समाचार हेडलाईन न्युज

दुम्जा–मरिण–लालबन्दी सडक केन्द्रीय वैकल्पिक राजमार्ग बन्ने

 सुनकोशी न्युज, २०७७ ज्येष्ठ १९ गते सोमबार,
सिन्धुली । सिन्धुलीको दुम्जाबाट घ्याङलेक गाउँपालिका र मरिण हुदै सर्लाहीको लालबन्दी जाने सडक केन्द्रीय वैकल्पिक सहायक राजमार्गको रुपमा निर्माण हुने भएको छ ।

सरकारले आ.व २०७७÷०७८ मा ल्याएको बजेटमा उक्त मार्गलाई वैकल्पिक सहायक राजमार्गको रुपमा निर्माण गर्न लागेको हो । उपत्यकालाई मधेससँग जोड्ने छोटो वैकल्पिक बाटो आवश्यक रहेको सन्दर्भमा यो सडकलाई सहायक राजमार्गको रुपमा निर्माण गर्न पहल गरिएको उक्त क्षेत्रका संघीय सांसद माननीय हरिवोल गजुरेलले जानकारी दिनुभयो ।

लगभग ११५ लिोमिटर लम्बाई रहेने उक्त राजमार्ग विपि हाइवेको सिन्धुली खण्डको दुम्जादेखि मरिण धमिले हुदै सर्लाहीको लालबन्दीसम्म जोड्ने छ । यो सडकले दुई प्रदेशलाई छोटो बाटोले जोड्नेछ । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा सुनकोशी–मरिण डाइभर्सन बनाउन लागेको छ । जसका कारण खुर्कोट क्षेत्रमा आयोजना निर्माणको क्रममा हुने राजमार्ग अवरोधको निकासका लागि पनि यो मार्गलाई प्रयोग गर्न सकिन्छ ।

काठमाण्डौंलाई पूर्वी नेपाल र मधेससँग जोड्ने सबैभन्दा छोटो बाटोको रुपमा विपि राजमार्ग प्रयोग भइरहेको छ । नदी किनार र अग्ला पहाडको बीचमा रहेको विपि राजमार्गमा केही कारणले सडक अवरोध आएमा हज्जारौं यात्री बाटोमै अलपत्र पर्ने समस्यको निकासको रुपमा दुम्जा मरिण लालबन्दी राजमार्ग बन्न गइरहेको सडक विभागका महानिर्देशक केशवराज शर्माले बताउनुभयो ।

आ.व. २०७२÷२०७३ मै यो बाटोको दुम्जादेखि मरिणको धमिलेसम्मको खण्ड सर्भे भई घ्याङलेकको रामपुरसम्म ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । मरिणदेखि लालबन्दीसम्मको खण्ड डिपिआर निर्माणको प्रकृयामा रहेको सडक विभागका इन्जिनियर अर्जुन पौडेलले बताउनुभयो ।

यो बाटो बनेपछि रामेछाप, काभ्रे, दोलखा र सिन्धुपालचोकलाई छोटो दुरीबाट मधेससँग जोड्ने छ । साथै, उक्त क्षेत्रको आर्थिक विकास र समृद्धिमा अभूतपूर्व परिवर्तन आउने सांसद गजुरेल बताउनुहुन्छ ।

नेपाल सरकारको योजनामा कुशेश्वर दुम्जामा निर्माण भैरहेको विपि कोइरालाको सालिक र पार्क हुदै जाने यो बाटोले सिन्धुलीको पर्यटन प्रवर्धन र विकासमा टेवा पु¥याउने छ ।

यसैगरी, सिन्धुली जिल्लाको सुलिभञ्ज्याङ धापचौकी पातिपरान हुदै महोत्तरीको खयरमारा निस्कने बाटो पनि वैकल्पिक सहायक राजमार्गको रुपमा काम भइरहेको छ । बिगत तीन वर्षदेखि निर्माणमा रहेको यो सडक वैकल्पिक सहायक राजमार्गका रुपमा बन्ने भएपछि ओखलढुंगा, खोटाङ लगायत सिन्धुलीको तीनपाटन, फिक्कल, गोलाञ्जोर र दुधौलीलाई कमलामाई र मधेशसँग जोड्नेछ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ १९, २०७७