बागमती समाचार

साधुसन्त महन्त जसको न नागरिकता हुन्छ, न परिचय पत्र, उनीहरुलाई पनि राहत दिँदैछौं : वडाध्यक्ष डंगोल

काठमाडौं । काठमाडौं महानगरको वडा ८ ले वडा क्षेत्रलाई ४ भागमा बाँडेर हरेक भागको तथ्याङ्क संकलन गर्ने र राहत पु¥याउने कामको नेतृत्व वडा सदस्यलाई दिएको छ । राहत दिनेभनेपछि धेरै मान्छे हुरुरु वडामा आउने थालेपछि यसलाई सामाजिक दुरी कायम गराउन क्षेत्र बाँडेका हौं, वडाध्यक्ष दिनेश डंगोल भन्नुहुन्छ — ‘यो वडा भनेको कोही नहुने, केही नहुने, घरबार र सांसारिक मोह छोडेर मान्छे आउने वडा हो । साधु सन्त, महन्त, जोगी उनीहरुको के परिचय हुन्छ? उनीहरुलाई पनि राहत दिनुपर्नेछ । त्यस्तै परमानन्द आश्रममा ६० जना बालक छन् । उनीहरु दाताले दिएको भरमा बाँचेका छन् । उनीहरुलाई पनि खुवाउनु प¥यो ।’
वडाध्यक्ष डंगोलका अनुसार वडाभित्र रहेका धार्मिक स्थलहरु अन्नपूर्ण, गोरखनाथ र राममन्दिर जस्ता स्थानमा रहेका मानिसहरु पनि राहत दिइनेछ । यी स्थानमध्ये विश्वरुप र गोरखनाथ क्षेत्रमा २० परिवार आश्रित छन् ।
वडाले तिलगङ्गा वारिपारिलाई एउटा क्षेत्र बनाएको छ । त्यस्तै जय बागेश्वरी, दढुटोल, पशुपति, इटापाखालाई दोश्रो, गुह््येश्वरी वारिपारि तेश्रो र पञ्चकन्यालाई चौथो क्षेत्र बनाएको छ । वडाध्यक्षका अनुसार तिलगंगा क्षेत्रमा करीब २०० परिवार छन् । कतिपय दम्पत्तिका ७ जनासम्म सन्तान छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७६