणाम पार्टीको निर्णय समेत नमान्ने मैमत्तता देखाए ओलीले । पार्टी संगठनमा बहुमतको निर्णय वाध्यकारी हुन्छ भन्ने कुरा कसैले कसैलाई सम्झाउनु पर्ने कुरा होइन । तर ओलीले बिर्सिए । फेसबुकमा अल्छिहरुले गरेको फर्जि प्रसंसामा लठ्ठ भएर पार्टीकै निर्णय र नेताबिरुद्ध जेहाद छेड्न लागे । आफ्नो जयजयकार गर्न सडकमा संगठनका युवा उफार्न थाले । राजामहाराजालाई गर्ने जयजयकाको शैलीमा नारा घन्काउन लगाए । यसरी सडकमा आउने युवाको संख्या २५÷३० को संख्यामा हुने भएपनि उनले यो प्रहसन प्रदर्शन गर्न छाडेनन् । यसले स्थिति झनै तनावपूर्ण बनायो, दुनियाँ हँसायो । टुक्केवाजको उपमा पाएका ओलीले सडकमै भद्दा मजाक गरे ।

अर्कोतिर माओवादीका अध्यक्ष स्थानीय चुनावमा आएको नराम्रो परिणामबाट छटपटाएका थिए । त्यही ढंगले संसदीय चुनावमा जाँदा नराम्रोसँग उत्तानोटाँङ पर्ने देखेपछि एमाले वा अरु दलसँग सहकार्य गर्ने योजनामा थिए । त्यसका लागि कांगे्रस र नयाँ शक्ति पार्टीसँग पनि निरन्तर छलफलमा थिए । जनयुद्धको मर्म, भावना, आदर्श र नारा चटक्क भूलेर व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर माओवादी नेताहरु वैचारिक र राजनीतिक रुपले पतनको दिशामा जान थालेपछि अध्यक्ष प्रचण्डमा चिन्ता बढेको थियो । पार्टी उनले चाहेर पनि बचाउन नसक्ने अवस्थामा पुगेको थियो । २०६७ सालमा नारायणकाजीसँग पार्टी एकता गरेपछि किरण र बादलले बहुमत पार्टी सदस्य लिएर पार्टी फुटाएर हिडे, प्रचण्डले त्यसलाई रोक्न सकेनन् । उनको पनि पार्टीभित्रका विरोधीलाई पेल्ने शैली र आफ्ना साच्चीकै शुभचिन्तक चिन्ने नजरमा त्रुटी हुँदा उनको वरिपरि जयजयकार गर्ने सानो स्वार्थी झुण्ड मात्रै बाँकि रह्यो । पार्टीमा आफ्नो पक्षलाई अपमान गरिएको भन्दै समानान्तर कमिटि बनाएका बाबुरा भट्टराई २०७२ सालमा संविधान बनेपछि पार्टी नै त्यागेर हिडे, प्रचण्डले रोक्न सकेनन् । त्यसबेला पनि पार्टीको ठूलो हिस्सा बाबुरामसँगै गयो । यसरी, माओवादी पार्टी पहिलाको अवस्थामा थिएन, सारै कमजोर भएको थियो ।

ड्यास माओवादीमा किरण, बादल र विप्लबको त्रिपक्षीय टकरावका कारण बादल ठूलो समूह लिएर फेरि माओवादीमा फर्किए । फर्किदा उनी सहज र स्वभाविक तरिकाले फर्किएनन् । फर्कदाफर्कदै उनले माओवादीको आन्तरिक जीवन ध्वस्त बनाउनेखाले सांगाठानिक संरचनामा जान पार्टीलाई वाध्य पारे । फर्किएपछि माओवादी केन्द्रमा संगठन विभाग प्रमुख उनै थिए । पाँचहजारको केन्द्रीय कमिटि बन्यो । २÷३ सयको हाराहारीमा पोलिटव्यूरो सदस्य बनाइए । जिल्ला समितिहरु पनि हजारौंको संख्यामा बनाइन थाले । यसले पार्टी लगभग विघटनको अवस्थामा पुगेको थियो । यसैबीच देवेन्द्र पौडेलको नेतृत्वमा बाबुरामको पार्टीबाट पनि माओवादी केन्द्रमा हजारौं सदस्यहरु फर्किए । त्यसले पनि सबै संरचनामा संख्या बढायो । संख्या बढेपनि विधि र पद्दतिका हिसावले पार्टी संकटमा थियो । राष्ट्रिय राजनीतिको मूल एजेण्डाको बाहक, जननी पार्टीको हालत असाध्यै दयनीय थियो । भद्रगोल थियो । प्रचण्ड आत्तिएका थिए । यत्रो विशाल पार्टी छ, अस्तव्यस्त छ, कसरी सम्हाल्ने ? अराजकता संस्कारको रुपमा विकास भएको थियो ।
एमालेसँग चुनावी गठबन्धन गर्ने कुराले राहत दियो । यसले एमाले र माओवादी दुबै पक्षलाई राहत दियो । एमाले एक्लै लडेर चुनावमा सफल हुइन्न भन्ने निश्कर्षमा पुगेकै कारण माओवादीसँग एकता गर्न प्रेरित भएको थियो । यद्यपि, बाम एकतासँग उसको कुनै मोह थिएन । आखिर सत्तामा पुगेर लुट्ने हो, लुटमा हिस्सेदार किन बढाउने भन्ने उसको आधारभूत सिद्धान्त थियो भन्ने अहिले ओलीको कार्यशैलीले स्पष्ट पारेकै छ । खालि लुटको स्वर्ग हासिल गर्न माओवादीको बुइचढ्न थालेको ओलीगुट अन्ततः पार्टी एकताको जालमा फस्यो । त्यही भएर ओली अहलिे जीवनमा गर्न नचाहेको कार्य गरेर पलपल फसेको अनुभूति गरिरहेका छन् ।

