शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

अहिलेसम्म ३२३५ जनमा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या १३

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २४ गते शनिबार,
काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३२३५ पुगेको छ । नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

यसैबीच कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरे ।

कर्णाली प्रवेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीका अनुसार उनी दम रोगी रहेका थिए ।  उनको जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए । होम क्वारेन्टाइनमा रहेका उनको २१ गते मृत्यु भएको र मृत्यु पश्चात जेठ २२ गते स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मिर्गौलाकी बिरामी धनगढी ४ की उनको शुक्रबार मृत्यु भएको थियो । डायलासिसकै क्रममा अस्पतालमा मृत्युपछि उनमा कोरोना संक्रमणको आशंकामा पीसीआर जाँच गर्दा नतिजा पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २४, २०७७