समाचार हेडलाईन न्युज

गृह मन्त्रालयबाट लकडाउनको नयाँ मापदण्ड जारी, राती १० बजेदेखि विहान ५ बजेसम्म हिड्न निशेध

सुनकोशी न्युज, २०७७ असार ५ गते शुक्रबार,

काठमाण्डौं । गृह मन्त्रालयले बन्दाबन्दी बारे नयाँ नियम जारी गरेको छ । अबदेखि राती १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने भएको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो।

२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन असार १ गतेदेखि केही खुकुलो भएपछि गृहमन्त्रालयले अनावश्यक हिँडडुल गर्नेमाथि कडाई गर्ने निर्णय गरेको हो।

गृहको सुरक्षा मापदण्डमा विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ। सुरक्षा मापदण्डमा उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ। गृहले सकेसम्म घरभित्रै बस्न र अत्यावश्यक काम नपरेसम्म हिँडडुल नगर्न भनेको छ।

मन्त्रालयबाट जारी नयाँ मापदण्डमा विवाह व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू गर्ने पर्ने अवस्थामा तोकिएको सामाजिक दूरी कायम गर्नुपर्ने र १५ जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

नयाँ मापदण्डमा मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले चालक, सहचालक बाहेक अन्य कुनै पनि यात्रु ओसारपसार नगर्नेसमेत उल्लेख छ ।

बन्दाबन्दीलाई_व्यवस्थित_गर्ने_सम्बन्धी_सुरक्षा_मापदण्ड_२०७७
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७