कृषि

कृषि उत्पादन बढाउन सात पकेट क्षेत्र

सुरुङ्गा  । तरकारी, दूध तथा मासुजन्य उत्पादनमा नगरलाई नै आत्मनिर्भर बनाउने उद्देश्यले कनकाई नगरपालिकाले नगरभित्र सात वटा पकेट क्षेत्र घोषणा गरेको छ । कृषि र पशुपालनका लागि रु एक करोड २० लाख बजेट विनियोजन गर्दै नगरपालिकाले तरकारी, माछा, च्याउ, मौरी, पशुपक्षी, धान र मकैको उत्पादन बढाउन वडावडामा छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरेको हो । नगरपालिकालाई विषादीरहित, अर्गानिक खेती उन्मुख क्षेत्रका रुपमा विकास गरिने जनाउँदै कृषिजन्य वस्तुहरुको उत्पादन सम्भाव्यता, अनुकूलता हेरेर वडावडामा पकेट क्षेत्र घोषणा गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नगर प्रमुख पोखरेलका अनुसार वडा नं ४ को त्रिवेणी क्षेत्र तरकारी पकेट, ५ र ६ लाई मकै पकेट, ३ र ७ लाई च्याउ खेती पकेट, ४ को कनकाई टोल, ५ र ३ को सीमा क्षेत्रलाई मौरी पकेट क्षेत्र घोषणा गरिएको छ । त्यस्तै वडा नं १ र २ लाई पशुपक्षी पकेट क्षेत्र र ८ लाई धान पकेट, ९ लाई धान र माछापालन पकेट क्षेत्र घोषणा गरिएको छ ।
नगरपालिकाले कृषि तथा पशंपक्षी क्षेत्रमा आउन सक्ने जोखिमलाई समेत न्यूनीकरण गर्न कृषि तथा पशुपक्षी बीमा कार्यक्रमलाई थप विस्तार तथा प्रभावकारी बनाउने नगर प्रमुख पोखरेलले बताउनुभयो । उहाँले आफ्नो निजी जमिनलाई कृषि भूमिका रुपमा घोषणा गर्ने कृषकलाई सम्पत्ति कर, मालपोत तथा भूमि करमा लाग्ने करमा समेत विशेष छुट दिइने बताउनुभयो । सात पकेट क्षेत्रलाई व्यवस्थित गर्न नगरपालिकाले कृषकका लागि माछाका भुरा, मौरीको घार, च्याउको बीउमा सहयोग, धान तथा मकैको बीउ खरिदमा सहयोग, कृषि चुन वितरण र सतह सिँचाइको व्यवस्थापन गर्ने भएको छ । पशुपालक कृषकका लागि पशु आहार सेवा, बाख्रा तथा बङ्गुर प्रवद्र्धन कार्यक्रम, गोठ सुधार कार्यक्रम, बहुवर्षीय घाँसको बीउ वितरण गरिने नगर प्रमुख पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति: आइतवार, साउन १२, २०७६