शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

हेटौंडाको फरेष्ट्री क्याम्पसमा कोरोना विरुद्धको खोप बन्दै, डब्लूएचओले सघाउने

सुनकोशी न्यूज,२०७७ जेष्ठ २३ शुक्रबार

हेटौडा । हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) का प्राध्यापक डां. ललितकुमार लाल दासले तयार पारेको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको उनको दाबी छ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उनले आफ्नो खोज र यसको प्रक्रियाबारे जानकारी दिँदै परीक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका हुन्। बोटविरुवामा आधारित औषधि निकालेको भन्दै उनले डाक्टरबाट पनि यसबारे आफूलाई प्रतिक्रिया प्राप्त भइरहेको बताए।

भाइरस निको हुने र मानिसमा रोग प्रतिरोधी क्षमता बढाउने गरी दुई प्रकारको नमूना तयार बनाएको उनले बताए। ‘अहिलेलाई मेरो काम सकियो, अब सरकारले आफ्नो काम अघि बढाओस्’, उनले भने,‘ ‘आवश्यक परेको बेला म थप काम गर्दै जानेछु।’

कोरोनाको नेचर हेरेर, त्यस अनुसारको प्रयोग गरेको उनको दाबी छ। ‘मैले सुरु गरेको अभियान पूरा नभएसम्म काम छोड्दिन’, उनले भनेका छन्। ‘अहिले कोरोनासँग डराउने होइन, लड्ने हो भन्न थालिएको छ, मैले जुन दिन काम सुरू गरेँ, त्यतिबेलै यसविरुद्ध लड्ने हो भन्ने मनमा लिइसकेको थिएँ’, उनले भने।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिनमा चासो देखाएको छ। हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशलामा तयार पारिएको कोरोनाविरुद्ध निर्माण भएको औषधि तथा प्रयोगशालाको सम्बन्धमा डब्लूएचओेले चासो लिएको हो।

त्रिभुवन विश्व विद्यालय अन्र्तगतको अध्ययन संस्थानका प्रध्यापक डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको दाबी गरेको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्लूएचओले जानकारी लिएको छ।

डब्लूएचओले भिडियो वार्तामा नेपालसहित ७३ राष्ट्रसँग प्रत्यक्ष रुपमा कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सम्बन्धी छलफल गरेको डा। दासले जानकारी दिए।

उक्त प्रयोगशालामा उत्पादन गरिएको औषधि सम्बन्धमा आवश्यक जानकारीका लागि संस्थानका प्राध्यापक दामोदर गैरेले डब्लूएचओमा लिखित प्रस्ताव पठाएको र उक्त प्रयोगशाला पनि छनोट भएपछि भिडियो सम्मेलनमा यसबारे छलफल भएको दासको दाबी छ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७७