Uncategorized हेडलाईन न्युज

पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ? हेराैं केही विकसित देशका कानुनी प्रावधान (म्युनिख घोषणापत्र)

नेपालमा संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापना भए पछि बनेको संविधानमा प्रेस स्वतन्त्रता संकुचन भएको अाराेप लागिरहेको छ। सरकारका कामहरूकाे अालाेचना गर्न पाउनु लाेकतन्त्रकाे साैन्दर्य हाे। तर सरकार मिडिया विधेयक ल्यायर प्रेसमाथि नियन्त्रण गर्न खाेजिरहेकाे देखिन्छ । यसै सन्दर्भमा संसारमा पत्रकार अाचार संहिता र कानुनको अवस्था कस्तो छ त ? यसबारे केही तथ्य यहाँ प्रस्तुत गरिएको छ।

(यो तथ्य लाेकपाटी डटकम अनलाइनबाट साभार गरिएको हाे।)

यो घोषणापत्र सन् १९७१ नवम्बर २४ र २५ मा म्युनिखमा तयार पारी अनुमोदन गरिएको थियो। पछि यसलाई पत्रकारहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफजे) लगायत युरोपका विभिन्न देशका पत्रकारहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुले स्वीकार गरे।

विस्तृत विवरण यसप्रकार छ :

प्रस्तावना :

सूचना पाउने हक, अभिव्यक्ति र आलोचना गर्ने स्वतन्त्रता मानिसका मौलिक अधिकारहरुमध्ये एक हो। घटना तथा विचारहरुबारे सूचित हुने जनताका अधिकारहरुबाट नै पत्रकारका सबै अधिकार र कर्तव्यहरुको सिर्जना हुन्छन्। पत्रकारहरुलाई जागिर दिने संस्था र व्यक्तिहरु तथा सार्वजनिक पदमा काम गर्ने व्यक्तिहरुप्रति भन्दा जनताप्रति पत्रकारहरुको दायित्व बढी हुन्छ। जनताप्रतिको उसको दायित्वले उसका अरुप्रतिका दायित्वहरु, खास गरी आफ्नो मालिक र सार्वजनिक पदाधिकारीहरुप्रतिको दायित्वलाई उछिन्छ। सूचनाको उद्देश्यभित्र नै त्यस्ता मर्यादा वा बन्देजहरु परेका हुन्छन्, जो पत्रकारहरुले आफुखुशी आफैमाथि स्वतःस्फुर्त रुपमा लागू गर्छन्। तल सूत्रबद्ध गरिएका दायित्वहरुको उद्देश्य यही हो। पत्रकारले आफ्नो व्यवसाय पालन गर्दा आत्मनिर्भरता र व्यावसायिक सम्मानको स्थितिमा मात्र यी कर्तव्यहरु पूरा गर्न सक्छन्। अधिकार सम्बन्धी तल लेखिएको घोषणाको अभिप्राय यही हो।

कर्तव्य

  • जस्तोसुकै परिमाण भोग्नु परे पनि सत्यको सम्मान गर्नुपर्छ किनकि सत्य थाहा पाउनु जनताको अधिकार हो।
    सूचना पाउने, टिप्पणी गर्ने र आलोचना गर्ने स्वतन्त्रताको रक्षा गर्नुपर्छ ।
  • आफूलाई स्रोत थाहा भएका आधारमा मात्र रिपोर्ट गर्नुपर्छ। आवश्यक वा अभिन्न सूचनाहरु दबाउनु हुँदैन। मूल पाठ र कागतपत्रहरु हेरफेर गर्नु हुँदैन।
  • समाचार, फोटो र कागजातहरु प्राप्त गर्न गैरकानूनी तरिका अपनाउनु वा जाल झेल गर्नु हुँदैन।
  • अरु व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ।
  • कुनै पनि प्रकाशित समाचार गलत पाइयो भने सुधार गर्नुपर्छ।
  • व्यवसायिक गोप्यताको पालन गर्नैपर्छ र गोप्य राख्ने विश्वास दिएर प्राप्त गरेका सूचनाको स्रोत खोल्नु हुँदैन।

यी कुराहरुलाई गम्भीर व्यावसायिक अपराध ठान्नुपर्छ :

  • अरुको विचार वा कृतिलाई आफ्नै जस्तो गरी प्रस्तुत गर्नु, भाव चोर्नु,
  • झूठा अभियोग, आरोप, अपगाल,
  • निन्दा, कलङ्क, दुर्नाम, बदख्वाई,
  • मानहानी, अपमानजनक वक्तव्य तथा प्रमाणहीन आरोप,
  • घुस वा कुनै प्रकारको लाभ लिएर कुनै समाचार प्रकाशित गर्नु वा समाचार लुकाउनु/दबाउनु।
  • पत्रकारिताको पेशालाई विज्ञापन व्यवसायी वा प्रचारकको पेशासँग मिसाउनु वा गोलमाल गर्नु हुँदैन तथा विज्ञापन गर्नेहरुको प्रत्यक्ष वा परोक्ष आदेशलाई इन्कार गर्नुपर्छ।
  • हरेक दबावको प्रतिकार गर्नुपर्छ र सम्पादन कार्यमा संलग्न जिम्मेवार व्यक्तिले दिएको सम्पादन सम्बन्धी आदेशमात्र पालन गर्नुपर्छ।

