हेडलाईन न्युज

आज ११ सय बढी युरोपेली नागरिक नेपालबाट युरोप फर्किदै

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । लकडाउनले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जर्मनी र फ्रान्स लगायतलका युरोपियन मुलुकले आज पनि स्वदेश फर्काउँदैछन् ।

उनीहरुलाई विभिन्न ४ वटा चाटर्ड विमानमार्फत स्वदेश फर्काउन लागिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार कतार एयरवेजको दुई वटा चाटर्ड फ्लाइट, श्रीलंकाको मालिन्दो एयरलाइन्स र एउटा मलेसियन एवरलाइन्सबाट ११ सय भन्दा बढी युरोपियन मुलुकका नगारिक स्वदेश फिर्ता हुन लागेका हुन् ।

स्वदेश फर्कनेमा फ्रान्स, जर्मनी, चेक रिपब्लिक, अष्ट्रिया लगायतका मुलुकका नागरिक छन् । फ्रान्सका नागरिक लिएर जाने विमानमा १० प्रतिशत अन्य युरोपियन देशका नागरिक पनि हुने बताइएको छ।

कतार एयरवेजको विमान दोहा हुँदै पेरिस जानेछ भने जर्मनी जाने विमानमा २० प्रतिशत अन्य युरोपियन देशका नागरिक हुनेछन् । यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक स्वदेश फर्काइसकेका छन् ।

अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन्। अमेरिका र दक्षिण कोरियाले आइतबार पनि नेपालबाट आफ्ना नागरिक फिर्ता लैजाँदै छन्।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६