काठमाडौं । दमकल जान नसक्ने गल्लीमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएका पाइप लाइनको सफल परीक्षण गरिएको छ । महानगरको वडा २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ््याइएको ४ इञ्चे फलामे पाइपबाट परीक्षण गरिएको हो । परीक्षणका क्रममा काठमाडौं दमकलबाट साइरन बजाउँदै आएका दमकल जनवहाल चोकमा रोकिए । त्यस चोकबाट करीब १०० मिटरभित्र अग्लो घरको चौथो तलामा धुवाँ आइरहेको थियो । अग्नि नियन्त्रकहरुले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइप (इनलेट) मा पाइप जोडे । त्यसपछि कुददै गएर अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (नियमित पानीको प्रेसर नभएको, दमकलको पानी राखेर प्रयोग गर्नुपर्ने ठाउँ) मा पाइप जोडे । यति गरेपछि दमकलमा भएको पानी १०० मिटर परको सानो चोकमा पुग्यो । यो पानीको प्रयोग गरेर उनीहरुले घरको चौथो तलामा लागेको आगो निभाए । यस क्रममा चोकबाट माथितिर पानी हानिएको थियो भने चौथो तलामै पाइप पु¥याएर पनि आगो नियन्त्रण गरिएको थियो । करीब २०० मिटर लामो यस प्रणालीको बीचका ८ ठाउँमा ड्राइराइडर राखिएका छन् । आगलागीका समयमा आवश्यकताअनुसार उपयुक्त ड्राइराइडरमा आगो नियन्त्रणका समयमा प्रयोग हुने पाइप जोड्न सकिनेछ ।
प्रयोगका समयमा चौथो तलामा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरुले उद्धार गरेका थिए । उद्धार गरिएका बिरामीलाई भुइँमा पु¥याएर प्राथमिक उपचार गरिएको थियो भने त्यसपछि स्टेचरमा राखेर चोकमा निकालिएको थियो । चोकमा एम्बुलेन्स तयार थिए । बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो । वडा २५ ले गरेको यो प्रयोगमा स्थानीयले बार्दली र छतबाट अवलोकन गरेका थिए । महानगरको अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार दमकल स्टेशनबाट १ मिनेट ३० सेकेण्डमा दमकल घटनास्थल पुगेका थिएन भने त्यसको ५ मिनेटभित्र आगो नियन्त्रण तथा खोज उद्धार कार्य समाप्त भएको थियो ।
यो प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रबर्धन तथा सहभागिता कार्यक्रमको ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ, संघ संस्था र उपभोक्ताको २ लाख ४० हजार ६१२ रुपैयाँ गरी कुल ९ लाख ४० हजार ६१२ रुपैयाँमा केल मांसगल्ली उपभोक्ता समितिले जडान गरेको हो ।
प्रयोग शुरुवात्मा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले इनलेटको मुख खोल्नुभएको थियो । मेयर शाक्यसहित भित्री वडाका वडाध्यक्षहरुले प्रयोगको अबलोकन गर्नुभएको थियो ।
अग्नि नियन्त्रण पाइप लाइन प्रयोगको परीक्षणपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रमुख शाक्यले भन्नुभयो — बिपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिक काम हो । हामीले हरेक नगर सभामा यसका बारेमा गहन छालफल गर्छौं र आवश्यक नीति बनाउने गरेका छौं । दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीति अन्तर्गत काम भइरहेको छ । उहाँले थप्दै भन्नुभयो — हामीले दमकललाई नयाँसडकबाट विस्तार गरेर वडा ६ सम्म पु¥याएका छौं । अब केही दमकल खरिद