माओवादी जनयुद्ध, माओवादी नेता, विचार, आन्दोलन, शहिद, घाइते, र माक्र्सवादमाथि निरन्तर हमला गरिरहन्छ । माओवादी र यसलाई माया गर्ने जनताको मनमा सुइरोले घोचिरहन्छ र विक्षिप्त बनाइरहन चाहन्छ । ओली गुटको एउटै भनाइ छ, बहुमत प्राप्त गर्न माओवादीसँग एकता गरेको, त्यो प्राप्त भयो, अब माओवादीको काम छैन । कि तिमी पार्टी फुटाएर जाउ, कि म फुटाउछु ।

नेपालमा बामपन्थीको बहुमत छ । यो जनताले रुचाएको लाइन हो । तर विभाजित हुँदा जहिल्यै दक्षिणपन्थीले बाजीमार्ने गरेका थिए । जनताको चाहना वाम एकता थियो । असम्भवजस्तो लाग्ने त्यो जनचाहना अहिले पूरा भएको छ । तर ओलीगुट त्यसको दुरुपयोग गर्न चाहन्छ । गुटगत स्वार्थपूर्तिमा तल्लिन छ । नियुक्तिलाई आफ्नो गुटका मान्छेको छानीछानी भर्तिकेन्द्र बनाएको छ । माहामारीमा भ्रष्टाचार गरेको छ । औषधि–उपचारका सामाग्री किन्दा अरबौं भ्ष्टाचार भएको छ । भ्रष्टाचारमा नेपाली सेनालाई प्रयोग गरेको छ । आफ्ना छोराहरुमार्फत भ्रष्टाचार गरेको छ । आफ्ना निजि कम्पनीमार्फत भ्रष्टाचार गरेको छ । सरकारको दुरुपयोग गरेर नीतिगत भ्रष्टाचार गरेको छ । नेपाल ट्रष्ट, गोकर्ण जंगल रिसोर्ट, पाथिभरा, लुम्वीनी, नेपाल वायुसेवाको वाइडबडी, नेपाल दूरसंचारको स्याटालाईट खरिदमा ७० करोडको बार्गेनिङ, विलासिताका सामान खरिदमा अरबौं खर्च लगायतका बिकृतिपूर्ण कार्यले सरकारको मात्रै नभएर पार्टिको लोकप्रियतामा गिरावट आइरहेको छ ।

आगामि चुनावमा नेकपालाई यही पोजिशन कायम राख्न मुस्किल छ । जनताको आशा र विश्वास यो पार्टी र सरकारसँग विस्तारै मर्दैै गएको छ । यसको मूल कारण भनेको सरकारको कार्यशैली हो । सहायक कारण भनेको पार्टीका सबै नेताहरुको आचरण र खराब चिन्तन पनि हो । बेमौसमको झगडा हो ।

सरकार र यसको नेतृत्व यसरी चलेपछि पार्टीको अर्को पक्ष रुष्ट बनेको छ । पार्टी सरकारकमा भएपछि पार्टीले सरकारका कामको स्वामित्व लिनुपर्छ र पार्टीले गरेका निर्णय सरकारले कार्यन्वयन गर्नुपर्छ भन्ने प्रचण्ड र नेपालपक्षको भनाइ छ । तर ओली नेतृत्वको सरकार त्यसो गर्न तयार छैन । समस्या यहाँनेर पनि रहेको छ । प्रम ओली सरकारमार्फत पार्टीलाई पेलेर राख्ने मनस्थितिमा छन् भने पार्टीका अन्य नेता उनले यसो गर्नु गलत भएकोले त्यसो गर्न नदिने अवस्थामा देखिन्छन् । अहिलेको लडाईं यहाँ पनि छ ।

