हेडलाईन न्युज

जिम्मेवारी हेरफेरको पाँचौं दिन मन्त्रालय पुगे उपेन्द्र

समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यसमिति अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य मन्त्रालयबाट कानूनमा सारिएका यादव जिम्मेवारी हेरफेर भएको पाचौं दिनमा कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिपरिषद् हेरफेरमा समाजवादी पार्टीका एक राज्यमन्त्री हटाउँदै उपेन्द्रको मन्त्रालय हेरफेर गरेका थिए । यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिएर उपेन्द्रलाई भानुभक्तले सम्हाल्दै गरेको कानून मन्त्रालयको जिम्मा दिइएको छ ।
सल्लाह नगरी मन्त्रालय फेरबदल गरेको तथा राज्यमन्त्री हटाएको भन्दै समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियो । कार्यभार सम्हाल्दै यादवले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको विशेषधिकार भएको बताए ।
उनले आफूलाई प्रधानमन्त्रीले अनुभवी बनाउन खोजेको भन्दै व्यंग्यात्मक प्रतिक्रिया पनि दिए ।
प्रकाशित मिति: सोमवार, मंसिर ९, २०७६