बागमती हेडलाईन न्युज

काठमाडौँ महानगरले थाल्यो रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम, माइतीघर मण्डलाबाट परीक्षण

काठमाडौं । काठमाडौं महानगरले झिलीमिली काठमाडौं कार्यक्रमलाई परीक्षणका रुपमा अघि बढाएको छ । ‘रात्रीकालीन सहरी सौन्दर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि माइतीघर मण्डला क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरिएका हुन् । पूर्यको प्रकाशको घट्दै गएपछि स्वचालित रुपमा आफैं बल्ने यस्ता बत्तीका कारण मण्डला क्षेत्र मनमोहक हुन थालेको छ ।

सहरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने कार्यक्रममध्येको रात्रीकालीन सौन्दर्य बढाउने कार्यक्रम एउटा हो । महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली भन्नुहुन्छ — अहिले परीक्षणका लागि मानिसहरुको धेरै चहलपहल र आवत–जावत हुने माइतीघर मण्डलामा हामीले नमूना परीक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ । यसको सकारात्मक प्रतिक्रिया पाएका छौं । उहाँ कार्यक्रमका बारेमा थप्दै भन्नुहुन्छ — विश्वका ठूला सहरहरुले रात्री जीवनलाई प्रोत्साहन गर्न रङ्गीन बत्तीहरुको संयोजन मिलाएका हुन्छन् । काठमाडौंलाई बिश्वका यस्ता ठूला सहरको ठाउँमा पु¥याउन यस प्रकारका कार्यक्रम आवश्यक छन् ।

यसबाट सन्ध्याकालमा बाहिर निस्कने र रात्रीकालीन जीवन पछ््याउनेहरुलाई आनन्दित बनाउँछ । यस्तै रात्रीकालीन सहरी सुन्दरतालाई बढाउँछ । सहसचिव ज्ञवाली भन्नुहुन्छ — यसबाट सहरबासीले समृद्धिको अनुभूति गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौं । माइतीघर मण्डलाको झिलीमिलीबाट सकारात्मक प्रतिक्रिया पाएपछि महानगर आगामी दिनमा धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचीमा रहेका स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने योजनामा छ । सहसचिव ज्ञवालीकाअनुसार ‘केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत बत्ती जडान हुनेछन् । झिलीमिली काठमाडौं कार्यक्रम रातमा पनि जागा सहरको सूचक हो । यसले रात्रीकालीन व्यवसायबाट अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पु¥याउँछ ।

महानगरले फुटपाथ पसल सञ्चालनमा रोक लगाएर सडक किनारालार्य पैदल यात्रामैत्री बनाउने योजना बनाएको छ । सडक किनारामा हिँड्दा आनन्दको अनुभूति गराउन रात्रीकालीन झिलीमिलीको ठूलो भूमिका हुनेछ । माइतीघर मण्डलाबाट अब तीनकुनेसम्मको सडक किनारामा झिलीभिली बनाइनेछ । त्यसपछि क्रमशः नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि बत्ती जडान गरिनेछन् । महानगरले आगामी बर्षमा रङ्गीचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो असोज – कार्तिक महिनासम्ममा सहरका पाँच–सात ठाउँमा बत्ती जडान गर्ने लक्ष्य राखिएको सहसचिव ज्ञवालीको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले आ. व. २०७७/०७८ को नीति तथा कार्यक्रममा बत्तीसँग सम्बन्धित कार्यक्रम राखेको छ । प्रमुख चोकहरुमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईट जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने, मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास बत्ती जडान गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

मण्डलाको संकेत
शुभ कार्यको प्रतीक मण्डलालाई नेपाल मण्डलको सांस्कृतिक बिम्बका रुपमा निर्माण गरिएको हो । पछिल्लो समय यस क्षेत्रमा दिनहुँ हुने फरक–फरक प्रकारका आन्दोलन, धर्ना, अनशन र खवरदारी सभाले मण्डलाको पहिचान राजनीतिक गतिबिधिसँग पनि जोडिन थालेको छ ।
पहिचान फरक फरक बनाएको छ । त्यति मात्र होइन विभिन्न महत्वपूर्ण घटनाको सम्झना गर्नका लागि होस् या केही शुभ सन्देश दिन गरिने दीप प्रज्वलनका कारण । माइती घर मण्डलाले परिचान बनाएको छ । कारण जे होस्, माइतीघर मण्डला काठमाडौंका चर्चित स्थानमध्येको एक बनेको छ ।

मण्डला र बत्तीबीच अन्तरनिहित सम्बन्ध छ । बत्ती वा प्रकाश बिनाको मण्डला जसरी अधुरो हुन्छ । त्यसै गरी मण्डला बिना एक्लो बत्ती पनि अधुरो रहन्छ । घरमा गरिने सानातिना पूजाआजामा पनि बत्ती राख्न मण्डला बनाउने गरिन्छ ।
सांस्कृतिक रुपमा अन्तरसम्बन्ध रहेका मण्डला र बत्तीलाई झिलीमिली काठमाडौं कार्यक्रमको परीक्षणका रुपमा प्रयोग गरिएको छ । यसबाट सबैले लाभ हुने, सबैलाई अपनत्व ग्रहण हुने परिणाम आउने महानगरले अपेक्षा गरेको छ ।-चन्द्रमणि भट्टराई

प्रकाशित मिति: आइतवार, असार १४, २०७७