ओलीका अघिल्तिर अभिएर ड्याङ ड्याङ बोल्न सक्ने कमै नेतामा बामदेव गौतम पर्छन् । उनी थोरै लोभी छन् । २०५५ सालमा एमाले फुटाएर ४५ जना सांसद लिएर माले बनाए । त्यसबेला उनले महाकाली सन्धीको बिरोधमा महाकालीसम्म हजारौं कार्यकर्तालाई मार्चपास गराएका थिए । गौतमलाई २०५६ सालको चुनावमा एक सिट पनि मिलेन । जमानत जफत भयो । त्यसपछि उनको पार्टी छिन्नभिन्न भयो । पछि उनी एमालेमा फर्किए । राष्ट्रियताको सवालमा कट्टर मानिने गौतमको चहना मर्नुअघि प्रधानमन्त्री बन्ने हो । त्यसका लागि उनले प्रयास गरिरहेको देखिन्छ । २०७४ सालको चुनावमा हारेपछि उनको सपना तुहियो । २०६६ सालमा चुनाव हारेका माधव नेपाललाई प्रचण्डले मिलाएर प्रधानमन्त्री बनाएका थिए । त्यसैगरी अहिले प्रचण्ड, ओली र नेपालले आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्ने उनको माग छ । त्यसका लागि उनी पार्टीमा कहिले ओलीको गोटी बनेका छन् भने कहिले माधव प्रचण्डको । पछिल्लो अन्तरविरोधमा प्रचण्ड र नेपालले गौतमलाई राष्ट्रियसभामा लैजान र संविधान संसोधन गरेर वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओली भड्किएका थिए । त्यही विन्दुबाट फुटेको विवादको ज्वालामुखी अहिले फैलिएर पार्टी समाप्त पार्ने दिशामा अग्रसर छ । गौतमलाई नेपाल–प्रचण्डले अघि सारेपनि ओलीले फकाएपछि त्यसबेला विवाद सामसुम भएको थियो ।

असार १० गते सुरु भएको स्थायी समितिको बैठकमा यो विषयले फेरि प्रवेश पायो । स्थायी समितिको बैठकमा सदस्यहरुले ओलीको आलोचना गरे । त्यसपछि ओलीले भारत र नेकपाका केही नेता मिलेर आफूलाई सत्ताबाट हटाउन लागेको अभिव्यक्ति दिए । त्यो अभिव्यक्तिले उनलाई थप अप्ठेरोमा पा¥यो । ३१ जना स्थायी समितिका सदस्यले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखे । अहिले राजीनामा दिने र नदिने भन्ने विवादका बीच स्थायी समितिको बैठक अनिश्चित भएको छ भने पार्टी फुटको संघारमा पुगेको छ । प्रम ओलीले आफूले एउटा पद पनि नछाड्ने अडान त्यागेका छेनन् । छाड्नुपरे बरु अध्यादेश ल्याएर पार्टी फुटाउने भनेर त्यसको तयारी सुरु गरेका छन् । यसअघि बामदेवलाई आफ्नाविरुद्ध अघि सारिएपछि उनले पार्टीफोड्न सजिलो हुने अध्यादेश ल्याएर व्यापक विरोध भएपछि फिर्ता गर्न वाध्य भएका थिए । नेकपाको विवादभित्र भारत, चीन र अमेरिकी कुटनिितज्ञले बाक्लो चलखेल सुरु गरेका छन्, जुन नेपाली सार्वभौमिताको लागि खतरनाक सावित हुनसक्छ ।
ओलीले दुबै पद राम्रोसँग चलाउन नसकिरहेको अवस्थामा एउटा पद पनि छाडिदन भन्नु आफैंमा समस्या झन बल्झाउनु हो । तर ओलीको राजीनामा माग्ने पक्षले पनि उनले दुबै पदबाट राजीनामा दिनुको चित्तबुझ्दो कारण अहिलेसम्म पेस गर्न सकेको छैन । जुन कारणले राजीनामा मागिएको छ, ती कारण यसअघिका सरकारमा पनि थिए र यसपछि बन्ने सरकारमा पनि विद्यमान रहने निश्चित छ । आफ्नो पार्टीको बहुमत भएका बेला आफ्नै पार्टीले बनाएको सरकार ढाल्न खोज्नुको कारण पक्कै पनि गतिलै हुनुपर्छ होला ।

