बागमती हेडलाईन न्युज

सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउन मेयर शाक्यको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । बन्दाबन्दीका बेला पनि बैकल्पिक माध्ययमबाट पठन–पाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने उदेश्यले काठमाडौँ महानगरपालिकाले मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जमार्फत आजबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष बिद्यासुन्दर शाक्यले राष्ट्रियसभा गृहमा रहेको एफ. एम.बाट रेडियो शिक्षा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । ‘मुलुकमा जारी लकडाउनका कारण नियमित पठन–पाठन गराउन सम्भव नहुने भएका कारण घरमै बसिरहेका विद्यार्थी भाइ–बहिनीहरुलाई बैकल्पिक शिक्षा प्रदान गर्ने उदेश्यले काठमाडौँ महानगरपालिकाले आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा सुरु गरेको हो,’ प्रमुख शाक्यले भन्नुभयो, ‘यसले सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि सहयोग पुग्ने अपेक्षा लिएका छौँ । उहाँले रेडियो शिक्षालाई सुझाव आधारमा थप प्रभावकारी बनाउँदै लैजाने पनि जानकारी दिनुभयो ।

प्रमुख शाक्यले रेडियो कार्यक्रम शुभारम्भपछि शिक्षा बिभागका अधिकारी र प्रधानाध्यापकहरुसँग कुराकानी गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो । ‘ पूर्वाधार उपलब्धताका दृष्टिले पनि महानगर क्षेत्रभित्रकाका संस्थागत र सामुदायिक बिद्यालयकाबीचमा अन्तर नहोस्,’ उहाँले भन्नुभयो, ‘कोभिड–१९ को संक्रमण र रोकथाम नियन्त्रणका लागि जारी लकडाउनका कारण बिद्यालयहरुमा शैक्षिक कार्यक्रम अहिले बन्द छन् । यही बेला पूर्वाधार सुधारको कामलाई निरन्तरता दिनुहोला ।’

प्रमुख शाक्यले उलडकडाउनका कारण शिक्षक, बिद्यार्थी र अभिभावकले पारिवारिक व्यवस्थापनका लागि आर्थिक र सामाजिक समस्यासँग जुधिरहेको अवस्थामा उहाँहरुलाई सामान्य जीवनप्रति उत्साहित गराउन र शैक्षिक गतिबिधिलाई निरन्तरता दिन पनि रेडियो शिक्षा कार्यक्रम प्रभावकारी हुन सक्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सामूदायिक विद्यालयमा एकै प्रकारको रंगरोगन गर्नेलगायतका कामलाई समेत बन्दाबन्दीका बेला पनि निरन्तरता दिदैँ आएको छ । त्यस्तै सामुदायिक विद्यालय भित्रका खुला स्थानहरुलाई धुलोमुक्त बनाउने, फलफुलका विरुवा रोप्ने, लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय निर्माण गर्ने, शुद्ध पिउने पानीको व्यवस्था गर्ने, खुला क्षेत्रमा पानी पुनर्भरण (रिचार्ज) गर्ने, फोहोरमैला राख्ने भाँडोको प्रवन्ध गर्ने, सबै विद्यालयमा बालमैत्री चित्र र महावाणी लेख्ने एवं एउटै रंग लगाउने कार्यक्रम सञ्चालन गर्ने जस्ता नीति लिएको छ ।

शाक्यले ती कार्यलाई पनि निरन्तरता दिन आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीले निम्त्याएका समस्यामध्ये शैक्षिक सत्र व्यवस्थापन प्रमुखमध्येको एक समस्या भएको भन्दै यसलाई सहज बनाउँदै लैजाने बताउनुभयो ।
सूचना प्रबिधि बिभागका निमित्त प्रमुख युवराज खनालले महानगरपालिकाले सञ्चालन गरेको मेट्रो एफ. एम. बाट दैनिक आधारभूतदेखि कक्षा १० सम्मका कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसाररेडियो शिक्षाका लागि कक्षा १ देखि ३ सम्मका लागि २५ मिनेट र कक्षा ४ देखि १० सम्मका लागि ३० मिनेटको समय उपलब्ध गराइएको छ ।

काठमाडौँ महानगरपालिका शिक्षा विभागकाअनुसार आजबाट शुरु गरिएको रेडियो शिक्षा कार्यक्रमका लक्षित श्रोता सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बालबालिका हुन् । महानगरपालिका भित्र ९१ वटा सामुदायिक बिद्यालय र ३ वटा विशेष विद्यालय छन् । त्यस्तै ६ सय ४३ वटा संस्थागत विद्यालय छन् । बिभागका कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै अधिकृत मोतीप्रसाद भट्टराई भन्नुहुन्छ — महानगर क्षेत्रसँगै नजिक मेट्रो एफ. एम. को पहुँच भएका नगरपालिका र जिल्लाका विद्यार्थी पनि यो शिक्षाबाट लाभान्वित हुने अपेक्षा लिएका छौ ।
बिभागका अनुसार रेडियो शिक्षा कार्यक्रममा नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या र वातावण, पेशा व्यवसाय र प्रविधि बिषय समावेश गरिएका छन् । यसैगरी कक्षा १ को एकीकृत पाठ््यक्रम अनुसारका नेपाली, अंग्रेजी र मेरो सेरोफेरो विषय पनि समावेश हुनेछन् ।

रेडियो शिक्षा कार्यक्रमलाई विस्तार र स्तरउन्नति गर्दै अनलाइनमा आधारित प्रयोगात्मक र प्रदर्शनात्मक कक्षा चलाइनेछ । त्यस्तै कार्यक्रमको मुल्याङ्कन र प्रभावकारिता बिश्लेषणका लागि प्रबधिमा आधारित प्रणाली बिकास गरिनेछ । अहिलेको कार्यक्रम शैक्षिक सत्र २०७७ को अन्तिम नतिजा समेत प्रकाशन गर्ने लक्ष्यसहित सुरु गरिएको विभागको भनाई छ ।

रेडियो शिक्षा कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षकहरुले गर्नुहुनेछ भने रेडियोकर्मीहरुले सहजीकरणको काम गर्नुहुनेछ । दैनिक कक्षा शिक्षक व्यवस्थापन गर्ने, बिषय तालिका मिलाउने, दैनिक पाठ योजना स्वीकृत गर्नका लागि २ तह बनाएर जिम्मेवारी दिइएको छ । जसमा कक्षा १ देखि कक्षा ६ सम्मको संयोजन सरस्वती निकेतन मा. वि. का प्रधानाध्यापक रविना महर्जनले र कक्षा ७ देखि १० सम्मको संयोजन बिश्व निकेतन मा. वि. का प्रधानाध्यापक हेरम्बराज कंडेललाई जिम्मा दिइएको छ ।- चन्द्रमणि भट्टराई

प्रकाशित मिति: बुधबार, जेष्ठ २८, २०७७