गर्दैछौं भने बिरामीको बाटामा हुने मृत्युलाई घटाउन नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेर आधुनिक एम्बुलेन्स सञ्चालन गरेका छौं । कार्यक्रममा बोल्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — महानगर बिपद्का समयमा आवश्यक पर्ने सामाग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको बताउनुभयो । बिपत्ति परेका बेला खोज तथा उद्धार र राहतको प्राथमिक कामका लागि कतै जान नपरोस्, उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।
यो कार्यक्रमलाई भित्री सहरी क्षेत्रमा क्रमशः विस्तार गर्दै लानु पर्छ । कार्यक्रममा वडाध्यक्षकातर्फबाट धारणा राख्दै वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले भन्नुभयो — यस प्रणालीलाई अब क्रमशः अन्य भित्री सहरी ठाउँमा पनि बिस्तार गर्दै लैजानुपर्छ । सबै गल्लीमा दमकल जान नसक्ने भएकोले यसको महत्ब धेरै छ । बिपत्ति सोधेर आउँदैन । कार्यक्रममा धारणा राख्ने क्रममा वडा २५ का अध्यक्ष एवं महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले भन्नुभयो — हामी बिगतको दुःख चाँडै बिर्सिन्छौं । मान्छेलाई जुनबेला पनि र जस्तोसुकै खालको पनि आपत् आइपर्न सक्छ । अझ भित्री सहर त आगलागीको दृष्टिले अति नै जोखिमपूर्ण छ । अब हामी जोखिक क्षति व्यवस्थापनको कामलाई तीब्र बनाउँछौं । नगरबासीलाई सुरक्षित छौं भन्ने अनुभूति दिलाउँछौं । समुदायलाई सुरक्षित बनाउन नेपाल रेडक्रस सोसाइटी महानगरसँगको साझेदारितालाई बलियो बनाउन चाहन्छ, कार्यक्रममा नेपाल रेडक्रस जिल्ला शाखाका सभापति मथुराम श्रेष्ठले भन्नुभयो — आज परीक्षण गरिएको अग्नि नियन्त्रण पाइपलाइनका बारेमा समीक्षा गरेर आगामी कार्यक्रम अघि बढाउन हामी इच्छुक छौं ।
व्यक्तिको जीवन जुनसुकै समय पनि जोखिममा पर्न सक्छ, चाहे त्यो प्राकृतिक घटनामा होस्, या मानव घटित । सकेसम्म यस प्रकारका घटना नघटुन् भन्नेमा कामना गर्नु पर्छ, यदि काबुबाहिरको परिस्थिति आएर दुर्घटना भएमा क्षति कम होस् भन्नेमा ख्याल गर्नुपर्छ । नेपाल सिङ्गै र निश्चित स्थानीय स्तरको भूगोलका जोखिम छुट्टाछुट्टै हुन सक्छन् । त्यस्तै एउटै स्थानका समुदाय — समुदायबीचका जोखिम पनि आफ्ना—आफ्नै हुन सक्छन् । स्थानीय स्तरका यी अवस्थालाई पहिचान गरेर, सम्भावित जोखिमबाट बच्न र बचाउन सक्ने समुदाय निर्माण, विपद् क्षति न्युनीकरणको पहिलो उपलब्धी हो । यो उपलब्धीलाई लक्ष्य मानेर महानगरले कार्यक्रम अघि बढाएको छ ।
समुदायलाई प्राकृतिक बिपत्ति थेग्न सक्ने क्षमता बनाउने र आफैंले सृजना गर्ने बिपत्ति हुनै नदिने दिशामा समाजको सचेतना बढाउन खाँचो छ । भूगोल, सहरी आचरण, बिपत्तिलाई ख्याल—ख्याल मान्ने समुदाय, बिपत्ति सामना गर्ने तयारी, सहरी सेवा सुबिधको बितरण, खुल्ला ठाउँको संरक्षण श्रोत साधनको बितरण जस्ता कोणबाट काठमाडौं बहुजोखिमयुक्त छ । यसबाट हुने सम्भावित खतरा कम गराउन समुदायलाई बलियो बनाउनु नै महत्वपूर्ण उपलब्धी हुनेछ । अग्नि नियन्त्रण पाइप लाइन बिस्तारलाई यसैको एउटा क्रमका रुपमा हेर्न सकिन्छ ।– चन्द्रमणि भट्टराई
Add Comment