बागमती मुख्य समाचार

काठमाडौं महानगरका सबै वडाबाट मास्क र स्यानिटाइजर नागरिकलाई निशुल्क वितरण हुने

काठमाडौं । वडाबासीलाई वितरण गर्न आज काठमाडौं महानगरका सबै हरेक वडामा १ हजार थानका दरले मास्क र आधा लिटरका २ थान स्यानिटाइजर पठाइएको छ । यसरी पठाइएका मास्क वितरण तथा स्यानिटाइजरको प्रयोग वडा समितिको निर्णयबमोजिम हुने, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । महानगरका सबै वडामा बिपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरिसकिएको छ । वडाले समितिसँगको समन्वयमा मास्क वितरण गर्नसक्छ, ज्ञवालीको भनाइ छ ।
हामीले हरेक वडासहित वातावरण व्यवस्थापन बिभागका लागि ३ हजार थान मास्क पठाएका छौं । महानगरको सहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रबिलास बज्राचार्य भन्नुहुन्छ — वडाबाट यसको प्रभावकारी वितरण हुने हामीले अपेक्षा गरेका छौं । त्यहाँ पठाइएका २ वटा स्यानिटाइजरमध्ये एउटा वडा क्लिनिक र अर्को वडा कार्यालयका लागि हो । महाशाखाले सहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य बिभिन्न २१ ठाउँमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । मास्क, स्यानिटाइजर, प्रचार सामाग्री, थर्मल गनसहित सखिने सहायता कक्षमा सेवाग्राहीको आशंका निवारण गर्ने काम हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत्र ८, २०७६