हेडलाईन न्युज

विप्लवका पोलिटव्यूरो सदस्य जिवन्त प्रचण्ड–ओली नेतृत्वको नेकपामा प्रवेश

सुनकोशी न्युज, २०७६ पौष २६ गते शनिवार
नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपाका पोलिटव्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’ आफ्नो पुरानै माउपार्टी नेकपामा फर्किनुभएको छ । आज नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले नेकपामा पार्टी प्रवेश गर्नुभएको हो ।

धुम्बराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिवन्तलाई खादामाला र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको हो । महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु अग्नी सापकोटा, देवेन्द्र पौडेल, हितमान शाक्य, केन्द्रीय सदस्य बलावती शर्मा लगायतको समुपस्थितिमा आयोजित समारोहमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले बिगतमा विभिन्न बहानामा पार्टीबाट काहिरिएका सबै नेता–कार्यत्रर्ता समयक्रमसँगै पार्टीमा फर्किने बताउनुभयो । उहाँले अलग्गै चुलो बाल्ने साथीहरुले अब यसरी हुदैन भन्ने बुझिसकेकाले मूलपार्टीमा समाहित भएर पार्टी र देशको समृद्धिका लागि काम गर्नुपर्ने बेला आएको र त्यो सबैले महसुस गरिसकेको बताउनुभयो ।

जिवन्त जस्ता जनयुद्धको अग्रमोर्चामा रहेर काम गरेका सबै नेताहरु अब एकीकृत भएर राष्ट्रिय समृद्धिका लागि अर्को मोर्चा लड्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६