आफ्नो पेशामाथि गर्व गर्ने प्रत्येक पत्रकारले माथि उल्लिखित नियमहरु इमान्दारीपूर्वक पालन गर्नु आफ्नो कर्तव्य ठान्छ। सम्बन्धित देशको प्रचलित कानूनअन्तर्गत, पत्रकारले व्यावसायिक विषयहरुमा आफ्ना सहधर्मीहरुको मात्र न्यायिक क्षेत्रलाई स्वीकार गर्छ। उसले सरकार वा अरुको हरेक प्रकारको हस्तक्षेपलाई निषेध वा बहिष्कार गर्छ।

अधिकार :

पत्रकारहरुले सूचनाका सबै स्रोतहरु समक्ष पहुुँच पाउनुपर्नेे दाबी गर्छन् तथा सार्वजनिक जीवनलाई प्रभावित पार्ने सम्पूर्ण घटनाहरुबारे स्वतन्त्रतापूर्वक छानबीन गर्नु आफ्नो अधिकार ठान्छन्। यस कारण विशेष वा अपवादका घटनाहरु तथा स्पष्ट रुपमा इंगित वा उल्लेख गरिएको अवस्थामा मात्रै सार्वजनिक वा व्यक्तिगत गोप्यताको कुराले पत्रकारहरुलाई बाधा पार्नसक्छ।

पत्रकारहरुलाई उसले काम गर्ने सञ्चार संस्थाको प्रचलित नीतिसँग नमिल्ने, सेवाका शर्तहरु विपरीत तथा उक्त प्रचलित नीतिमा स्पष्ट रुपमा समावेश नगरिएका काम कुरा गर्न र त्यस्ता कामलाई सघाउन इन्कार गर्ने अधिकार छ। पत्रकारलाई उसको विश्वास वा विवेक विपरीत कुनै व्यावसायिक काम गर्न वा विचार व्यक्त गर्न वाध्य पार्न सकिने छैन।

सम्पादन कार्यमा संलग्न कर्मचारीहरु (एडिटोरियल स्टाफ) लाई उनीहरुको व्यवसाय/जागिरलाई प्रभाव पर्ने सम्पूर्ण महत्वपूर्ण निर्णयहरुको जानकारी अनिवार्य रुपले दिइनुपर्छ। पत्रकारहरुको नियुक्ति, निष्काशन, आन्तरिक परिवर्तन र पदोन्नति जस्ता एडिटोरियल स्टाफको गठन वा बनौटसँग सम्बन्धित सबै प्रकारका महत्वपूर्ण निर्णयहरु लिनुअघि उनीहरुसँग परामर्श लिइनुपर्छ।

पत्रकारको काम र जिम्मेदारीको महत्वलाई ध्यानमा राखेर पत्रकारले सामूहिक सम्झौताको परिमाणस्वरुप प्राप्त हुने लाभहरु मात्रै होइन, नोकरीको व्यक्तिगत करारमा निश्चय गरिएको उसको कामको भौतिक तथा नैतिक सुरक्षा साथै उसको सामाजिक स्थिति सुहाउँदो र उसको आर्थिक स्वतन्त्रतालाई प्रत्याभूति गर्ने स्तरको तलब पाउनु उसको हक हो।

अमेरिकी परिपाटी

(अमेरिकी समाचारपत्र सम्पादक समाज (ASNE) द्वारा पारित दस्तावेज—१९७५। सन् १९२३ मा पहिलो पटक जारी गरिएको संहितालाई सन् १९७५ मा संशोधन गरिएको ।)

प्रस्तावना :

अमेरिकी संविधानको पहिलो संशोधनले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि कानूनद्वारा नघटाइने संरक्षण प्रदान गर्दै, पे्रसमार्फत् उनीहरुको संवैधानिक हक प्रदान गरेको छ र यसरी समाचारपत्र व्यवसायीहरुमाथि खास जिम्मेवारी सुम्पेको छ।

यसैले पत्रकारिताले यसका व्यवसायीहरुबाट औद्योगिक सीप र ज्ञानमात्र होइन, पत्रकारको एकमात्र दायित्वलाई सुहाउने गरी निष्ठाको उचित मापदण्ड पालन गर्न प्रयत्नशील रहन आग्रह गर्दछ। यस लक्ष्य प्राप्तिमा, अमेरिकी समाचारपत्र सम्पादक समाजले देहायका सिद्धान्तहरुको दस्तावेजलाई उच्च नैतिक एवं व्यावसायिक आचारणका मापदण्डको रुपमा प्रस्तुत गर्दछ।

