समाचार हेडलाईन न्युज

नेपालमा मानिसबाट मानिसमा कोरोना सरेको बिरामी भेटियो, संक्रमितको संख्या ९ पुग्यो

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार
काठमाण्डौ । नेपालमा पहिलो पटक एकबाट अर्को व्यक्तिमा कोरोना सरेर संक्रमण भएको विरामी फेला परेको पुष्टि भएको छ । यसरी अर्को व्यक्तिबाट कोरोना सरेका व्यक्ति दुबईबाट फर्किएका पुरूषको आफन्त हुन् । ११ चैतदेखि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत ती पुरूष नेपालका चौथो संक्रमित हुन् ।

शनिबार सुदूरपश्चिममा तीन जना नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये २१ वर्षीय युवक भारतको मुम्बईबाट र ४१ वर्षीय व्यक्ति उत्तराखण्डबाट केही दिनअघि नेपाल आएका थिए । अर्का व्यक्ति आफन्तका कारण कोरोना संक्रमित बनेका हुन् । नेपालमा संक्रमण देखिएको यो नवौं केस हो । यीमध्ये एकजना निको भइसकेका छन् भने अन्य उपचाररत छन् ।

कोरोनाबाट बच्नका लागि विदेशबाट हालै नेपाल आएकाहरूसँग दूरी कायम गर्न, पटक –पटक साबुन पानीले हात धुन र घरभित्रै बस्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले २ साताका लागि लकडाउन गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६