जीवनशैली समाचार हेडलाईन न्युज

‘सत्तामा पुगेपछि कहिल्यै हट्नु पर्दैन भन्ने दम्भ पैदा भयो’ : नेपाल

सुनकोशी न्युज, २०७७ असार १५ सोमबार

काठमाण्डौं । नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले नेताहरुमा सत्तामा पुगेपछि कहिल्यै हट्नु पर्दैन भने जस्तो दम्भ पैदा भएको बताए । जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

नेकपा काठमाण्डौं जिल्लाले कोटेश्वरको मदन बाटिकामा आयोजना गरेको जन्मजयन्तीभा तथा दिप प्रज्वलन कार्याक्रममा बोल्दै नेता नेपालले पार्टीका नेताहरुले मदनको विचार र मार्गलाई दुरुपयोग गरेको बताए ।

उनले मदनलाई सत्तामा पुग्ने भ¥याङ मात्रै बनाइएको र सत्तामा पुगेपछि उहाँका सबै आदर्श भूलेर जनभावनाबिपरित दम्भ र सामन्ती चरित्र देखाउने गरेको आरोप लगाए । पञ्चायति निरंकुशतको बिरुद्ध लडेको पार्टीका नेताहरुमा निरंकुश बन्ने रहर पलाउनु दुर्भाग्यपूर्ण भएको नेता नेपालको तर्क छ ।

संसारभरि कम्युनिष्ट पार्टीप्रति भ्रम सिर्जना भएको र लोकप्रियता खस्कदै गएका बेला मदनले नयाँ विचार र मार्गदर्शन गरेर कम्युनिष्ट पार्टीलाई दरो बनाएको उनले बताए । सधैं बिद्रोह मात्रै भन्ने कम्युनिष्टले सत्ता र संसदको प्रयोग गर्ने भने पनि कसरी प्रयोग गर्ने भन्ने स्पष्ट खाका नभएको बेला उनले संसद र सत्तालाई यसरी प्रयोग गरेर जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने नयाँ मोडल बनाएको नेपालको तर्क छ ।

जनताको बहुदलीय जनवाद नामक राजनीतिक कार्यक्रम ल्याएर संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थामा कम्युनिष्ट पार्टीले सरकारमा कसरी साझेदारी प्राप्त गर्न सक्छ भन्ने बाटो मदनले नै देखाएको उनले बताए ।
कार्यक्रममा भूमिसुधार तथा सहकारी मन्त्री पद्यमा अर्याल, नेकपा बागमति प्रदेशका अध्यक्ष नारायण दाहाल लगायत दर्जनौं नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले पुष्पगुच्छा अर्पण गरेर तथा दियो जलाएर मदन भण्डारीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वि.सं. २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मीएका मदन भण्डारीको वि.सं. २०५० साल जेष्ठ ३ गते चितवनको दासढंगामा हत्या भएको थियो । उनीसँगै तत्कालिन एमालेका संगठन विभाग प्रमुख जिवराज अश्रितको पनि हत्या भएको थियो । नेताहरुलाई हत्यागरी उनीहरु चढेको गाडी सहित त्रिशुली नदीमा फलिएको थियो । घटनामा जिवित गाडीचलक निर्मल लामाको केही समयपछि काठमाण्डौंमा हत्या भएको थियो । लामाको हत्या भएपछि घटना झनै रहस्यमय भएको थियो ।

हत्याको छानबिन गर्न वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको एकल नेतृत्वमा छानबिन समिति बनाइए पनि उनले आजसम्म प्रतिवेदन पार्टीलार्ई बुझाउन सकेका छैनन् । घटनाको २७ वर्षसम्म प्रतिवेदन बुझाउन नसक्नुमा ओलीको क्षमता र नियतमा जनताले आशंका गर्ने गरेका छन् ।

मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी अहिले दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति छिन् । कार्यक्रमका केही फोटोहरु :

 

प्रकाशित मिति: सोमवार, असार १५, २०७७