बागमती समाचार

 सहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली सभा

काठमाडौं । काठमाडौंको टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । यस बर्ष सहिद सप्ताहका कार्यक्रमअन्तर्गत पहिलो दिन शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले — पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राख्नुभयो । दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान मेरा लागि सिकाइ हो, मेष्र शाक्यले थप्दै भन्नुभयो — सहिदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ । सभामा बोल्ने क्रममा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोलले — प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका कारण जनताका छोराले आफू समानका जनतालाई सेवा गर्ने अवसर पाएकोले यो गुण बिर्सिन नहुने बताउनुभयो ।

म त शुक्रराज शास्त्रीलाई हत्या गरिएको भन्छु । जेल भुक्तान गरिरहेका बेला उहाँलाई मारिएको हो । सभामा बोल्ने क्रममा नेपाल आर्य समाजका अध्यक्ष प्रा. डा. माधव उपाध्यायले भन्नुभयो — सहिदहरुले त्यो प्रतिकुल समयमा पनि खरो बोल्ने हिम्मत गरेकै कारण आज हरेक जनताले नागरिक अधिकार प्रयोग गर्न पाएका हुन् ।

श्रद्धाञ्जली सभामा वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो ।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।

धार्मिक गतिबिधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरे । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायँको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायँलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजायँ भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर प्राण दण्ड दिइएको थियो ।

प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक स्थापना गर्ने क्रममा यस बर्ष महानगरले धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक प्रतिस्थापन गर्दैछ । गएको बर्ष माघ १० गते टेकु मचलीस्थित खरिवोटमुनि आयोजना गरिएको श्रद्धाञ्जली सभामा शुक्रराज शास्त्रीको शालिकको अनावरण गर्नुभएको थियो । महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिकलाई यात्रुहरुले अनुहार देख्ने गरी पूर्व मोहोडा बनाएर राखिएको छ । शास्त्रीलाई खरिबोटको उत्तर मोहडामा झण्ड््याइएको थियो । यो शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पार्नुभएको थियो । शास्त्रीको श्रद्धाञ्जली सभा भएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो ।

सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १३ गते सिफलमा सहिद धर्मभक्त ममथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते सहिद स्मारक लैनचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ । -चन्द्रमणी भट्टराई

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६