समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीमा ७ नयाँ पक्की पुलको डिपिआर बन्ने, आरुबोटेखोलामा पक्की पुल बन्दै, केही झोलुङ्गे पुलका नयाँ योजनाहरु

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २६ गते सोमबार,
सिन्धुली । सुनकोसी गाउँपालिका वडा नं. ६ बाट अमारे गौखर्क जोड्ने सडकमा पक्की पुल बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको पुल महाशाखाले उक्त पुल बनाउन लागेको हो ।

स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना अन्तर्गत (व.उ.सि.नं. ३६५०११०६) आ.व. २०७७/७८ मा बन्न लागेको उक्त पुललको डिपिआर तयार पार्ने र निर्माण कार्य सँगै हुने बताइएको छ । पुलको लागि हाल १५ लाख विनियोजन गरिएको भएता पनि निर्माणको क्रममा डिपिआर बनेपछि अनुमानित लागत विभागले व्येहोर्ने छ ।

सिन्धुली–२ का संघीय सांसद हरिबोल गजुरेलको विशेष पहलमा उक्त पुल निर्माण हुन लागेको हो । गत दुईवर्षदेखिको लगातार प्रयासपछि यसपटक आरुबोटेखोलामा पक्की पुल बन्ने पक्का भएको हो । मन्त्रालयले आ.व.२०७७/७८ को वार्षिक बजेट कार्यक्रममा उल्लेख गरेपछि पुल बन्ने निश्चित भएको हो ।

स्थानीय पूर्वाधार विकास विभाग (डोली) ले यसअघि निर्माण गर्न सुरु गरेका अन्य धोवीखोला सडकपुल, क्यानखोला सडकपुल, फेदी कुमराहाखोला पुल, लंगुरखोला पुल, बाक्सुखोला पुल, ग्वाँङखोला चुवाबोटे पक्कीपुल, जिनाखुखोला पक्की पुल, दुधौलीको कत्लेखोलामा पुल, ठाडोेखोलामा पुलहरुको निर्माणलाई पनि निरन्तरता दिएको छ । ग्वाँङखोला चुवाबोटे हिरापानीमा बन्न लागेको पक्कीपुल कमलामाई नगरपालिकाको रिङरोडमा पर्छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुलीमा सातवटा पक्की पुलको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने भएको छ । रणनीतिक सडक पुलहरुको विस्तृत संभाव्यता अध्ययन (व.उ.सि.नं. ३३७०११२३) अन्तर्गत यी पुलहरुको विस्तृत संर्वेक्षेण प्रतिवेदन तयार पार्न लागिएको हो ।

यसरी डिपिआर तयार पार्न लागिएका पुलहरु यस प्रकार छन् :

(१) कालिखोला नेत्रकालीपक्की पुल
(२) तामाजोरखोला पुल, हायुटार शान्तेश्वरी रामपुर जाने बाटो
(३) सुनकोसी ३ कालिमाटीबाट वडा ४ डुडे जोड्ने भित्रीखोलामा पक्की पुल
(४) सिन्धुली जिल्ला तीनपाटन गा.पा. मझुवा दोभानमा भालुखोलामा पुल
(५)कालिखोला पुल, घ्याङलेक वडा नं. ५, रामपुर, सिन्धुली
(६) फिक्कल गा.पा.वडा नं. ४ ओखलढुंगा जोड्ने सुनकोसी नदीमा पुल,
(७) घाघरखोला पुल, कमलामाई नपा. १ र मरिन गापा. ५ बीच जोड्ने ।

डिपिआर निर्माण कार्य सम्पन्न भएपछि यी सबै पुलहरु निर्माणमा जाने सडक विभाग, पुल महाशाखाका निर्देशक ई.दिपक भट्टराइले बताए ।

गत वर्षको कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेबासबाट वडा नं. ६ धुराबजार जोड्ने बाटोमा पर्ने ग्वांङखोलामा र वडा नं. १० को चदाहाखोलामा पक्की पुल निर्माण गर्ने योजना अनुसार ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको निर्देशन भट्टराईले जानकारी दिए ।

सिन्धुलीमा झोलुङ्गे पुल :

सिन्धुलीमा झोलुङ्गे पुलका नयाँ तथा पुराना आयोजनाहरुलाई मन्त्रालयले यसपालि पनि निरन्तरता दिएको छ ।

घाघरखोला पिउरी दोभान, सिन्दुरे दोभान र जखनीमा बन्न लागेको तीनवटा झोलुङ्गे पुलको ठेक्का लागिसकेको छ । कोरोनाका कारण जारी लकडाउन खुकुलो हुनेकित्तिकै काम अघि बढ्ने झोलुङ्गे पुल महाशाखाका प्रमुख कुमार थापाले जानकारी दिए । गत वर्ष सर्वे सम्पन्न भएका झोलुङ्गे पुलहरु सिन्दुरे दोभान बोटेनी, महेश्वता बेतीनी लगायतमा निर्माण कार्यका लागि बजेट बिनियोजन भएको छ ।

त्यसैगरी सिस्नेरी बरुणखोला झोलुङ्गे पुल, सिम्मलदमार सखौरीखोला मरिन ४ झोलुङ्गे पुल, पांग्रेटार, सुके, हात्रीगौडाझोलुङ्गे पुल,मरिण, हरिहरपुरगढी गापाको सिमलघारी चिप्लोबाटो क्यानखोलामा झोलुङ्गे पुल, घ्याङलेकको सिम्ले, खरंगखरुङ्ग झोलुङ्गे पुल, कमलामाई नपाको हात्तीगौंडा सानो करकरे झोलुङ्गे पुललगायतका नयाँ झोलुङ्गे पुल योजनाहरु रहेका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २६, २०७७