बागमती मुख्य समाचार

सफाइका कर्मचारीले मास्क, पञ्जा, जुत्ता र टोपी नलगाई फोहोर व्यवस्थापनको काम गर्न नपाउने

काठमाडौं । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले स्यानिटरी ल्याण्डफिल साइट क्षेत्रमा कवाडी सामान संकलन गर्न निषेध गरेको छ । कोभिड — १९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आजबाट कवाडी सामान बटुल्ने काम रोकेको हो । यससँगै फोहोरमा काम गर्ने सफाइ कर्मचारीले मास्क, पञ्जा, टोपी र जुत्ता नलगाई सफाइमा आउन नपाउने व्यवस्था गरिएको छ । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ — बिभागको कम्पाउण्डमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । त्यस्तै भोलिबाट कार्यालय प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेछ । कार्यालय प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो मापन गरेर मात्र प्रवेश व्यवस्था मिलाइनेछ ।

टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्याण्डफिल साइट र फोहोर ढुवानी हुने सडकमा कीणनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया बिभागले अघि बढाएको छ । बिभागले आजै एक सूचना जारी गर्दै महानगरबासीलाई जथाभावी फोहोर सडकमा ननिकाल्न अनुरोध गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९) भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेकोले यस जोखिमपूर्ण अवस्थामा सरसफाइ सम्बन्धि काममा सतर्कता अपनाउन अनुरोध गरिन्छ । सूचनामा भनिएको छ — आ–आफ्नो घर/पसल/उद्योग/कल कारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने भागमा छुट््याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ । बिभागले कुहिने फोहोरलाई सकेसम्म आफै व्यवस्थापन गर्न र नकुहिने फोहोर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको हो । यसबाट जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बिभागको अपेक्षा छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: शनिबार, चैत्र ८, २०७६