धारा – १ (उत्तरदायित्व)

समाचार तथा विचारहरुको सङ्कलन र वितरणको प्रारम्भिक उद्देश्य तत्कालीन समयका प्रश्नहरुबारे जनतालाई सूचित गराएर तथा उनीहरुलाई तिनमा निर्णय लिन सक्षम बनाएर सवर््ासाधारणको हित गर्नु हो। आफ्नो व्यावसायिक भूमिकाको व्यक्तिगत स्वार्थ अथवा अवान्छनीय कामहरुमा दुरुपयोग गर्ने पुरुष तथा महिला पत्रकारहरुले जनताको विश्वास र आस्था गुमाउँछन्।

अमेरिकी प्रेस केवल सुसूचित गराउन वा बहसका लागि मञ्च÷फोरम बन्न मात्र स्वतन्त्र बनाइएको होइन। यसको उद्देश्य सरकारका सबै तहमा राज्यशक्तिको सञ्चालन लगायत समाजमा क्रियाशील शक्ति समूहहरुको स्वतन्त्र निगरानी/छानबिन गर्न समक्ष बनाउनु पनि हो।

धारा – २ (प्रेसकाे स्वतन्त्रा)

प्रेसको स्वतन्त्रा जनताको लागि हो। सावर््ाजनिक (सरकारी) होस् वा निजी, कुनै पनि क्षेत्रबाट यसमाथि आक्रमण वा हस्तक्षेप भएमा यसको रक्षा गरिनुपर्दछ। जनताका कामकाज सार्वजनिक रुपमा सञ्चालन गरिनुपर्दछ भन्ने सुनिश्चित गराउन पत्रकारहरु निरन्तर चनाखो रहनुपर्दछ। साथै उनीहरु प्रेसलाई स्वार्थी प्रयोजनका लागि शोषण गर्न खोज्ने सबैसँग सावधान रहनुपर्दछ।

धारा – ३ (आत्मनिर्भरता)

पत्रकारहरुले अशोभनीय काम गर्नु हुँदैन। यसै गरी अशोभनीय देखिने तथा कुनै लाभबारे विवाद वा विवाद देखिने कुरालाई पनि पन्छाउनु पर्दछ। पत्रकारले आफ्नो पेशागत निष्ठासित सौदाबाजी गर्ने वा त्यस्तो गरेको देखिने कुनै पनि कार्य तथा कुनै पनि कुरा स्वीकार गर्नु हुँदैन।

धारा – ४ (सत्य र तथ्य)

पाठकहरुसित असल विश्वासको सम्बन्ध असल पत्रकारिताको जग हो। समाचारमो बिषयवस्तु तथ्यपूर्ण, पक्षपातरहित छ र चर्चित विषयका सबै पक्षलाई उचित ढङ्गले प्रस्तुत गरिएको छ भन्ने सुनिश्चित गराउन हरेक प्रयास गरिनु पर्दछ। सम्पादकीय, विश्लेषणात्मक लेख एवं टिप्पणीहरु प्रस्तुत गर्दा समाचार विवरणमा दिएजस्तै उही तथ्यका मापदण्डलाई अनुशरण गरिएको हुनु पर्दछ। तथ्यसम्बन्धी मूख्य गल्तीहरु, छुट भएका गल्तीहरुलाई प्रमुखता दिएर तत्परतासाथ सच्याइनुपर्दछ।

धारा – ५ (निष्पक्षता)

निष्पक्ष हुनुको तात्पर्य पे्रसले प्रश्न गर्न वा सम्पादकीय अभिव्यक्ति गर्न नहुने भन्ने होइन। सर्वसम्मत प्रचलनअनुसार पाठकहरुका निमित्त समाचार विवरण तथा विचारबीच स्पष्ट सीमा रेखाङ्कन गरिनु उपयुक्त हुन्छ। विचार वा व्यक्तिगत विचारको व्याख्या गरिएका लेखहरुलाई स्पष्ट रुपमा पहिचान गरिनु पर्दछ ।

धारा – ६ (उचित व्यवहार)

पत्रकारहरुले समाचारमा चर्चित मानिसका अधिकारको सम्मान गर्नुपर्दछ। यसैगरी, उनीहरुले शिष्टताका सामान्य मापदण्डहरुको पालना गर्ने तथा आफ्नो समाचार विवरणको औचित्य एवं वास्तविकताबारे जनताप्रति जवाफदेही हुनु पर्दछ। सार्वजनिक रुपमा अभियोग लागेका व्यक्तिहरुलाई प्रतिवाद गर्न सकेसम्म छिटो अवसर दिइनु पर्छ ।

