समाचार स्थानीय हेडलाईन न्युज

सुनकोशी नाङ्गेडाँडामा ६ करोड ९० लाखको वृहत पम्पीङ खानेपानी आयोजना बन्ने

सुनकोशी ज्युज, २०७७ ज्येष्ठ २५ गते आइतबार,

सिन्धुली । सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडामा वृहत पम्पीङ खानेपानी आयोजना बन्ने भएको छ । उक्त योजनाको लागि आ.व. २०७७/७८ का लागि खानेपानी मन्त्रालयले रु. ६ करोड ९० लाख बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्षको बजेटमा सम्भाव्यता अध्ययन तथा कार्यक्रम संचालनको लागि रु. १ करोड बजेट परेको थियो । जलवायु अनुकुलित वृहत खानेपानी आयोजना कार्यक्रम (व.उ.सि.नं. ३१३०११०५) अन्तर्गत निर्माण हुने उक्त योजनाले यो भेगका सयौं घरपरिवारलाई खानेपानी उपलब्ध गराउने छ ।

गत वर्षको बजेटबाट आयोजनाको संभाव्यता अध्ययन हुदैगर्दा कोरोना महामारी आएपछि आयोजना प्रभावित बनेको थियो । सुनकोशीबाट लिफ्टीङ गरेर नाङ्गेडाँडामा खानेपानी लगिने छ । उक्त आयोजना खानेपानी मन्त्रालयको संघीय आयोजना कार्यालयबाट कार्यान्वयन हुने छ ।

सुनकोसी गाउँपालिकाले डिपिआर निर्माण गरी केही काम सम्पन्न गरेको र पछि शहीद पार्कको लागि बागमति प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट २५ लाख दिएर पहिलो स्टेपको काम सम्पन्न भएको थियो ।

संघीय मन्त्रालयबाट विनियोजन गरिएको बजेटबाट सम्भाव्यता अध्ययन, डिपिआर र निर्माण सम्पन्न समेत गरिने प्रावधानका कारण चालु आ.व. मा काम अघि बढाउन केही व्यावधान आएको थियो । तर यस पटक मन्त्रालयले उक्त समस्याको समाधान सहित आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सिन्धुलीको असाध्यै पिछडिएको तथा भौगोलिक हिसावले विकट र सुक्खा रहने यस भेगका जनताका लागि आयोजना बरदान हुने नाङ्गेडाँडा निवासी पत्रकार प्रमोद दाहाल बताउछन् ।

जनयुद्धका पहलकर्तामध्यका एक उक्त क्षेत्रका संघीय सांसद तथा नेकपा स्थायी समिति सदस्य हरिवोल गजुरेलको विशेष पहलमा निर्माण हुन लागेको आयोजनाले जनतामा नयाँ आशा जगाएको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको भनाई छ ।

 

प्रकाशित मिति: आइतवार, जेष्ठ २५, २०७७

 

 

ताजा अपडेट