अन्तर्वार्ता/विचार विदेश हेडलाईन न्युज

अमेरिका अझै पिछडिएको चेतनाको सिकार, आधारभूत परिवर्तनको पर्खाइमा : ओबामा

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २१ गते बुधबार,
काठमाण्डौं । सामान्य घटनामा अमेरिकी पुलिसले एक अश्वेत नागरिकलाई सार्वजनिकस्थलमा घुँडाले घाँटीमा थिचेर असाध्यै क्रुर ढंगले हत्या गरेपछि अमेरिकाभरि अहिले लाखौं मानिस त्यसको विरोधमा उत्रेका छन् । घटनाको विरोधमा मात्रै नभएर विभेदपूर्ण अमेरिकी कानुन र शासन प्रणालीको विरुद्धमा नागरिकहरु सडकमा उत्रिएर नाराजुलुस गरिरहेका छन् ।

२०६२/६३ सालताका नेपालमा राजनीीतक परिवर्तनका लागि भएको सडक आन्दोलनको झल्को दिनेगरी अहिले अमेरिकामा भेदभावपूर्ण कानुन र प्रणालीबिरुद्ध आन्दोलन भइरहेको छ ।

घटनाको सबैले बिरोध गरेका छन् र दोषिलाई कारबाहीको माग गरेका छन् । दोषिलाई कारबाही मात्रै गरेर हुदैन, कानुनमै विभेदपूर्ण प्रावधान हटाउनुपर्छ र शासकको संस्कारमै विभेदको किरा मार्नुपर्छ भनेर अमेरिकाका विद्धत समाज वकालत गरिरहेको छ ।

अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव लड्दादेखि नै जातीय विभेदको नारा दिएका थिए । उनले आप्रवासीलाई अमेरिकाबाट निकालिनेछ भन्ने उग्र नारा दिएर चुनाव जितेका थिए । यसो भनिरहँदा अमेरिका भनेको आप्रवासीहरुको देश हो र यहाँ ओरिजिनल अमेरिकीको तुलनामा आप्रवासी अमेरीकीको संख्या दशौं गुना बढी छ भन्ने कुराको हेक्का नराखेको देखिन्छ ।

अमेरिका स्वयम् सयौं वर्षसम्म वेलायत, फ्रान्स, पोर्चुगल, स्पेन लगायत देशहरुको उपनिवेश झेलेको देश हो । बहुमूल्य प्राकृतिक सम्पदाको खानी अमेरिकालाई यी देशहरुले दोहन गरेर लगे । फेरि पनि ती देशबाट यहाँ आएर बसोबास गर्नेहरुमध्ये अधिकांश फर्किएनन् र यतै बसे । उनीहरुको संख्या ओरिजिनल अमेरिकीको भन्दा दशौंगुणा बढी छ । त्यसपछि पनि संसारका विपभिन्न देशबाट ग्रिनकार्ड दरखास्त आव्हान गरेर लाखौं आप्रपासी अमेरिका भित्र्याउने गरेको छ । यसले पनि अमेरिकामा आप्रवासीको संख्या उल्लेख्य छ । फरक कति भने कोही धेरै पहिला अमेरिका पुगे, कोही अलि पछि पुगे र कोही अझै जादैछन् ।

अमेरिकामा पुगेर त्याहाँको नागरिक भैसकेपछि हरेकले आफूलाई इमानदार अमेरिकी नागरिकको रुपमा प्रस्तुत गरेका छन् र देशको माया गरेको देखिन्छ । आफूलाई गर्वसाथ अमेरिकी नागरिक भनेको पाइन्छ । तर ट्रम्पले ओरिजिनल अमेरिकी र आप्रवासी अमेरिकी भनेर विभेद रोपेर चुनाव जिते । यो उनले अमेरिकी समाजमा छरेको अभूतपूर्व भ्रमको खेती थियो । यसले उनले चुनाव त जिते तर अमेरिकी समाजलाई खण्डीत हुनबाट जोगाउन सकेनन् ।

अश्वेत नागरिक, मुस्लिम र एसियनहरुप्रति अन्य नागरिक र पुलिसले गरिरहेको व्यावहार र ट्रम्पको बोलीले यसको पुष्टि भएको छ । शासकको चिन्तन र नीति अनुसार बन्ने कार्यक्रम शासकीय अंग पुलिस लगायत कार्यन्वयन गर्ने हुँदा अमेरिकी पुलिसले ती अस्वेत नागरिकको त्यसरी क्रुरतापूर्वक हत्या गर्ने शाहस गरेका हुन् । त्यो प्रवृत्तिका बिजारोपक ट्रम्प हुन्, जसको बहुलट्ठीपूर्ण निर्णयका कारण अमेरिकामा लाखौं मानिस कोरोनाले मरे जुन अमेरिकाभन्दा कयौंगुणा बढी प्रभावित देशहरुमा नियन्त्रणमा आइसकेको छ ।