साथै समाचारका स्रोतहरुको गोपनीयतालाई कायम राख्ने बाचालाई हरहालतमा सम्मान गरिनु पर्दछ र सकेसम्म त्यस्तो स्रोत खुलाउनु हँदैन। तर, गोपनीयता राख्नुपर्ने स्पष्ट एवं अत्यावश्यक कारण छैन भने समाचारको स्रोतलाई खुलाउनु पर्दछ।

व्यावसायिक पत्रकारहरुको समाज (Sigma Delta Chi) आचारसंहिता

व्यावसायिक पत्रकारहरुको समाज (सोसाइटी) अफ प्रोफेसनल जर्नालिष्टस्), सिग्मा डेल्टा ची पत्रकारहरुको कर्तव्य सत्यको सेवा गर्नु हो भन्नेमा विश्वास गर्दछ ।

हामी आमसञ्चारका निकायहरु सार्वजनिक बहस र सूचनाका सम्वाहक हुन् भन्नेमा विश्वास गदछौँ, जसले संविधानका प्रावधानअन्तर्गत रही तथ्य बुझ्ने र त्यसको जानकारी दिने स्वतन्त्रताको उपभोग गर्दछन्। हामी न्यायको अग्रदूतको रुपमा सार्वजनिक प्रवोधन र जनताको सत्य कुरा थाहा पाउने अधिकारको अंगको रुपमा सत्य फैलाउने हाम्रो सवबैधानिक भूमिकामा विश्वास गर्दछौँ।

हामी ती जिम्मेवारीहरु पूरा गर्दा पत्रकारहरुले आफ्ना ज्ञान, विषयनिष्ठता, सत्य र निष्पक्षताका आधारमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा विश्वास गर्दछौँ। यी उद्देश्यका लागि हामी निर्धारित मापदण्ड स्वीकार गर्ने घोषणा यसरी गर्दछौँ।

जिम्मेवारी :

सार्वजनिक महत्व र हितका घटनाहरुबारे सुसूचित हुने जनताको अधिकार आमसञ्चार माध्यमको प्रमुख लक्ष्य हो। समाचार तथा प्रबुद्ध विचार प्रचार–प्रसार गर्नुको उद्देश्य सार्वजनिक भलाइका निम्ति हो। पत्रकारहरुले जनताको प्रतिनिधिको हैसियतले निजी स्वार्थ र निरर्थक उद्देश्यका लागि आफ्ना व्यावसायिक प्रतिष्ठाको गर्नु हुँदैन। यसो गर्दा पत्रकारको उच्च विश्वसनीयताको उल्लंघन हुन्छ।

प्रेस स्वतन्त्रता :

प्रेस स्वतन्त्रतालाई स्वतन्त्र समाजमा जनताको अभिन्न अधिकारका रुपमा रक्षा गरिनुपर्दछ। सरकार तथा सार्बजनिक र निजी संस्थाहरुबारे छलफल गर्ने, त्यसका गतिविधि सम्बन्धमा प्रश्न गर्ने तथा तिनका कार्य र अभिव्यक्तिहरुका सम्बन्धमा चुनौति दिने प्रेसको स्वतन्त्रता र उतरदायित्व यसअन्तर्गत पर्छ। अप्रिय विचार व्यक्त गर्ने अधिकारका साथै बहुमतको विचारसँग असहमत हुने विशेष सुविधा पत्रकारहरुले उपयोग गर्छन्।

आचारसंहिता :

सत्य कुरा थाहा पाउने जनताको अधिकारबाहेक अन्य कुनै स्वार्थ र बन्धनबाट पत्रकारहरु मुक्त हुनुपर्दछ। उपहार, अनुग्रह, निःशुल्क यात्रा, विशेष व्यवहार वा सुविधाहरुले पत्रकारहरु र तिनका रोजगारदाताको इमान्दारीलाई जोखिममा पार्न सक्छ। मूल्यवान् कुनै उपहार स्वीकार गर्नु हुँदैन।

पत्रकारले कसैले दिएको अप्रत्यक्ष काम, जागिर वा रोजगारी, राजनीतिक संलग्नता, सामुदायिक संगठनहरु, सरकारी कार्यालयमा कुनै पद लिँदा पत्रकार वा पत्रकारलाई काममा लगाउने संस्थाको इमान्दारीमा प्रश्न उठने स्थिति भएमो त्यस्तो पद लिने वा त्यसबाट लाभ लिने काम गर्नु हुँदैन। पत्रकारहरु र तिनका रोजगारदाताका आफना निजी जीवनका आचरण र व्यवहार यस्तो हुनुपर्छ, जसले उनीहरुलाई वास्तविक वा सम्भावित स्वार्थको द्वन्द्व वा विवादबाट सुरक्षित राखोस्। उनीहरुको सर्वोपरि जवाफदेही जनताप्रति हुन्छ र या नै पत्रकारको व्यवसायको गुण हो।

