मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

सुनकोशीमा ६ जना दलित र ४ जना महिला विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सुनकोशी न्युज,
२०७७ असार २१ गते सोमबार,
सिन्धुली, सुनजकोशी । प्राविधिक शिक्षा अध्ययन गरिरहेका १० जना विद्यार्थीलाई सुनकोशी गाउँपालिकाले जनही ७० हजार रुपियाँका दरले छात्रबृत्ति प्रदान गरेको छ । यसरी छात्रबृत्ति पाउनेमा छ जना दलित र चार महिला विद्यार्थी रहेका छन् ।

सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले सोमबार आयोजित कार्यक्रममा छात्रबृत्ति रकमको चेक प्रदान गर्नुभएको छ । सो अवसरमा उपाध्यक्ष दिर्वसिं मुक्तान, प्रमुख प्रशासकीय अधिकृत बिकाश सुन्दास, सुनकोशी दलित सेवा समितिका अध्यक्ष केशब लोहारको समेत उपस्थिति रहेको थियो ।

यसरी, छात्रबृत्ति पाउनेहरुमा सुनकोशी गाउँपालिका वडा नम्बर ६ का सुसान्त तोलङ्गे, अशोक तोलङ्गे, दिलिप तोलङ्गे, आस्था कार्की, गीता श्रेष्ठ र यमुना श्रेष्ठगरी छ जना रहेका छन् । त्यस्तै, वडा नम्बर ५ का मनोज विसुन्के, प्रविन बसेल र देवराज वैंजु गरी तीन जना छन् । यसैगरी, वडा नम्बर ३ की प्रमिला भट्टराईले ७० हजार रुपियाँ छात्रबृत्ति प्राप्त गर्नुभएको छ ।

सो छात्रबृत्तिका लागि गाउँपालिकाले २०७६ पुस १३ मा सूचना प्रकाशन गरेको थियो । सूचनाअनुसार प्राप्त निवेदनको छानविन, स्थलगत निरीक्षणसमेतका आधारमा सो छात्रबृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, असार २२, २०७७