स्थानीय हेडलाईन न्युज

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन

काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको निधन भएको छ । उनको आज बिहान ७ बजे निधन भएको हो ।

उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहेका थिए । उनी घरमै बसेर उपचार गराइरहेका थिए । गत ८ मंसिरमा ९३ वर्षमा प्रवेश गरेका श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि जनतामा जनमैत्री प्रशासन र आफ्नै आँगनमा बलियो सरकारको अपेक्षा थियो । तर, यसका लागि आवश्यक संरचना ज्ञान भने थिएन । २००८ सालमा काठमाडौं नगरपालिका ऐन जारी भएपछि संरचनागत व्यवस्था तयार भयो । यही ऐनका आधारमा १० भदौ, २०१० मा नगरपालिकाको चुनाव सम्पन्न भयो ।

त्यसबेला सभापति र उपसभापतिको छुट्टै उम्मेदवारी हुँदैनथ्यो । पहिले सबै वडाबाट सदस्य निर्वाचित हुन्थे । तीमध्येबाट निर्वाचन भएर सभापति र उपसभापति चुनिने कानुन थियो ।

त्यसैबमोजिम जनकमानले वडा २ बाट उम्मेदवारी दिएका थिए । उनका प्रतिस्पर्धीका रूपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाईस्कुलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर, तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।

दामोदर शर्माले उम्मेदवारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेदवारी पर्‍यो । त्यस निर्वाचनमा वडा २ (हालको वडा १२ र २१) मा ४ वटा मतदान केन्द्र थिए भने हरेक केन्द्रमा ३/३ वटा मतपेटिका थिए । हरेक उम्मेदवारका लागि एक पतपेटिका (आफूले जुन उम्मेदवार चुन्नुपर्ने हो उसैको पेटिकामा मत दिनुपर्ने) थिए ।

सभापतिको निर्वाचन

नगरपालिकाका १८ वडामा १८ सदस्य निर्वाचित भएपछि तीमध्येबाट सभापति र उपसभापति छान्नुपर्ने थियो । त्यो काम सजिलो थिएन । किनभने निर्वाचित सदस्यहरुमध्ये कुनै पनि दलको बहुमत थिएन ।

समीकरण गरेर नेतृत्व छान्नु पर्ने थियो । १८ जनामध्ये ६ जना कम्युनिष्टबाट, ५ जना प्रजा परिषद्बाट, ३ जना कांग्रेसबाट ३ जना स्वतन्त्र र १ जना गोर्खा दलका सदस्य थिए । गोर्खा दल थापाथली क्षेत्र (वडा नं. १) बाट निर्वाचित थियो । त्यस क्षेत्रमा राणा परिवारको बसोवास थियो ।

पहिलो धेरै सदस्य भएको कम्युनिष्ट र दोश्रो धेरै सदस्य भएको प्रजा परिषद्को सभापति पदका लागि दावी थियो । यी दुवै पक्ष आफ्ना लागि बहुमत पुर्‍याउने कोसिसमा थिए ।

कांग्रेस पार्टीले कम्युनिष्टलाई सिद्धान्तले पनि सपोर्ट गर्दैन भनेर प्रजा परिषद ढुक्क थियो । यता दलहरू आफ्नो बहुमत जुटाउन लाग्यो, उता मजिष्ट्रेट (प्रमुख जिल्ला अधिकारी) सभापतिको निर्वाचनको तयारीमा लागे ।

प्रक्रिया सुरू भएपछि प्रजा परिषद्कातर्फबाट पुष्करनाथ उप्रेती र कम्युनिष्टका तर्फबाट जनकमानले उम्मेदवारी दर्ता गराए । यसबेलासम्ममा प्रजा परिषद्ले निर्वाचित सबै सदस्यलाई बोलाएर आफ्ना पक्षमा समर्थन गर्न चिया खुवाइसकेको थियो ।

त्यो बेला अहिलेको जस्तो थिएन । निर्वाचित भइसकेपछि आफूबीचमा चिनजान पनि त्यही चियापानका समयमा भएको थियो ।

एक दिन स्वतन्त्रबाट निर्वाचित घननाथ उपाध्यायले जनकमानलाई भेटेर स्वतन्त्रले समर्थन गर्ने बताए । यसपछि उनैले कांग्रेस मनाउन सल्लाह पनि दिएन । यसै बमोजिम जनकमान वडा ३ बाट निर्वाचित प्रयागराज सिंह सुवाललाई उपसभापति बनाउने शर्तमा कांग्रेस मनाउने रणनीतिमा लागे ।

त्यो काम सजिलो थिएन । कांग्रेसका अध्यक्ष विश्वेश्वरप्रसाद कोइरालाले कुनै पनि हालतमा कम्युनिस्टलाई समर्थन गर्दैनथे, त्यसैले गणेशमानलाई फकाएर अघि बढ्ने दाउमा लागे ।

कुराकानी र छलफल सुरू भयो । जनकमानको प्रस्तावमा गणेशमानले पहिले त विश्वास गरेनन् । उनले ‘कम्युनिष्टले धोका दिन्छन् । भर गर्नु हुँदैन’ भन्ने जवाफ दिएका थिए ।

पछि सभापतिमा जनकमानलाई दिएका भोट उपसभापति पनि दिने, लिखित सहमति भएपछि ३ सिटमा सीमित कांग्रेसले उपसभापति पाउने निश्चित भयो । यसै सहमतिबमोजिम कांग्रेस र स्वतन्त्रको भोट पाएर जनकमान सभापति बने । त्यसबेला उनलाई गोर्खा दलका सदस्यको पनि मत आएको थियो ।

यो समीकरणको बनावट र निरन्तरताको शर्तबमोजिम सभापतिको निर्वाचन भएको १५ दिनभित्र उपसभापतिको निर्वाचन भयो । त्यस निर्वाचनबाट प्रयागराज सिंह सुवाल उपसभापतिमा निर्वाचित भए ।

source : shilapatra.com

प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६