निजी सूत्रबाट प्राप्त हुने तथाकथित समाचारको पर्याप्त प्रमाण र समाचारीय मूल्य छैन भने त्यस्तो समाचार प्रकाशन वा प्रसारण गर्नु हुँदैन। गोप्य स्रोतको संरक्षण गर्ने समाचारदाताको आचार–संहिता पत्रकारहरुले स्वीकार गर्नुपर्छ।

पत्रकारहरुले विभिन्न बाधा अवरोध हुँदाहुँदै पनि सार्वजनिक हित हुने उद्देश्यका समाचार खोज्नुपर्छ। सार्वजनिक कार्य खुला रुपमै गरिएको आधिकारिक अभिलेख सार्वजनिक निरीक्षणका लागी खुला राखिएको कुरामा विश्वास दिलाउन पत्रकारहरुले निरन्तर प्रयास गर्नुपर्छ।

यथार्थ र विषयनिष्ठताः

  • सत्य हाम्रो अन्तिम लक्ष्य हो।
  • समाचार संकलन गर्दा विषयनिष्ठता अर्को उद्देश्य हो र त्यसैले कुशल व्यवसायीहरुको दक्षता स्पष्ट गर्छ। यो हाम्रो कार्यको त्यस्तो मापदण्ड हो, जसका लागि हामी क्रियाशील छौँ। यो लक्ष्य प्राप्त गर्नेहरुको हामी कदर गर्दछौँ।
  • अयथार्थ वा आवश्यक बिवरणको अभाव क्षम्य हुन सक्दैन।
  • समाचारपत्रका शीर्षकहरु त्यसमा प्रकाशित सामग्रीहरुका विषयवस्तुसँग पूर्ण रुपमा सम्बन्धित हुनुपर्दछ। फोटोग्राफ र टेलिकाष्टहरुले कुनै पनि घटनाको यथार्थ चित्र प्रस्तुत गर्नुपर्दछ र असान्दर्भिक एवं सामान्य घटनालाई बढाइचढाई प्रस्तुत गर्नु हुँदैन।
  • स्वच्छ समाचार प्रस्तुतिले समाचार विवरण र विचार अभिव्यक्ति बीचको भिन्नतालाई प्रष्ट पार्छ। समाचार कुनै विचार वा पूर्वाग्रहबाट मुक्त हुनुपर्दछ र त्यसमा घटनासँग सम्बन्धित सबै पक्षको भनाइ वा विचारको प्रतिनिधित्व हुनु जरुरी हुन्छ।
  • सत्यबाट जानाजानी पन्छिएर सम्पादकीय टिप्पणीमा व्यक्त गरिने पक्षपातपूर्ण दृष्टिकोणले अमेरिकी पत्रकारिताको उद्देश्य उल्लंघन गरिएको ठहर्छ।
  • पत्रकारहरुले सार्वजनिक घटना र प्रश्नहरुमा जानकरी, विश्लेषण, टिप्पणी र सम्पादकीय विचार उपलब्ध गराउने आफ्नो उत्तरदायित्व बुझ्छन्। उनीहरुले व्यक्तिगत रुपमा उपलब्ध गराइएका सामग्री, जसमा उनीहरुको क्षमता, अनुभव र मूल्याङ्कन प्रस्तुत गरिएका हुन्छन्, उचित लागेमा त्यसलाई प्रस्तुत गर्ने दायित्व स्वीकार गर्दछन्।

विशेष लेखहरु वा कुनै पक्षको वकालत गर्ने गरी कुनै विषय प्रस्तुत गरिएको हो वा लेखकको आफ्नै निष्कर्ष वा व्याख्या हो भने त्यो कुरा स्पष्ट गरिदिनुपर्छ।

स्वच्छताः

पत्रकारहरुले समाचार संकलन र प्रस्तुत गर्ने क्रममा हमेशा सम्बद्ध व्यक्तिहरुको प्रतिष्ठा, गोपनीयता, अधिकार र हितप्रति सम्मान प्रदर्शित गर्नुपर्छ।

  • समाचार माध्यमले अभियुक्तलाई जवाफ दिने अवसर उपलब्ध नगराई उसको प्रतिष्ठा वा नैतिक चरित्रमा प्रतिकूल असर पर्ने खालका अनौपचारिक आरोप प्रकाशित प्रसारित गर्नु हुँदैन।
  • समाचार माध्यमले कुनै पनि व्यक्तिको गोपनीयताको अधिकार हनन गर्नु हुँदैन। उसको यो अधिकार सुरक्षित गर्नु सञ्चार माध्यमको कर्तव्य हो।
  • सञ्चार माध्यमले दुराचार र अपराधका विस्तृत विवरण दिने निहुँमा अश्लील, विकृतिका कुरामा लाग्नु हुँदैन।
  • आफ्ना गल्तीहरुको तत्काल र इमान्दारीसाथ भूलसुधार गर्नु समाचारपत्रको कर्तव्य हो।
  • पत्रकारहरु आफ्ना समाचारका लागि जनताप्रति उत्तरदायी हुनुपर्दछ, जनतालाई सञ्चार माध्यमप्रति उनीहरुका गुनासो पोख्न प्रोत्साहित गरिनुपर्दछ। पाठक, दर्शकहरु तथा श्रोताहरुसँग खुला वार्तालापलाई अगाडि बढाउनुपर्दछ।

