खेल प्रदेश १

‘प्रदेशको प्राथमिकतामा खेलकूद’

धरान, ३१ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले रु ४७ करोड बजेट खेल क्षेत्रका लागि छुट्याएको जानकारी दिनुभयो । आज यहाँ ‘मुख्यमन्त्री कप’ समापन समारोहमा उहाँले प्रदेश १ का खेलाडीलाई व्यवसायी बनाउन ‘मुख्यमन्त्री कप प्रतियोगिता’ शुरु गरिएको बताउनुभयो । मुख्यमन्त्री राईले धरानलाई खेलकूद गतिविधिमार्फत खेलकूदग्राम बनाइने बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले रु एक करोड बजेट मुख्यमन्त्री कपका लागि छुट्याएर प्रदेशले ऐतिहासिक काम गरेको बताउनुभयो । धरान रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा सैनिक युवा क्लब झापा, बेलबारी युवा क्लब मोरङलाई २–१ गोलले हराउँदै प्रदेश च्याम्पियन बनेको छ । विजेताले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । मोरङका भुषण सुब्बा प्रतियोगिताका उत्कृष्ट खेलाडी भए । उनले रु एक लाख पुरस्कार पाए ।

प्रकाशित मिति: मङ्लबार, असार ३१, २०७६