स्थानीय हेडलाईन न्युज

बाग्मती स्वीटबाट १० केजी चमचम र गुलाबबाट २६ केजि बेसन नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यबस्तु दुषित र कम गुणस्तरका पाइएका छन् । शुक्रबार महानगरको कृषि तथा पशु सेवा बिभागको अगुवाईमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र पत्रकारहरुको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा मिठाइ पसलमा लेवल नराखिएका बस्तु बेच्न राखिएको, मिठाइ बनाउने सामानको गुणस्तर र सफाइमा ध्यान नदिएको जस्ता समस्या पाइएको हो ।

अनुगमन टोली सुन्धारास्थित गुलाव मिठाइमा पुग्दा तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट््याउने काम भइरहेको थियो । यसरी बक्स बनाउन खटिएका कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेका थिए । उनीहरुका अगाडि बक्स र कागजको थुप्रो थियो । उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, सरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् । गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो । तेश्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटिए । अर्कोतलामा पुग्दा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको बेसन भेटियो । यसलाई जोखेर हेर्दा २६ किलोग्राम थियो । अनुगमन टोलीले यसरी भेटिएका अखाद्य बेसनलाई फोहोरमा मिसाएर नष्ट गरिदियो । टोलीले सामान नष्ट गरिरहँदा सालिमार हस्पिटालिटी एण्ड फुड प्रडक्ट प्रा. लि. का व्यवस्थापनक भरत रावल, बिग्रिएका सामान आफूले प्रयोग नगरेको दावी गरिरहेका थिए । गुलाब मिठाइ यसै फुड प्रडक्टको एउटा उत्पादन हो । गुलावले बिक्रीका लागि तयार पारेका अन्य मिठाइमा उत्पादन भएको तथा म्याद सकिएको मिति र मुल्य राखेको ट््याग थिएन । टोलीले यी बिवरणसहितको ट््याग राखेर मात्र बिक्री गर्न र उत्पादन गर्दा सरसफाइमा ध्यान दिन सचेत गरायो ।

त्यसपछि टोली त्रिपुरेश्वरस्थित बाग्मती स्वीटमा पुगेको थियो । शुरु टोलीले सरसफाइ नहुनु र मिठाइमा ट््याग नहुनुको कारण सोध्यो । त्यस क्रममा सञ्चालकहरु तत्काल बिक्री हुने भएकोले मिठाइमा ट््याग राख्नु नपर्ने आफूलाई लागेको तर राख्नु पर्ने हो भने त्यसमा आफू तयार रहेको बताउँदै थिए । पसल सञ्चालन भएको ठाउँमा बिक्रीका लागि राखिएका तारेको आलुको प्याकेट र भुजियामा उत्पादित मिति नपाएपछि टोलीले १८ प्याकेट आलु जफत ग¥यो । त्यसपछि नजिकै भएको भान्सामा पुग्दा सरसफाइमा ध्यान नगएको देखिन्थ्यो । भान्सामा मिठाइ पकाउने चुलाहरु फोहोर थिए भने पकाइ सकिएका मिठाइहरु पत्रिकाले छोपेर राखिएका थिए । त्यस्तै सबै सामाजहरु एकै ठाउँमा गजमज्ज पारेर राखिएको थियो । भुइँ चिल्लो भएर हिड्न कठिन हुने अवस्थामा थियो । बिभिन्न कोठामा राखिएका मिठाइमध्ये भित्री कोठाको कुनामा राखिएको चमचम (गुलियो मिठाइ) मा साङ्ला भेटिपछि टोलीले करीब १० किलोग्राम (सञ्चालक इन्द्रप्रसाद घिमिरेका अनुसार करीब १६० वटा) मिठाइ नष्ट ग¥यो ।

जनस्वास्थ्यमा गम्भीर समस्या सृजना हुन सक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै महानगरको कृषि तथा पशु सेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दुधजन्य खाद्यबस्तु, सुख्खा प्याकिङ् गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ् फुड, तरकारी, फलफुल र फूलको बजारमा गुणस्तर र मुल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताउनुभयो । यसरी गरिएको अनुगमनका क्रममा भेटिएका गल्ती गर्नेलाई खाद्य ऐन २०२३ को दफा ५(२) र ५(३) बमोजिम दुषित खानेकुरा बिक्री गर्ने तथा कम गुणस्तरका सामान उत्पादन गर्ने कसुरमा कारवाही अघि बढाइन्छ । अनुगमनमा रहनुभएका खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका वरिष्ट खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भन्नुभयो — यसै ब्यवस्थाबमोजिम गुलाब र बाग्मती स्वीटमाथि मुद्दा चलाइन्छ । काठमाडौंमा भएका सबैखाले मिठाइ पसलमाथि निगरानी राख्नुपर्छ । अनुगमनमा रहनुभएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भन्नुभयो — व्यवसायिक इमान्दारितामा समस्या छ । व्यापारीहरुको यही मनोवृत्तिका कारण उपभोक्तााहरु मुल्य र गुणस्तरमा ठगिएका छन् ।

नेपालको संविधान, २०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाईं संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोग स्थल लगायतका ठाउँहरू वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यवसायिक कारोवारको दर्ता, नविकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनलगायतका व्यापारिक क्रियाकलाप हेरिन्छ ।

महानगरले गरिरहेको अनगुमनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेतृत्व गर्नुभएको छ भने टोलीमा वाणिज्य तथा आपूर्ति बिभाग, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता अधिकारकर्मी, पशु चिकित्सकलगायत सदस्य हुनुहुन्छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट बस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल ५ हजार रुपैयाँदेखि बढीमा ३ लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ । यसरी गरिएको जरिवाना सम्बन्धि सूचना ३ दिनभित्र बिभागमा दिए पुग्छ ।- चन्द्रमणि भट्टराई

प्रकाशित मिति: शुक्रबार, कार्तिक ८, २०७६

 

 

ताजा अपडेट