प्रण :

पत्रकारहरुद्वारा यी मापदण्ड उल्लंघन हुन नदिन निरन्तर प्रयत्नशील रहनुपर्दछ र यस कार्यमा सुपरिवेक्षण गर्न सबै पत्रकारहरुलाई प्रोत्साहित गरिनुपर्दछ। अमेरिकी पत्रकारहरु तथा अमेरिकी जनताबीच पारस्परिक विश्वास र सम्मानको सम्बन्धलाई सुरक्षा प्रदान गर्न यो आचारसंहिताको पालना वान्छनीय छ।

फ्रान्समा प्रेसको आचार र व्यवहार : (फ्रान्सको क्षेत्रीय दैनिक अखबारमा लागू गरिएका नियम तथा अभ्यासहरुबाट उद्धृत ।

विचार र आस्थाको निर्बाध आदानप्रदान गर्नु सर्वाधिक वाञ्छित मानव अधिकारहरुमध्ये एक हो। यसको अर्थ यस स्वतन्त्रताको दुरुपयोग भइरहेको छ भनी कानूनले भनेको अवस्थालाई छोडेर, हरेक व्यक्तिले निजले चाहेको कुरा भन्न र कुनै पनि कुरा लेख्न वा प्रकाशित गर्नसक्छ (मानिस र नागरिकका अधिकारहरुको अगस्ट २६, १७८९ को घोषणाको धारा ११।)

हरेक व्यक्तिलाई आफूलाई स्वतन्त्रतापूर्वक अभिव्यक्ति गर्ने अधिकार हुनेछ। यसअन्तर्गत कुनै अधिकारीको हस्तक्षेप र राष्ट्रिय साँधसीमाको छेकबारबिना समाचार वा विचार प्राप्त गर्ने वा प्रेषित गर्ने अधिकारसमेत समाहित छ (मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरुको संरक्षणसम्बन्धी युरोपेली अभिसन्धिको धारा १०।)

व्यावसायिक नियम र अभ्यासहरु

समाचारपत्रको आफ्ना पाठकहरुसँग गहिरो सम्बन्ध हुन्छ र पाठकप्रतिको आफ्ना उत्तरदायित्वहरुबारे सचेत रहन्छ। घटनाहरुका सम्बन्धमा समाचार दिँदा तथ्य र टिप्पणी छुट्टिने गरी प्रस्तुत गर्न अखबारहरुले विशेष ध्यान पुर्याउँछन्।

विवरणबारे गम्भीरता र ध्यान – केवल प्रमाणित र सत्यतथ्य विवरणहरु प्रकाशित गर्नुपर्छ। कुनै पनि समाचारपत्रको विश्वसनीयता त्यसको प्रमाणित र सही समाचार छाप्ने क्षमतामा भर पर्छ। सत्यतथ्य जाँचेर मात्र समाचार प्रकाशन गर्नु समाचारपत्रको गम्भीरता, सूक्ष्मदृष्टि र विश्वसनीयताको चिन्ह हो। अफवाहलाई प्रोत्साहित गर्नु हुँदैन। सञ्चारका अन्य माध्यमले प्रसारित गरिसकेको भए पनि समाचारपत्रले अफवाहको प्रसारलाई हतोत्साहित गर्नका लागि आफूले गर्नसक्ने हरेक उपाय गर्नुपर्छ।

व्यक्तिप्रति सम्मान – समाचारपत्रले भेदभाव, जातिवाद वा हिंसा भड्काउने कार्य नगरी सुसूचित गर्नुपर्छ। कुनै पनि मानिस कहाँ कसरी कुन जात, कुन धर्ममा जन्म्यो; उसको समुदाय, राष्ट्र, जातजाति वा धर्म के हो भन्ने आधारमा गरिने भेदभाव, घृणा वा हिंसाको उक्साहटलाई निषेध गर्ने कानूनलाई कठोरताका साथ पालन गर्नुपर्छ। यस्ता भेदभावले पाठकको मनमा शंका, विरोध वा घृणा जगाउँछ। कुनै मानिस कुनै जाति वा राष्ट्रको सदस्य भएको वा नभएको कारणले ऊप्रति घृणा जगाउनु हुँदैन। यस्तो घृणाले सम्बन्धित व्यक्तिप्रति शत्रुता उत्पन्न गराउँछ र निजलाई हानि पुर्याउने इच्छा जगाउँछ। हिंसाअन्तर्गत मनोवैज्ञानिक र शारीरिक दुवै प्रकारको हिंसा पर्छ। अखबारहरुले यस्ता प्रस्ट देखिने उक्साहटहरुपूर्ण काम गर्नु हुँदैन। यस्ता भावनाहरु जगाउने सबै खालका सामग्रीबाट समाचारपत्रहरु पन्छिनुपर्छ।