अहिले अअमेरिकी सडकमा आगो बलेको छ । हरेक दिन नारा लगाउदै जुलुस सडकमा प्रहरीसँग भिडिरहेको छ । अमेरिकाले अशान्त भनेर कुनेबेला आरोप लगाउने गरेको भेनेजुयलाको जस्तो अवस्थामा स्वयम् पुगेको छ । यो अवस्था हुनुमा उसकै खराब नीति मुख्य कारक हो ।

अश्वेत समुदायबाट राष्ट्रपति बनेका बाराक ओबामाले ट्रम्प सरकारको यस्तो नीतिको खुलेर बिरोध गरेका छन् । उनले यो गलत भएको भन्दै शासकीय चरित्रमा आधारभूत रुपमै परिवर्तन आउनुपर्ने बताएका छन् । उनले मिडिया मा एक लेख पोष्ट गर्दै लेखेका छन् – ‘जर्ज फ्लोइडको हत्या र विभेदपूर्ण न्याय प्रणालीलाई लिएर यति बेला अमेरिकाका लाखौं मानिस सडकमा ओर्लिएका छन्। यसलाई कसरी वास्तविक र दिगो परिवर्तनको संवाहकमा रूपान्तरण गर्न सकिएला भन्दै थुप्रैले आकांक्षा प्रकट गर्न थालेका छन्। यो जनउभार अन्ततस् अभियन्ताहरूको नयाँ पुस्ताकै हातमा पुग्नेछ, जसले भावी रणनीतिलाई आकार प्रदान गर्नेछ।’ उनले व्यक्तिहत्यामा व्यक्त भएको यो शासकीय कमजोरीका कारण अभिव्यक्त भएको जनआक्रोस र लहरलाई यस्ता खराबी जरैदेखि उखेलेर फाल्न सदुपयोग गर्नुपर्ने बताएका छन् ।

उनले अगाडि लेखेका छन् –‘हामीसँग विगतका प्रयासबाट हासिल आधारभूत पाठहरू पनि छन्, जसको सम्झना गर्नु यस्तो बेला उचित हुन्छ। सबभन्दा पहिला त, मुलुकभर जुन किसिमका आक्रोश र प्रदर्शन देखिएका छन्, म त्यसमा अमेरिकी प्रहरी र यहाँको न्याय प्रणाली पुनर्संरचना गर्न दशकौंदेखि हुँदै आएको आलटालबाट उत्पन्न निराशा झल्किरहेको पाउँछु।

हामीले न्याय प्रणाली र प्रहरीमा पुनर्संरचनाको मागमा केन्द्रित भएर जति आफूलाई अघि बढाउँछौं, त्यसले निर्वाचित पदाधिकारीहरूलाई ओँठे जवाफका भरमा काम चलाउने र यस्ता प्रदर्शन एकपटक थामिएपछि फेरि पहिलेजस्तै टालटुले प्रवृत्ति देखाएरै अवधि सिध्याउने प्रवृत्तिभन्दा बेग्लै काम गरेर देखाउन बाध्य पार्नेछ। पुनर्संरचनाका खाका पनि फरक फरक समाजका निम्ति फरक फरक हुनेछन्। कुनै संस्थाको संरचनामा आधारभूत रूपमै सुधार आवश्यक पर्न सक्छ भने कुनै संस्थाका हकमा थोरै सुधारबाट पनि काम चल्न सक्छ।’

विश्वको सबैभन्दा शक्तिशाली, विकसित र समृद्ध राष्ट्र भनेर प्रचारित अमेरिका आन्तरिक रुपमा कति कुरुप र संस्कारविहिन छ भन्ने करा फ्लोइडको हत्या, ट्रम्पको आचरण र ओबामाको लेखले थप प्रमाणित गरिसकेका छन् । अमेरिका र अमेरिकी सिस्टम विकास र नैतिकताको उत्तम उदाहरण हुदैहोइन । धाकधम्की, युद्ध, लुटपाट र हतियारको व्यापारबाट चलेको अमेरिकामा सामाजिक संस्कार मरेको छ, मानवीय संवदना मरेको छ । त्यहाँ मानिसको जिवनको कुनै महत्व छैन । मानिसबीचको भावनात्मक सम्वन्ध र सद्भाव कतै भेटिदैन । फ्लोइडको हत्या त्यसको उदाहरण हो । त्यहाँको राजनीतिक व्यवस्थाको परिणाम अहिलेको अमेरिकी समाजको बिध्वंस हो ।

संसार बदल्ने आइडिया र बुद्धि भएका विद्धानहरु अमेरिकामा नजन्मिएका होइनन् । तर बेलाबेला अमेरिकाले ट्रम्प र बुश जस्ता शासकलाई पनि झेल्नुपरेको छ । अहिलेको अमेरिकाको अवस्थासँग त्यहाँका न्यायप्रमी जनता र विद्धतवर्ग चिन्तित छ । ओबामाको लेख त्यसको उदाहरण हो । अमेरिकामा छिटै संरचनागत आधारभूत परिवर्तन गर्न र ट्रम्पको विकल्प दिन उनीहरु सफल हरनेछन् भन्ने संसारले अपेक्षा गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २१, २०७७