जीवनशैली समाचार हेडलाईन न्युज

अध्यक्षद्वयको आसनमा भिम रावलको आपत्ति

सुनकोशी न्युज, २०७७ असार १२ गते शुक्रबार
काठमाण्डौं । असार १० गतेदेखि बालुवाटारमा जारी नेकपा स्थायी समितिको बैठकमा दुई अध्यक्ष बस्ने आसनको विषयलाई लिएर बैठकमा प्रश्न उठाइएको छ । नेता भिम रावलले अन्य सदस्यहरुको कुर्सीभन्दा अध्यक्षद्वयको लागि राखिएको कुर्सी फरक भएपछि उनले यस्तो किन भनेर प्रश्न गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुन लाग्दा कुर्सीको विषयमा कुरा उठेको हो । अध्यक्षहरुका लागि अघिल्लो रोहमा सोफा राखिएको थियो भने त्यसको अघिल्तिर अन्य सदस्यहरुका लागि सामान्य कुर्सी राखिएको थियो ।

रावलले समानताको कुरा गर्ने कम्युनिष्ट पार्टीको बैठकमा आसनमै यस्तो स्पष्ट देखिने विभेदले सामन्तवादको झल्को दिएको प्रतिक्रिया दिएका थिए ।

अध्यक्षहरुले पनि अन्य सदस्यसरह कुर्सीमा बसेर बैठकमा सहभागी हुन किन नहुने भनेर बैठकमै कुरा उठेपछि सोफा हटाएर उक्त स्थानमा अन्य सदस्य सरह कुर्सी राखिएको थियो ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सामान्य कुर्सीमै बसेर बैठक संचालन गरेका थिए । अर्का अध्यक्ष प्रम केपी ओली बैठकमा सहभागी नै भएनन् ।

उनी कुर्सीकै कारण सहभागी नभएका हुन् वा अन्य कारणले भन्ने कुरा अझै खुलेको छैन । तर असार १० गतेको बैठकमा ओली सहभागी थिए, जहाँ कुर्सीबारे कुरा उठेको थिएन तर उनको खराब कार्यशैलीको कडा आलोचना भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७