बागमती हेडलाईन न्युज

अमूर्त सम्पदा संरक्षणमा अभिभावकत्व निर्वाह गरेकोले मेयर शाक्य सम्मानित

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई आइतबार वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिले सम्मान गरेको छ । महानगरको वडा नं २१ त वहा, लगंमा आयोजित कार्यक्रममा प्रमुख शाक्यलाई सम्मान गरिएको हो । जीवन्त र राजकीय सस्कृतिका रुपमा मनाइने येँया (इन्द्रजात्रा) पर्वमा बिशेष पूजा आराधना गरिने जीवित देवीदेवतामध्ये श्री गणेश र श्री भैरवका रुपमा रहनु भएका पूर्व गणेश र भैरवको जीविकोपार्जनका लागि अभिभावकत्व लिनुभएकोले मेयर शाक्यलाई सम्मान गरिएको समितिले जनाएको छ । आफ्नो जीवनको अमूल्य बाल्यकाल श्री गणेश र भैरवका रुपमा रहनुभएका जीवित देवीदेवताको महत्व मनन गरेर यसको संरक्षण, बिकास र निरन्तरताका लागि महानगरकातर्फबाट मासिक भत्ता व्यवस्था र अमूर्त संस्कृतिको संरक्षणमा योगदान गर्नुभएकोले सम्मानित गरिएको हो, मेयर शाक्यलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७०/०७१ देखि पुर्व कुमारीलाई मासिक १० हजार र पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले भत्तासहित सम्मान गर्न थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिको आएपछि २०७५ सालबाट साविक रकमलाई बढाएर पूर्व कुमारीलाई १५ रुपैयाँ र पूर्व गणेश तथा भैरवलाई मासिक १२ हजार रुपैयाँ भत्ता प्रदान गर्न थालिएको छ । सम्मानपछि कार्यक्रममा बोल्दै मेयर शाक्यले — इन्द्रजात्राको दिगो व्यवस्थापनकालागि काठमाडौं महानगरपालिकाले संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गरिसकेको जानकारी दिनुभयो । कोषमा महानगरपालिकाले् २ करोड रुपैयाँ राखेको छ भने नेपाल सरकारकातर्फ बाट १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारकातर्फबाट १ करोड रुपैयाँ र गुठी संस्थानबाट ५० लाख रुपैयाँ छ । मेयर शाक्यले थप्दै भन्नुभयो संस्कार र संस्कृतिको निरन्तरताका लागि महानगरलाई दायित्व बोध छ ।

त्यस क्रममा बोल्दै, प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले धर्म, कला र संस्कृतिको स्थायित्वका लागि महानगरले अघि सारेका योजनाको प्रशंशा गर्नुभयो भने अर्का सदस्य बिना श्रेष्ठले बर्तमान तथा पूर्व कुमारी, भैरव र गणेशलाई महानगरले प्रदान गरेको भत्ताले पपर्वको निरन्तरतामा ठूलो सहयोग पुगेको धारणा राख्नुभयो । मेयर शाक्यको नेतृत्वमा वडाभित्रका सम्पदा जोगाउने दिशामा धेरै काम भएका छन्, कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य बताउनुभयो । महानगरले प्रदान गरेको भत्ताले पूर्व जीवित देवीदेवतालाई मात्र होइन, नयाँ पुस्तामा पनि हौसला मिलेको छ, कार्यक्रममा पूर्व जीवित देवीदेवताकातर्फबाट बोल्दै गणेश शाक्यले धारणा राख्नुभयो । त्यस अवसरमा हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमका पूर्व प्रमुखहरु, श्री गणेश भैरव खट व्यवस्थापन उप–समितिका सदस्य तथा इन्द्रजात्रामा सहयोग गर्ने विभिन्न व्यक्ति र संघ सस्थालाई समेत सम्मान गरिएको थियो । -चन्द्रमणी भट्टराई

प्रकाशित मिति: आइतवार, माघ १२, २०७६