निन्दाबाट अलग्गै रहनु – समाचारपत्रले व्यक्तिको सम्मान र प्रतिष्ठाको सम्मान गरिने कुरालाई सुनिश्चित गर्छ।

उद्देश्यको वैधता – समाचारपत्रले जनताको सुसूचित हुने हकका आधारमा सामान्य पाठकलाई मनमा राखी सदैव तथ्यहरु प्रस्तुत गर्नुपर्ने कुरालाई सुनिश्चित गर्छ। घटनामा संलग्न रहेका मानिसहरुभन्दा घटनालाई नै प्राथमिकता दिनुपर्छ।

व्यक्तिगत शत्रुताको अभाव – समाचारपत्रहरुले मानिससँगका व्यक्तिगत मदभेदहरुबाट प्रेरित विवादास्पद लेख/रचनालाई जानी–जानी प्रकाशन गर्नबाट जोगिनुपर्छ।

भाषामा संयम – समाचारपत्रले रचनाहरुमा अन्य मानिसहरुलाई स्तब्ध तुल्याउने वा चोट पुर्याउने भाषा प्रयोग गरिनु हुँदैन भन्ने कुरा पनि सुनिश्चित गर्नुपर्छ।

अनुसन्धानको विश्वसनीयता – समाचारको खोजी गर्दा सो घटनाका सम्पूर्ण पक्षहरुलाई सुन्नुपर्छ भन्ने सिद्धान्तमा आधारित हुन्छ र यो सिद्धान्तको पूर्ण पालन नै इमान्दारीपूर्वक गरिने कुनै पनि अनुसन्धानको मुटु हो।

सबै खालका विचारप्रति खुला – समाचार तयार गर्दा समाचार र घटनासँग सम्बन्धित मुख्य पक्षहरुसँग सम्पर्क गरेर उनीहरुको विचार बुझिन्छ। निष्पक्ष रुपमा उनीहरुको विचार जान्न र समाचार प्रस्तुत गर्न यसो गर्नु आवश्यक हुन्छ। तर, कुनै पक्षले सहयोग गर्न मानेन वा आफ्नो विचार व्यक्त गर्न इन्कार गर्छ भने समाचारपत्रले सो कुरा पाठकलाई जानकारी गराउनुपर्छ।

अनुमानित निर्दोषिताकाको सम्मान – फ्रान्सेली संविधानअन्तर्गत अदालतबाट दोषी प्रमाणित नभएसम्म हरेक व्यक्तिलाई निर्दोष मान्नुपर्छ। यदि त्यस्तो व्यक्तिबारे सूचना प्रकाशित गर्नु जनसाधारणको हितमा रहेछ भने उसको अनुमानित निर्दोषितालाई सम्मान गर्नुपर्छ। यसैले त्यस्ता व्यक्तिको समाचार दिँदा पाठकसमक्ष कस्ता विवरणहरु पुर्याउने र तिनीहरुलाई कसरी प्रस्तुत गर्ने भन्ने तरिकाबारे विशेष ध्यान पुर्याउनु पर्छ।

समाचारको यथार्थता र यसको प्रस्तुतिमा सतर्कता एवं निष्पक्षता सुनिश्चित गर्नु। माथि वर्णन गरिएका यथार्थता, सतर्कता, निष्पक्षता र विवरणप्रति सावधानीका सिद्धान्तहरु, विशेष गरेर मानवीय चासोका समाचारहरुको हकमा लागू हुन्छन्।

सम्पादकहरुको उत्तरी अमेरिकी समाजको पेशागत आचारसंहिता

स्वतन्त्रता – जानीजानी असत्य टीकाटिप्पणीहरुको क्रमिक पूर्वाग्रह प्रस्तुत गर्नु अमेरिकी पत्रकारिताको अपमान हो। समसामयिक घटना प्रस्तुत गर्दा यस्तो काम गर्नु समाचारका आधारभूत सिद्धान्तमाथि ध्वंसात्मक आक्रमण हो।