यो सरकार २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले चलाएको बहुमतको सरकारको हारहारी, अर्थात २९ महिना सरकार चलाउन सफल सरकार हो । यसका नराम्रा काम धेरै छन् । तर सापेक्षित रुपमा राम्रा कामहरु पनि धेरै छन् । ओलीका समकक्षीलाई यही सरकारको नेतृत्व गर्ने लालसा पलाएको हुनसक्छ । तर त्यति नै कारणबाट ओली सरकारले राजीनामा दिनुपर्छ भन्ने तर्कले काम गर्दैन । आफ्नै पार्टीको सरकार ढाल्ने जस्तो नैतिकतासँग जोडिएको काम गर्न कारण गतिलै चाहिन्छ । राजीनामा माग्नुको कारणबारे जनताको लेबलमा बुझाई त्यति गतिलो छैन । लामो समय सत्ताबाट बाहिर बस्नुपरेको वा कसैलाई प्रधानमन्त्री बन्न रहर लागेको महत्वकाँक्षा पूरा गर्नकै लागि ओलीले राजीनामा दिनुपर्ने भन्ने हुदैन ।

त्यसैले विवादको चुरो नेपाल–ओलीबीच रहेको पुरानो टसल हो कि ? प्रचण्ड र ओलीबीच भएको पार्टी र सरकार आलोपालो चलाउने सहमतिको कार्यन्वयन हो की ? वामदेव गौतमको आकांक्षा हो कि ? ओलीका कारण पार्टी र देश साच्चै बर्वाद भयो भन्ने साझा चिन्ता होकि ? नेपालको नयाँ नक्सा र नागरिकता विदेयक हो कि ? कोरोना माआमारी हो कि ? जबज हो कि ? एक्काइसौं सताब्दीको जनवाद हो कि ? जनयुद्धकालको मनोमालिन्य हो कि ? ओलीको तानाशही कार्यशैलीले पैदा गरेको समस्या हो कि ? वा अरु नेतामा पैदा भएको सत्तालालसा ? यो कुराको छिनोफानो पनि हुनुपर्ने देखिन्छ ।

पार्टीको विवाद फुटको संघारसम्म पुग्दा यो वीचमा विचारको विवाद र बहस भने कतै देखिएको सुनिएको छैन । राजनीतिक लाइन र कार्यदिशाको बहस कहींकतै भएको देखिदैन । जबज र एक्काइसौं सताब्दीमा जनवादको अभ्यास अहिले स्थगनमा छन् । तर पार्टी फुटोन्मुख छ । नीति र विचारमा विवाद वा छलफल छैन, तर पार्टी फुटोन्मुख छ । यसलाई हामी भन्न सक्छौं–सत्तामोह र व्यक्तित्वको टकराव नै अहिलेको समस्याको मूल जड हो । तँ भन्दा म ठूलो भन्ने दम्भ पनि अहिलेको समस्याको कारण हो । नेतृत्वलाई देवत्वकरण गर्ने र नेतामा आफूलाई भगवान सम्झीने नियती अहिलेको समस्या हो । आँखा चिम्लिेर जयजयकार गर्ने, सही र गलत भेदगर्न नसक्ने अंधा कार्यकर्ता अहिलेको समस्या हो । विचार, नीति, विधि र कार्यदिशाबारे नबुझ्ने, बुझ्न नखोज्ने र बुझ्नै नचाहने कार्यकर्ता र त्यही भद्रगोलमा आफूअनुकुल गोल गर्नखोज्ने नेतृत्व अहिलेको मूल समस्या हो । पानी धमिलो बनाएर माछा मार्न खोज्ने चरित्र अहिलेको समस्या हो ।

यी विषय कार्यकर्ता र जनताले पनि बुझेका छन् भन्ने नेतृत्वले महसुस गर्दै आ–आफ्नो भागको त्रुटी सच्याउने र मिलेर अघि बढ्ने दिशामा गएर दिनु पर्ने हुन्छ । त्यसका लागि सबै तहका कार्यकर्ताले जबरजस्त दबाब सिर्जना गर्नुपर्ला न कि पक्ष वा विपक्षमा सडकमा निश्केर नाराजुलुस र ग्याङफाइट । नेताको समर्थनमा वा विरोधमा सडकमा ग्याङफाइट गर्ने कार्यकर्ता र त्यसो गर्न लगाउने नेता यो पार्टीका लागि सबैभन्दा खतरनाक भाइरस हुन् । त्यसले कसैलाई पनि राम्रो गर्दैन । त्यसको निर्मूलीकरण अत्यावश्यक छ । जागौं र पार्टी जोगाऔं । जनताको विशवासमा तुषारापात हुन नदिनु हाम्रो पनि कर्तव्य हो ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७