पर्यटन समाचार हेडलाईन न्युज

दुम्जाको विपिपार्क र कमलामाई–६ को नमूना पर्यटकीय पार्क निर्माणमा संघको बजेट

सुनकोशी ज्युज, २०७७ ज्येष्ठ २५ गते आइतबार,
सिन्धुली । कमलामाई नगरपालिका–६ को, ट्राफिकचोकपछाडि नमूना पर्यटकीय पार्क निर्माण हुने भएको छ । संघीय सरकार, शहरी विकास मन्त्रालयले सो पार्क निर्माण गर्न लागेको हो ।

१०० रोपनी क्षेत्रफलमा फैलिएको सो पार्क निर्माणका लागि १४ करोड रुपैंया लाग्ने पार्कको डिपिआर तयार पार्ने संस्था ‘जल पूर्वाधार एवं भौतिक सांस्कृतिक पर्यटकीय विकास नेपालल’ का अध्यक्ष पुष्पराज पाण्डेले जानकारी दिए । पार्क निर्माणस्थल सिन्धुलीमाढी बजारक्षेत्रभित्र पर्दछ ।

गत आ.व. २०७६÷७७ मै सिन्धुली–२ का संघीय सांसद हरिबोल गजुरेलले शहरी विकास मन्त्रालयका प्रतिनिधि र संस्थाका अध्यक्ष पाण्डेलाई पार्क निर्माणस्थलको भ्रमण गराएका थिए । भ्रमणका क्रममा बजारक्षेत्रका सरोकारवाला स्थानीय प्रतिनिधिहरुसँग सार्वजनिक सुनुवाई समेत गरिएको थियो । पार्क निर्माणका लागि सबै उत्साहित भएर सहयोग गर्ने भनेपछि उक्त स्थानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।

गौमति उच्च मावि, भगवति बोर्डिङ स्कुल, सिद्धस्थली स्कुल र गौमति क्याम्पसको आगनमा निर्माण हुनलागेको यो पार्क बजारक्षेत्रका स्थानीयका लागि मात्रै नभएर सबैका लागि पर्यटकीय गन्तव्यको रुपमा निर्माण हुने सांसद गजुरेलको तर्क छ ।

दुम्जा धरनीडाँडामा विपि पार्कलाई ३ करोड ९० लाख विनियोजन :

सुनकोशी गाउँपालिका दुम्जा धरनी डाँडामा निर्माणाधिन विपि पार्कका लागि शहरी विकास मन्त्रालयले ३ करोड ९० लाख विनियोजन गरेको छ । जम्मा १७२० पेरिमिटर क्षेत्रफल रहेको पार्क निर्माण तथा अधिग्रहण गरिएको जग्गाको मुअब्जा वितरणका लागि सो रकम विनियोजन गरिएको हो ।

नेपाल सरकारको लगभग २ अर्ब लगानीमा बन्न लागेको पार्क १७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो मध्य ८० रोपनी जनताको नम्बरी जग्गा मुअब्जा दिएर अधिग्रहण गरिएको छ । बाँकी वरिपरिको सार्वजनिक जग्गा अधिग्रहण गरिएको हुँदा पार्कको क्षेत्रफल १८५ रोपनीभन्दा बढी हुने स्थानीय वासिन्दा बच्चु कोइरालाले बताए ।

युगपुरुष नेता तथा साहित्यकार विशेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला र मातृकाप्रसाद कोइरालाको पितृभूमि सिन्धुली, केशेश्वर दुम्जाको धरनीडाँडामा निर्माण गर्न लागिएको पार्क विपि राजमार्गबाट ३÷४ किलोमिटरको दुरीमा रहेको छ ।

दुम्जा–मरिण–लालबन्दी वैकल्पिक राजमार्गले नेपालथोकबाट सो पार्कलाई जोडेको छ । रामेछापको भंगेरीमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा पार्क निर्माण गरिदैछ । सोही स्थानबाट दुम्जा हुदै मरिणमा बन्न लागेको विशाल–कुमार स्मृति पार्कसम्म पर्यटकीय विकासका लागि सिन्धुली र रामेछापका राजनीतिक नेतृत्व लागेका छन् । सोही अभियानको रुपमा दुम्जामा विपि स्मृति पार्क निर्माण कार्य जारी रहेको छ ।

यसैगरी शहिद ऋषिराज देवकोटा आजादको दुम्जास्थित जन्मघर, जन्मथलो संरक्षण गर्ने र स्मृतिपार्क निर्माण गर्न सिन्धुली–२ का संघीय सांसद हरिबोल गजुरेल लागिपरेका छन् । गजुरेलको सक्रियतामा आजादको घरजग्गा किन्ने, जग्गा प्राप्ती गर्ने र पार्क निर्माण गर्ने काम अघि बढीरहेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २५, २०७७