स्वच्छता – कुनै पनि व्यक्तिलाई आफ्नो प्रतिरक्षागर्ने अवसर प्रदान नगरीकन उसको प्रतिष्ठा वा सम्मानमाथि आक्रमण गर्ने काम समाचारपत्रले गर्नु हुँदैन। न्यायको सामान्य प्रक्रियाभन्दा बाहिर गएर कुनै गम्भीर आरोप लगाउँदा मानिसहरुलाई आफ्नो पक्ष राख्ने वा प्रतिरक्षा गर्ने अवसर दिनुपर्छ। कुनै काम जनसाधारणको हितमा छ भन्ने निश्चित नभइकन पाठकको जिज्ञासा शान्त पार्ने उद्देश्यले मात्र समाचारपत्रलाई व्यक्तिगत मामिलामा प्रवेश गर्ने वा कुनै व्यक्तिका व्यक्तिगत भावनाहरुमा हस्तक्षेप गर्ने अधिकार प्राप्त हुँदैन।

शिष्टाचार – उच्च नैतिक उद्देश्यहरुप्रति प्रतिबद्धता व्यक्त गरेर पनि यदि समाचारपत्रले अति उत्तेजक, पाठकहरुलाई अपराध वा अनैतिक क्रियाकलापतिर लाग्न उक्साउने र जनहित हुने सम्भावना नभएका समाचार प्रकाशित गर्छ भने सो समाचारपत्रमाथि निश्चित रुपमा पाखण्डको आरोप लाग्छ। यो आचारसंहितामा उल्लिखित कुराहरुको पालन गर्ने गराउने आवश्यक क्षमता र आधिकारिकता कुनै अखबारसँग छैन भने यस्तो चुत्थो प्रवृत्तिलाई कि त बहुसंख्यक पाठकले अस्वीकार गर्ने छन् कि यस्ता कुरालाई निन्दा गर्ने पत्रकारहरुबाट दवाव सिर्जना हुनेछ भन्ने आशा यो संहितामा प्रतिनिधित्व गर्ने पत्रकारहरुले गर्दछन्।

बेलायतका पत्रकारहरुको आचार र व्यवहार :(बेलायतको राष्ट्रिय पत्रकार संगठनको आचारसंहिता र कार्य व्यवहारहरुबाट उद्धृत)

कार्य व्यवहारहरुको धारा ५ – कुनै पनि सदस्यले कुनै पनि उद्देश्यले अर्को पत्रकारको रचना/कृति चोर्ने वा उसको अनुमतिबिना उपयोग गरेर उसको शोषण गर्नेछैन।

कार्य व्यवहारहरुको धारा १२ – एउटा सदस्यले अरु पत्रकारहरुलाई आदर र विवेकपूर्ण व्यवहार गर्नेछ।

आचारसंहिताको धारा ५ – पत्रकारले सूचना, फोटो र चित्रहरु केवल सोझो र सफा तरिकाले (छलकपट नगरी, जुन कामको लागि हो, त्यही काम बताएर) प्राप्त गर्नेछ। जनहितको दृष्टिले अति अवश्यक भएको अवस्थामा मात्र अरु उपाय प्रयोग गरेको उचित ठहर्याउन सकिनेछ। यस्ता तरिकाहरुको प्रयोग गर्दा पत्रकारलाई आफ्नो व्यक्तिगत सद्विवेकका आधारमा आपत्ति जनाउने इन्कार गर्ने अधिकार हुनेछ।

आचारसंहिताको धारा ६ – जनहितको लागि नगरी नहुने भनी त्यसको औचित्य साबित हुने स्थितिलाई छाडेर अन्य कुनै अवस्थामा पत्रकारले व्यक्तिगत शोक र कष्टमा हस्तक्षेप हुने कुनै पनि काम गर्नेछैन।

जापान पत्रकारहरुको आचार र व्यवहार : (निहोन सिम्बुन क्योकी पत्रकारहरुको बडापत्रबाट उद्धृत)

  • धारा १ – यथार्थ/सही रुपमा र इमान्दारीपूर्वक तथ्यहरुको रिपोर्ट गर्नु समाचारसम्बन्धी सर्वाधिक महत्वपूर्ण नियम हो।
  • धारा २ – तथ्यहरुको रिपोर्ट गर्दा पत्रकारहरुले कहिले पनि आफ्ना व्यक्तिगत विचारहरुलाई घुसाउनु हुँदैन।
  • धारा ३ – कुनै समाचार तयार गर्दा कि त्यसलाई प्रचारबाजीको काममा प्रयोग गर्न सकिन्छ भन्ने कुरा पत्रकारहरुले कहिले पनि बिर्सनु हँुदैन र यसबारे उनीहरु विशेष रुपमा सतर्क हुनुपर्छ।
  • धारा ४ – आलोचना गर्दा पत्रकारहरुले उनीहरुले व्यक्तिको हैसियतले गर्न चाहने टिप्पणीहरुभित्र आफूलाई सीमित गर्नुपर्छ।
  • धारा ५ – जानीजानी गरिने पूर्वाग्रहपूर्ण टिप्पणीले पत्रकारको पेशाको भावना र मर्यादालाई हानी पुर्याउँछ।
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६