मुख्य समाचार

डाइभर्सिटी भिसा अपोइन्टमेन्ट रद्द गर्ने अमेरिकाको निर्णय

मंगलबारदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैर-आवसीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वव्यापी रूपमा फैलिएपछि त्यसको रोकथामका लागि यस्तो निर्ण लिनु परेको दूतावासले जनाएको छ।

‘हामी जति सक्दो चाँडो नियमित भिसा सेवाहरू सुचारु गर्नेछौँ’, दूतावासले सूचना जारी गर्दै भनेको छ, ‘तर अहिले कुनै खास मिति तोक्न भने सक्दैनौँ।’ यसअघि बुझाएको मेसिन रिडेबल भिसा (एमआरभी) शुल्क भने एक वर्षसम्मका लागि मान्य हुने दूतावासले जनाएको छ। ‘शुल्क बुझाएको एक वर्षभित्र जुन देशको लागि खरिद गरेको हो उक्त देशको लागि भिसा आवेदन दिनलाई प्रयोग गर्न सकिन्छ’, दूतावासले बताएको छ।

कुनै आपतकालीन अवस्था भए तत्काल दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ। साथै तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टका लागि आवेदन गर्न सकिने पनि बताएको छ।

प्रकाशित मिति: सोमवार, चैत्र ३, २०७६