खेल मुख्य समाचार समाचार हेडलाईन न्युज

ओडीआई क्रिकेटमा सन्दीपको विश्व रेकर्ड, सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी

सुनकोसी न्यूज

जेष्ठ ४ गते, सोमबार

काठमाडौं । नेपाली लेगस्पीनर सन्दिप लामिछाने ले ओडीआई क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले अष्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कको कीर्तिमान तोड्दै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन्।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट पूरा गरेका हुन्। यसअघि स्टार्कले ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए।

सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ७३ ओडीआई खेलमा १५१ विकेट लिइसकेका छन्। उनले ब्याटिङतर्फ पनि ५०० रन पूरा गरेका छन्।यसअघि पनि सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका थिए। उनले ४२ खेलमै १०० विकेट पूरा गरेका थिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत सन्दीपको प्रदर्शन प्रभावशाली रहेको छ। उनले ७४ टी–२० आई खेलमा १३६ विकेट लिइसकेका छन्।नेपाली क्रिकेटका प्रमुख स्टारका रूपमा स्थापित सन्दीपको यो उपलब्धिले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको छ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ४, २०८३

 

 

ताजा अपडेट