अर्थ/विजनेस मुख्य समाचार समाचार

व्यावसाय बन्द भएका बेला कसरी कर तिर्ने भन्दै व्यावसायी आन्दोलित

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २० मंगलबार,
काठमाडौं । बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् ।

सरकारले समयमा नै कर तिर्न ताकेता गरिसकेको तर व्यापार गर्न भने नदिएको उनीहरुको गुनासो छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले तत्कालै पसल खोल्ने वातावरण नबनाए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले पहिलो चरणमा सरकारसँग सटर खुलाउन माग गरिने बताए । सरकारले आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनमा जाने उनको भनाइ छ ।

‘२ महिना भन्दा धेरै समय लकडाउन हुँदा हाम्रो रोजीरोटी नै गुमेको छ, तर सरकार कर माग्छ, घरबेटीले भाडा माग्छन्, बैंकले किस्ता तिर भन्छ’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘हाम्रो माग पुरा नगरे हामी आन्दोलनमा होमिने छौं ।’

‘महामारीको बेला छ, सरकारले घोषणा गरेको लकडाउनको हामीले पूर्ण पालना गरेका छौं, तर सधै यसरी नै हुँदैन नि’ उनले भने, ‘पसल व्यवसाय सञ्चालन नहुने हो भने हामी त डूब्छौं डुब्छौं, मुलुकको अर्थतन्त्र नै धराशायी हुन्छ ।’

सरकारले मंगलबार बात्रै कर तिर्न ताकेता गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले पनि कमाएर राज्यलाई कर तिर्ने हो, कमाउन चाहिँ नदिने, अनि कर तत्कालै तिर भनेर ताकेता गने ठिक भएन ।’

बौद्ध व्यापार संघले पसल सञ्चालनका लागि सहजीकरण गरिदिन भन्दै काठमाडौं महानगरपालिका ६ नम्बर वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ । उता कोटेश्वर व्यवसायी संघले पनि महानगरलाई पसल सञ्चालनको व्यवस्था मिलाउन आग्रह गर्दै पत्राचार गरेको छ ।

संघका अध्यक्ष सरोज थापाले व्यवसायीहरु घर न घाटको हुने अवस्था आउन लागेको कारण ज्ञापन पत्र बुझाइएको बताए । आफूहरु सुरक्षाको उच्च सतर्कता अपनाउन तयार रहेको उनले बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २०, २०७७