हेडलाईन न्युज

सभामुख छनोटमा भएन सहमति, संसद पुस २७ गते

सुनकोशी न्युज
२०७६ पुस १

काठमाडौँ । पटक पटक सर्दै आएको प्रतिनिधि सभाको बैटक फेरि सरेको छ । पुस ४ गते प्रतिनिधि सभाको पहिलो बैठक बसेको थियो । त्यसपछि ११ गतेलाई राखिएको बैठक बस्दै नबसी १६ गतेसम्मलाई स्थगित गरियो । १६ गतेको बैठक पनि सुचना टाँसेर स्थगित गर्दै पुस २७ गतेलाई पुर्याइएको छ ।

अब बस्ने प्रतिनिधि सभा बैठकले सभामुख र उपसभामुख चयनको प्रक्रिया सुरु गर्ने भनिएपनि संसदको ठुलो दल नेकपाले सभामुख र उपसभामुखबारे कुनै निर्णय गर्न नसक्दा बैठक स्थगित हुँदै आएको हो । तर संसद सचिवालयले भने विशेष कारण भन्दै बैठक स्थगित गर्र्दै आएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकमा सभामुखबारे छलफल गर्ने भनिएपनि एजेण्डामै प्रवेश नगरी सकिएको थियो ।

आइतबार अर्को बैठकमा सभामुखबारे छलफल हुने महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई बताएका थिए । तर अहिलेसम्म न अर्को बैठकको मिति नै तय भएको छ न उपसभामुख शिवमाया तुम्वाहाङफेले नै राजीनामा गरेकी छन् ? जसका कारण सभामुख चयनको प्रक्रिया थप लम्बिन पुगेको छ ।

ओली–प्रचण्ड भएन सहमति 

सभामुखबारे टुङ्गो लगाउन नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान भएको छलफल विना निष्कर्ष टुंगिएपछि संसद बैठक पनि सारिएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा दुई नेताबीच नेकपाबाटै सभामुखको उम्मेदवार बनाउनेमा एकमत रहेपनि व्यक्ति को हुने भन्नेमा कुरा नमिल्दा समस्या भएको हो ।

‘दुबै नेताले एकले अर्कोलाई कन्भिन्स गर्ने क्रम जारी रहेको छ । दुवैको अडान आ–आफ्नै छ । कसले बढी कन्भिन्स गर्न सक्छ । उसैले अघि सारेको व्यक्ति सभामुखको उम्मेदवार बन्छ’, नेकपाका एक सचिवालय सदस्यको भनाइ छ ।

उनका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सुवास नेम्वाङ र प्रचण्ड अग्नि सापकोटाको पक्षमा छन् ।

मंगलबारको बालुवाटार छलफलमा पनि ओलीले नेम्वाङ र प्रचण्डले सापकोटाको पक्षमा अडान नछाडेपछि सहमति जुट्न नसकेको हो ।

यसअघि सभामुखका लागि नेकपाबाट सुवास नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाल लगायतको नाम चर्चामा आएको थियो । उता उपसभामुख शिवमाया तुम्वाहाङफेले पनि आफुलाई सभामुखको दावेदारका रुपमा अघि सार्दै आएकी छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस १५, २०७६