शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

सिन्धुलीमा थप एकजनामा कोरोना पुष्टि, सिन्धुली अस्पतालको आइसोलेशनमा राखिने

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २२ गते विहिबार,
सिन्धुली । कमलामाई नगरपालिका–१४ स्थित चन्दनपुर मावि क्वारेन्टीनमा बस्दै आएका २३ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भारतबाट आई उक्त क्वारेन्टीनमा बस्दै आएका ती व्यक्तिको बुधबार बागमती प्रादेशीक अस्पताल हेटौंडामा पिसिआर विधिबाट स्वाब परिक्षणका क्रममा नतिजा कोरोना पोजेटिभ आएको हो ।

ती व्यक्तिसँगै १२२ जनाको स्वाब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न हेटौडा पठाईएकोमा बुधबार ६९ जनाको नतिजा आएको र ६८ जनाको नतिजा निगेटिभ आएको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो । उहाँले संक्रमित व्यक्तिलाई सिन्धुली अस्पतालको आईसोलेन्समा भर्नाका लागि लगिने तयारी भई रहेको पनि बताउनुभयो ।

कमलामाई नगरपालिका वडा नंं. १४ का अध्यक्ष जितलाल अधिकारी दनुवारका अनुसार चन्दनपुर मावि क्वारेन्टीनमा संक्रमित व्यक्तिसँगै भारतबाट आएका ४४ जना बस्दै आएका थिए । ४४ जनाको स्वाब सङकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न हेटौंडा पठाइएकोमा ४३ जनाको नतिजा निगेटिभ आएको छ ।

संक्रमित व्यक्ति सोही वडाका बासिन्दा रहेको र उहाँ १० दिनअघि भारतबाट आएर सिधै क्वारेन्टीनमा बस्दै आएको पनि वडा अध्यक्ष अधिकारी दनुवारले सुनाउनुभयो ।

यसअघि सिन्धुली घर भई काठमाण्डौं बस्ने २७ वर्षे महिलामा कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २२, २०७७